• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

अध्यागमनले विमानस्थलबाट तीन दिनमा २० जनालाई फर्कायो, भिजिट भिसामा मौरीपालन हेर्न जाने जिकिर


काठमाडौं : अध्यागमन विभागले भिजिट भिसामा दुबई जान लागेका तीन जनालाई सोमबार प्रस्थान अनुमति नदिई फिर्ता गरेको छ। अध्यागमनले अर्घाखाँचीका सजना केसी, संखुवासभाका महेश घिमिरे र गोरखाका यम गुरुङलाई शंकास्पद यात्रा भन्दै अनुमति नदिएको हो। अर्घाखाँचीका केसी र संखुवासभाका घिमिरेले भिजिट भिसामा दुबई जानुपर्ने औचित्य पुष्टि गर्न सकेनन्। उनीहरुले गृह मन्त्रालयलयले तोकेको मापदण्ड अनुसार कागजात बुझाउन नसकेपछि अध्यागमनले उनीहरुलाई फिर्ता गरेको हो।

गोरखाका गुरुङलाई अध्यागमन कार्यविधि बमोजिम श्रम अवधि नभएकाले फर्काइएको अध्यागमन स्रोतले बताएको छ। अध्यागमनले सोमबार नै अन्य दुई जनालाई पनि प्रस्थान अनुमति दिएन।अध्ययन भिसामा बेलायत जान लागेकी मल्लको एनओसी लेटर प्रमाणिकरण हुन नसकेपछि अध्यागमनले प्रस्थान अनुमति दिएन।गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलुक जान निरुत्साहित गरेपनि त्यसरी जान चाहनेको संख्या भने रोकिएको छैन। मलेसिया र खाडी मुलक मात्र होइन भिजिट भिसाको पुष्टि गर्न नसक्ने र शंकास्पद यात्रा गर्नेहरुलाई त्रिअवि अध्यागमन कार्यालयले कडाइका साथ सोधपुछ गर्न सुरु गरेको छ। शंका लागेका व्यक्तिलाई अध्यागमनले तत्काल फर्काउन थालेको हो। अध्यागमनले आइतबार नाइजेरिया हिँडेकी स्याङ्जाकी मिनाकुमारी लम्साल, बेलायत हिँडेकी कास्कीकी आयुसा मल्ल, श्रीलंका हिँडेका मोरङका कृष्णबहादुर तामाङ, कतार हिँडेका सिन्धुलीका रसबहादुर खडका, दुबई हिँडेका डोटीका प्रेम भुल र कुवेत हिँडेका अनुप थापालाई फर्काएको छ।

अध्यागमनका अधिकारीहरुले मौरी व्यवसाय अवलोकनमा जानका लागि आवश्यक कागजात माग्दा भिजिट भिसामा जाने यात्रुहरुले दिन सकेनन्।
नाइजेरियामा रहेका आफन्तसँगको नाता प्रमाणित गर्न नसकेपछि लम्साललाई अध्यागमनले प्रस्थान अनुमति नदिएको हो। अध्ययन भिसामा बेलायत जान लागेकी कास्कीकी मल्लको एनओसी लेटर प्रमाणिकरण हुन नसकेपछि उनलाई अध्यागमनले प्रस्थान अनुमति दिएन। श्रीलंका जान हिँडेका सिन्धुलीका तामाङसँग अनलाइनमा दुबईको समेत भिसा भेटिएपछि उनी समेत रोकिए। बाँकी रहेका खडका,भुल र थापाले भिजिट भिसामा खाडी मुलुक जानुपर्ने औचित्य प्रमाणित गर्न सकेनन्।

अध्यागमनले शनिबारसमेत भिजिट भिसामा खाडी मुलुक र बुल्गेरिया हिँडेकालाई रोकेको थियो। त्रिअवि अध्यागमन कार्यालयले दुबई हिँडेकी नवलपरासीकी शोभा अम्बानी र महोत्तरीकी पद्म माया दंगाल, कतार हिँडेका काठमाडौंका रञ्जना आचार्य र प्रना भट्ट, साउदी अरेविया हिँडेका झापाका चन्द्रबहादुर मिश्र र नुवाकोटका महेश न्यौपाने, बुल्गेरिया जान हिँडेका मुगुका कर्मा जिन्मेत लामा, रोल्पाका नरेन्द्रकुमार केसी र दोलखाका तेवाङ साङ्मो शेर्पालाई शंकाष्पद यात्रा भन्दै प्रस्थान अनुमति नदिएको हो। उनीहरुले गन्तव्य मुलुक जानका लागि आवश्यक कागजपत्र दिन सकेनन्।

बुल्गेरिया हिँडेका लामा, केसी र शेर्पाले अध्यागमनका अधिकारीहरुसँग आफूहरु मौरी व्यवसाय अवलोकन गर्न जाने जिकिर गरेका थिए। अध्यागमनका अधिकारीहरुले मौरी व्यवसाय अवलोकनमा जानका लागि आवश्यक कागजात माग्दा उनीहरुले दिन सकेनन्। मानव तस्करहरुको जालोमा पर्न सक्ने आशंका गर्दै अध्यागमनका अधिकारीहरुले उनीहरुलाई प्रस्थान अनुमति नदिई फिर्ता गरेको स्रोतले बताएको छ। अन्य यात्रुहरुले खाडी मुलुक जान आवश्यक पर्ने कागजात दिन नसकेपछि अध्यागमनका अधिकारीहरुले उनीहरुलाई समेत फिर्ता गरेको हो।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार