• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

नागरिक अगुवाले दलहरुलाई भने, ‘सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न सकेनन्, निकास खोज’


काठमाडौं: नागरिक अगुवाहरुले सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउन राजनीतिक दलहरुलाई अपील गरेका छन् ।सापकोटाले सभामुख पदमा बसेर निष्पक्ष र निर्विवाद भूमिका निर्वाह नगरेको, संविधान र कानुनका व्यवस्थाभन्दा बाहिरबाट कार्यकारी अधिकारको अभ्यास गर्न खोजेको, सरकारले प्रतिनिधिसभालाई सुम्पेको विधेयक सदनमा पेश गर्नबाट दुई वर्षभन्दा बढी समयसम्म रोक्ने कार्य गैरसंवैधानिक अभ्यास गरेको र दलहरूप्रति पूर्वाग्रह राखेको भन्दै १४ जना नागरिक अगुवाले संयुक्त विज्ञप्ति जारी गर्दै यथोचित निर्णय लिई हटाउन माग गरेका हुन् ।

‘प्रमुख राजनीतिक दलहरूले अग्नि सापकोटाका गतिविधिका सन्दर्भमा यथोचित निर्णय लिई संसदीय प्रणालीका मूल्य मान्यताको रक्षा गर्न तत्काल अग्रसरता लिनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि नागरिक खबरदारी निरन्तर जारी राख्नुपर्दछ ।’विज्ञप्तिमा सापकोटा हत्यामा किटानी जाहेरी गरिएका आरोपित भएको र उनीविरुद्ध काभ्रे जिल्ला प्रहरीदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास र नियमित इजलासमासमेत हत्या आरोप तथा अनैतिक आचरणसम्बन्धी गम्भीर उजुरी र मुद्दाहरू विचाराधीन रहेको स्मरण गराउँदै पदको दुरुपयोगबाट न्यायमा अवरोध गरेकाले पदबाट हट्नुपर्ने माग गरिएको छ । ‘अग्नि सापकोटा नैतिक रूपमा स्खलित, तटस्थ व्यवहार देखाउन सर्वथा असफल एवं वर्षौंदेखि हत्याको आरोप खेपिरहेका तथा प्रहरीको फरार सूचीमा रहेका व्यक्ति हुन् । यस्तो गम्भीर चारित्रिक कमजोरी भएका व्यक्तिबाट प्रतिनिधि सभाको सभामुख जस्तो गरिमामय पद अनुकूलको आचरण प्रस्तुत हुने सम्भावना थिएन र छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘निजलाई सभामुख पदमा निर्वाचित गरेयता प्रतिनिधि सभाको कार्यसम्पादनमा गम्भीर ह्रास आएको देखिन्छ । अत: अग्नि सापकोटालाई आफ्ना व्यवहार सच्याउन, कानुनी राज कायम गर्नका लागि नेपाल प्रहरीलाई मद्दत गर्न तथा आफ्ना गलत क्रियाकलापको आधार जनतासामु प्रस्तुत गर्न चुनौती पेश गर्दछौं ।’

विज्ञप्तिमा हस्ताक्षर गरेका एक नागरिक अगुवा इन्द्रप्रसाद अर्यालले संविधान र ऐन नियमले दिएको तटस्थ भूमिका निर्वाह नगरेकाले सापकोटा पदमा बस्न लायक नरहेको तर्क गरे । ‘उहाँ राजीनामा दिएर संसद सदस्य भएर बस्न सक्नुहुन्छ । तर सभामुख भइसकेपछि कुनै दलको सदस्यजस्तो भूमिका स्वीकार्य छैन । संसदको कुनै प्रस्तावमा बराबरी भएमा उहाँको निर्णायक भूमिका हुने हो । तर पहिले नै सरकारलाई यो गर्छु यो गर्दिन भन्न पाइँदैन । उहाँ एंकरजस्तो हो । जसरी न्यायाधीशलाई एक पक्षीय कुरा सुन्न मिल्दैन त्यसैगरी सभामुख एक दलको मात्र कुरा सुन्ने हुनुहुँदैन । त्यस्तो मान्छेलाई पदमा बस्ने अधिकार छैन’ उनले भने ।

विज्ञप्तिमा अर्यालसहित पूर्णीमाया लामा, कनकमणि दीक्षित, केदार नर्सिगं के.सी., बद्री प्रसाद भूषाल, भागिराम चौधरी, महामुनिश्वर आचार्य, मैना कार्की, राजन कुइकेल, सावित्री श्रेष्ठ, सुमन अधिकारी, सूर्यबहादुर अधिकारी, सुशील प्याकुरेल र यज्ञराज थापाले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा सापकोटा हत्यामा किटानी जाहेरी गरिएका आरोपित भएको र उनीविरुद्ध काभ्रे जिल्ला प्रहरीदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास र नियमित इजलासमासमेत हत्या आरोप तथा अनैतिक आचरणसम्बन्धी गम्भीर उजुरी र मुद्दाहरू विचाराधीन रहेको स्मरण गराउँदै पदको दुरुपयोगबाट न्यायमा अवरोध गरेकाले पदबाट हट्नुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार