• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राप्रपाबाट अलग भएको कमल थापाको घोषणा


हेटौंडा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र
लिंदेनसँग पराजित भएका थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए । यसबारे छानबिन गरी हस्तक्षेपको भत्र्सना गर्नुपर्ने र भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित

गर्नुपर्ने पूर्वअध्यक्ष थापाको माग थियो ।सुरुमा यसबारे छलफल गर्न अस्वीकार गरेका राप्रपा अध्यक्ष लिंदेनले शनिबार भने थापालाई भेटेर संवाद गरेका थिए । थापाले उठाउँदै आएको मागबारे छलफल भइरहेको र छिट्टै निकास निस्कने समेत उनले दाबी गरेका थिए ।थापा भने स्थानीय तहको निर्वाचन घोषणा अघि नै आफ्नो माग सम्बोधन हुनुपर्ने अडानमा थिए । सोमबार मात्र आफ्नो पक्षका नेताहरुको भेला गरेर गृहनगर हेटौंडा पुगेका पूर्वअध्यक्ष थापाले मंगलबार पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।पत्रकारहरुसँग कुरा गर्दै थापाले भनेका छन्, ‘पार्टीसँग ३१ वर्ष लामो सम्बन्ध आजबाट टुट्न गएको छ, म राप्रपाबाट अलग भएको छु ।’ पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताएका छन् ।

हेर्नुहोस् थापाको विज्ञप्ति

कमल थापाको निर्णय अनपेक्षित र दुर्भाग्यपूर्ण : राजेन्द्र लिंदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाड्ने घोषणा गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । थापाले मंगलबार एक विज्ञप्ति जारी गरी आफू पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।

त्यस विषयमा अनलाइनखबरसँग कुरा गर्दै लिंदेनले भने, ‘उहाँले पठाउनुभएको पत्रको विषयमा पार्टीको शीर्ष तहमा छलफल भई उहाँसमेतको सल्लाह सुझावमा समाधानको उपाय खोज्ने अन्तिम प्रयास भइरहेका बेला यस प्रकारको निर्णय हुनु अनपेक्षित, उहाँको राजनीतिक जीवनको लागि दुर्भाग्यपूर्ण घटनाको रुपमा हामीले लिएका छौं ।’

गत मंसिरमा पार्टी महाधिवेशनमा लिंदेनसँग अध्यक्षमा पराजित भएपछि थापाले पार्टीमा पूर्व राजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्न माग गरेका थिए । उनले पूर्वराजाको हस्तक्षेपत्रको विषयमा छानबिन गर्न तीन पटक अध्यक्ष लिंदेनलाई ध्यानाकर्षण पनि गराएका थिए । लिंदेनले भने थापाकै सल्लाह अनुसार पार्टीको शीर्ष तहमा यस विषयमा छलफल गर्ने तयारी भइरहेको बताए ।

‘भर्खरै संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दसँग यस विषयमा कुराकानी गरेर आएको छु, दुई दिनपछि पदाधिकारी बैठक पनि बोलाइसकेको अवस्थामा यस प्रकारको निर्णय (कमल थापा अलग हुने घोषणा) आउनु दुर्भाग्यपूर्ण हो’ लिंदेनले अनलाइनखबरसँग भने ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार