• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

कमल थापा नयाँ पार्टी खोल्ने तयारीमा जुटे


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वअध्यक्ष कमल थापा नयाँ पार्टी खोल्ने कसरतमा जुटेका छन् । वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनसँग शुक्रबारको भेटवार्ता उपलब्धिमूलक नभएपछि थापाले नयाँ पार्टी खोल्न लागेको संकेत दिएका हुन् ।आज (सोमबार) सुकेधारामा आफूपक्षिय नेताहरुलाई बोलाएर सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नुअघि

नै पार्टी अध्यक्ष लिङ्देनले ३ वटा माग पूरा गर्नुपर्ने अल्टिमेटम दिएका छन्।उनले भेलामा भने, ‘सरकारले सम्भवत आजै स्थानीय तह चुनाव मिति घोषणा गर्न सक्छ। आज अल्टिमेटम दिएर आजै सबै माग पूरा गर्ने भन्ने त होइन तर समय एकदम कम छ । मलाई नयाँ यात्रा सिर्जना गरेर दुःख बेसाउने मन छैन। तर बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरू हुन्छ। म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्, अन्तरआत्मालाई सोधेर निर्णय गर्नुस्। हामी निर्णायक घडीमा आइपुगेका छौं।’

थापाले आइतबार पनि अध्यक्ष लिङ्देनसँग आफ्नो कुराकानी भएको बताएका छन् । फोनवार्तामा माग पूरा नगरेर बेवास्ता गरे पनि आफू नयाँ यात्रा थालनी गर्न बाध्य हुने भनेको पनि उनले सुनाए ।उनले भने, ‘उहाँले मलाई हिजो पनि फोन गर्नुभएको थियो,’ उनले भने, ‘म दुस्ख बेसाउँदिनँ। तर बाध्य बनाइयो भने विकल्प सोच्छु भनेँ।’

पार्टीमा निर्मल निवासको हस्तक्षेपविरुद्ध उत्रदै आएका थापाले सोमबारको बैठकमा पनि निर्मल निवासको चर्काे आलोचना गरे । थापाले निर्मल निवासको कारण राप्रपाको वैचारिक मान्यतामा प्रश्न चिन्ह उठेको भन्दै अब सहन नसकिने बताए ।पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै आएका थापाले सोमबार पदाधिकारी, केन्द्रीय सदस्य र पूर्वकेन्द्रीय सदस्यहरुसँग छलफल गरेका हुन् ।

शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनसँग संवाद भएपनि कुनै प्रगति नभएको भन्दै उनले स्थानीय तहको निर्वाचन घोषणा गर्दा समेत आफ्ना मुद्दा संवोधन नभए विकल्प खोज्ने बताए ।उनले भने, ‘मैले उठाएका सैद्दान्तिक, सांगठनिक र वैचारिक पक्षहरु सम्बोधन भएन भने विकल्प खोज्नुपर्ने हुनसक्छ । त्यो अवस्थाका लागि तयार भएर बस्नुस् ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार