• २०८१ बैशाख ११ गते मङ्गलवार
  • Preeti To Unicode

मार्क जुकरवर्गलाई चिठी


प्रिय मार्क जुकरवर्ग, नमस्कार । अभिवादन गर्नलाई त धेरै शब्दहरू थिए तर नमस्कार नै यस्तो शब्द हो, जुन साना–ठूला, चिनेका–नचिनेका, मन परेका– मन नपरेका सबैलाई गर्न सकिने । तिमी पनि यस्तो व्यक्ति हौ, जसलाई सबैले चिनेजस्तो तर कसैले नचिनेको । त्यसैले मैले तिमीलाई पनि नमस्कारले नै अभिवादन गरेँ ।

प्रिय जुकरवर्ग, म तिमीसँग अप्रत्यक्षरुपमा जोडिएको पनि वर्षौँ भएछ । यसअघिका दिनहरूमा तिमीसँग जोडिए पनि तिम्रो नाम जान्नुबाहेक तिमीप्रति कुनै चासो थिएन । कुनै सवाल थिएन । कुनै गुनासो थिएन । बरु म तिमीप्रति धन्य नै थिएँ । तिमीले मलाई यस्तो प्लेटर्फम दिएका थियौ, जहाँ म निस्फिक्री रमाउन सक्थेँ । निर्धक्क हराउन सक्थेँ ।

तिमीले मलाई यस्तो सञ्जालमा जोडिदिएका थियौ, जहाँ म नयाँ नयाँ साथी बनाउन सक्थेँ । बनाएका साथीसँग रमाउन सक्थेँ । यस सञ्जालमार्फत मैले कयौं नयाँ नयाँ साथीहरु बनाएँ । कयौ वर्ष अघि छोडिएका साथीभाइ र आफन्तजनहरूलाई भेटाएँ । उनीहरूसँगै मन बहलाएँ । एक्लोपनको साथी बनाएँ । दुःख पर्दा दुःख साटेँ, खुसी हुँदा सुख साटेँ । दुःख पर्दा र खुसी हुँदाका भावनाहरू पोखेर मन पनि बुझाएँ । आफ्ना तस्बिरहरू राखेर आएका लाइक, कमेन्ट र इमोजीहरूलाई गनेर हरेक पटक रमाएँ ।

प्रिय जुकरवर्ग, म तिमीसँग यसरी जोडिएँ कि पानीको प्यासझैँ बेलाबेला तिम्रो प्यास लाग्ने । भान्सामा बसाएको दूध उम्लिएर पोखियोस् या केटाकेटीको स्कुल बस छुटोस्, मलाई एकछिन भए पनि फेसबुक हेर्नैपर्ने । छोराछोरी परीक्षामा फेल होउन् या कार्यालयमा आफू कार्यसम्पादनमा सहकर्मीभन्दा पछाडि परूँ, एकछिन त फेसबुक खोल्नैपर्ने । बरु खाजापानी छोडिएला, तर तिमीले बनाएको यो सञ्जाल छोड्न नसकिने ।​ अल्कोहलिकले अल्कोहल छोड्न नसकेजस्तै । ड्रग्स लिनेले ड्रग्स छोड्न नसकेजस्तै । कस्तो नसा लाग्यो मलाई जुकर तिमीलाई छोड्नै नसक्ने । तिम्रो सञ्जालबाट टाढा जानै नसक्ने ।

प्रिय जुकरवर्ग, घरमा पकाएका परिकारदेखि रेष्टुराँका मेनुसम्म, आफू सहभागी भएका कार्यक्रमदेखि घुम्न गएका पार्कसम्म, घरबाट हिँड्ने साइतदेखि पुगेका गन्तव्यसम्म, नयाँ किनेका सामानदेखि बेचेका वस्तुसम्म, बिरामी पर्दादेखि आराम हुदाँसम्मका तस्बिरसम्म त्यही सञ्जालमा नराखी, उनै साथीसँग नसाटी यो मनले कहाँ मान्यो र ? त्यति मात्र कहाँ हो र ? जन्मन नपाउँदै नाभीसँगैको बच्चादेखि सास गई नसक्दैको मृत्युको फोटो नहाली कहाँ चित्त बुझ्यो र ?

प्रिय जुकरवर्ग, तिमीले यस्तो अथाह सागर दिएका छौ, जहाँ म जसरी पनि पौडन सकूँ, आफैँलाई भुलाउन सकूँ । तिमीले मैले कहिल्यै देख्न नसक्ने महँगा आभूषणदेखि लक्जरियस गाडी र बंगलासम्मका पेज बनाइदिएका छौ । किनेर लगाउन सक्दिनँ त के भो, हेरेर चित्त बुझाइदिएका छौ । मन बुझाइदिएको मात्र हैन, मन भाँडिदिएका पनि छौ । साथीभाइको लुगा, गहना, गाडी, बंगला, खानपिन र उठबस देखेर कयौंपटक मेरो मन खुम्चिएको पनि छ । कहिले कसैको प्रगतिमा ईष्र्यालु भएको छु भने कहिले कसैको अवनतिमा कुटिल हाँसो हाँसेको पनि छु ।

प्रिय जुकरवर्ग, यो भर्चुअल सञ्जालको भर्चुअल सम्बन्धमा म यसरी बाँधिएकी मलाई रियलभन्दा भर्चुअल लाइक, इमोजी, शुभकामना, श्रद्धाञ्जलीहरु नै राम्रो लाग्न थाल्यो । त्यसमा नै विश्वास लाग्न थाल्यो । त्यतिमात्र कहाँ हो र ? मलाई त वास्तविक सम्बन्धहरू भन्दा भर्चुअल सम्बन्धहरू नै नजिक लाग्न थाल्यो । प्रिय लाग्न थाल्यो ।

म मात्रै कहाँ हो र ? मैले चिनजानेका सबै तिम्रो सञ्जालमा डुबेर हराएका छन् । घरमा हेर्‍यो बालकदेखि वृद्धसम्म, बाहिर गयो युवादेखि वयस्कसम्म, कार्यालय गयो हाकिमदेखि सहयोगीसम्म, नेतादेखि कार्यकर्तासम्म, व्यापारीदेखि खरिदकर्तासम्म, डाक्टरदेखि कण्डक्टरसम्म………….। कहाँमात्र छैन तिम्रो सञ्जाल ? कहाँमात्र छैन तिम्रो सञ्जालको जालो ? माकुराले आफ्नो आहारालाई जालमा पारेजस्तो सबैलाई तिमीले जालमा पारेका छौ ।

प्रिय जुकरवर्ग, कयौं पटक तिम्रो सञ्जालबाट भाग्न नखोजेको हैन म । तिम्रो अथाह गुण हुँदाहुँदै पनि तिम्रा बैगुन नदेखेको हैन मैले । नयाँ साथी खोज्ने चक्करमा कयौं नजिकका साथी र आफन्त नगुमाएको पनि हैन मैले । अर्काको देशका मान्छेहरूसँग नजिकिँदा आफ्नै घरकासँग नटाढिएको पनि हैन म ।

तिम्रै सञ्जालको कारणले कति मन दुखाएकोे पनि छु । आफ्नैसँग टाढिएको पनि छु । कति रात अनिदो बसेको छु । कति छाक भोकै पनि बसेको छु । कति दुखेको छु, कति टुटेको छु, कति फुटेको छु । दुख्दै, टुट्दै, फुट्दै सम्हालिएर जोडिएको पनि छु ।

प्रिय जुकरवर्ग, म मात्र कहाँ हो र ? अस्ति भरखर एउटी बहिनीले सुनाएकी थिइन् उनको परिवार नै टुटेको । केही अघिमात्र एउटी दिदीले भनेकी थिइन् उनको सम्बन्ध नै छुटेको । दिदीबहिनीको मात्र कहाँ हो र, कति दाजुभाइका पनि त परिवार टुटे होलान् । सम्बन्धहरू छुटे होलान् । उनीहरूले नभनेर मात्र पो त । कति आमाबुबाका बुढेसकालका सहारा छुटे होलान् । कति छोराछोरीका भविष्यका गन्तव्य टुटे होलान् । उनीहरूले नगनेर मात्र पो त ।

प्रिय जुकरवर्ग, सायद अहिले तिमी केही चिन्तित छौ होला । मैले आजै मात्र सञ्जालमा पढेको थिएँ, तिम्रो सम्पत्ति केही घटेको कुरा । तिम्रो सञ्जालका प्रयोगकर्ता घटेर तिम्रो सम्पत्ति घटेको भन्ने समाचारले म तिमी र तिम्रो सम्पत्तिभन्दा म, हामी र हाम्रा सम्बन्धहरू घटेको, भावनाहरू साँघुरिएकोमा चिन्तित छु । म चिन्तित छु तिम्रो सञ्जाललाई हामीले प्रयोगभन्दा दुरुपयोग गरेकोमा । म दुःखी छु तिम्रो सञ्जालले हाम्रा सम्बन्धहरूलाई छुटाएकोमा । मलाई गुनासो छ, हाम्रा भावनाहरू टुटाएकोमा ।
स्रोत : दुर्गा सुवेदी / रातोपाटी

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार