• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

जसपा विवाद : उपेन्द्र,बाबुराम र असोक आ-आफ्नै दाउमा, एमसिसीमा पनि छैन एकमत


सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)भित्र एमसिसीको विषयमा एकमत बन्न सकेको छैन। जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसिसी संसदबाट पारित गर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र यादवको स्पष्ट धारणा आएको छैन। गठबन्धनको बैठकमा पनि उनले यस विषयमा पार्टीले धारणा बनाएपछि सार्वजनिक गर्ने बताउँदै आएका छन्।

डा. भट्टराई पक्षका नेताहरूले सार्वजनिक रूपमै एमसिसी पारित गर्नुपर्ने धारणा राख्दा यादवलगायत उनीपक्षीय नेताहरूले भने मौनता साँधिरहेका छन्। एमसिसी पारित गर्न विलम्ब गर्न नहुने भट्टराईको धारणा छ। ‘एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौँ ! सबै एकमुख भएर जनतालाई बुझाऊँ ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रुढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस् ! देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् ! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् !’ उनले केही दिनअघि सामाजिक सञ्जालमा भनेका छन्। तर, अध्यक्ष उपेन्द्र यादवले भने सार्वजनिक रूपमा एमसिसीबारे खुलेर बोलेका छैनन्।

जसपाका कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री इस्तियाक राई एमसिसी संसदमा टेबुल हुनुपर्ने बताउँछन्। ‘एमसिसीबारे धेरै भनाइहरू बाहिर आए। आमनागरिक नेताहरूकै भनाइका कारण विभाजन हुने अवस्था आयो। सदमा टेबुल गरेर यसबारे छलफल गरौँ,’ उनले भने। अर्का कार्यकारिणी सदस्य डा. सुरेन्द्र यादवले एमसिसीको विषयमा पार्टीभित्र फरक–फरक विचार र बुझाइ रहेको बताए। ‘पार्टीभित्र एमसिसीबारे फरक–फरक धारणा छ,’ उनले भने, ‘यो विषयमा अध्यक्ष उपेन्द्र यादवले अभिव्यक्ति दिनुभएको छैन, तर देखिएका शंका निवारण गरेर पास गर्नुपर्ने पक्षमा अध्यक्ष यादव हुनुहुन्छ।’ वरिष्ठ नेता अशोक राई पनि संशोधनसहित पारित गर्नुपर्ने पक्षमा रहेको उनले बताए।

यादव एकल अध्यक्ष हुन खोज्दा बढ्यो असन्तुष्टि
जसपाभित्र सांगठनिक विवाद पनि चुलिएको छ। अध्यक्ष उपेन्द्र यादव एकलौटी रूपमा अगाडि बढेको भन्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष असन्तुष्ट बनेको हो। भट्टराई पक्षले यादव सामूहिक नेतृत्वको पद्धतिविपरीत अघि बढ्न खोजेको आरोप लगाउँदै आएको छ।

पार्टी एकीकरणको समयमा दुई अध्यक्षको परिकल्पना गरिएको र त्यसले शक्ति सन्तुलन गर्ने भए पनि यादवले पछिल्ला दिनमा त्यसलाई नजरअन्दाज गरेको भन्दै पार्टीमा विवाद देखिएको हो।

कार्यकारिणी सदस्य इस्तियाक राईले पार्टीलाई सामूहिक नेतृत्वमा अगाडि बढाउने विषयलाई लिएर जसपामा विवाद देखिएको बताए। उनले अध्यक्ष यादवले रिक्त अध्यक्ष पदमा नियुक्त नगरी आफूखुसी निर्णय गर्दा पार्टीमा असन्तुष्टि देखिएको उनको भनाइ छ। ‘यो बाबुराम र उपेन्द्रबीचको विवाद होइन।

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिमा कसरी अगाडि बढाउने विषयलाई लिएर हो,’ उनले नयाँ पत्रिकासँग उनले भने, ‘विधानले नै सामूहिक नेतृत्वको व्यवस्था गरेको छ भने अर्कोतिर त्यसविपरीत अध्यक्ष एक्लैले निर्णय गर्नु त उचित भएन नि।’ पार्टीमा मधेसी, जनजाति र खस आर्य नेतृत्वको परिकल्पना गरिएको उनले बताए। यो विषयलाई कुल्चिन खोज्दा विवाद देखिएको उनको भनाइ छ। ‘विधारमा रहेको क्लस्टरअनुसार सबैलाई समेट्न नसक्ने उहाँहरूको तर्क छ। हामी पार्टीलाई समावेशी बनाउन कसरी सबैलाई समेट्न सकिन्छ त्यसबारे छलफल गरौँ भनिरहेका छौँ,’ राईले भने।

महन्थ ठाकुर समूहले अलग्गै पार्टी बनाएपछि बाँकी पदाधिकारी र कार्यकारिणी सदस्य पूर्ति हुन बाँकी छ। तर, अहिलेसम्म पदाधिकारी र सदस्य थप गर्ने विषय टुंगोमा पुग्न सकेको छैन। पछिल्लो समय भट्टराई पक्षले पार्टीको अन्तरिम विधानअनुसार पदाधिकारी र सदस्य थप गर्न तत्काल कार्यकारिणी समितिको बैठक बोलाउनुपर्ने आवाज उठाउँदै आएको छ। तर, अध्यक्ष यादवले कार्यकारिणी समिति बैठक बोलाउन आनाकानी गर्दै आएको भट्टराई पक्षको आरोप छ।

यससँगै अध्यक्ष यादवले सरकारमा सहभागी हुने आफूखुसी मन्त्रीकाे नामावली तयार गरेको, राष्ट्रिय सभा निर्वाचनमा एकलौटी निर्णय लिएकोलगायतका विषयलाई लिएर पनि जसपामा असन्तुष्टि देखिएको छ। महन्थ ठाकुरले अलग्गै पार्टी बनाएपछि उनको ठाउँमा अर्को अध्यक्ष चयन गर्नुपर्ने मत छ। तर, यादवले भने विशेष परिस्थितिमा दुई अध्यक्ष पद सिर्जना गरिएकाले अहिलेको अवस्थामा दुई अध्यक्ष पद आवश्यक नरहेको बताउँदै आएका छन्।

यादव पक्षकी नेतृ प्रमिलाकुमारी यादव जसपामा अर्को अध्यक्ष आवश्यक नरहेकाले अब यादव मात्रै अध्यक्ष रहने बताउँछिन्। उनी यो विषय आन्तरिक छलफलबाट टुंगो लाग्ने उनले बताइन्। ‘जसपामा अध्यक्ष एकजना नै रहने हो। यसअघि पार्टी एकताको दृष्टिकोणबाट दुई अध्यक्ष पदको व्यवस्था गरिएको हो,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘यो पार्टीमा छलफलबाट टुंगो लाग्ने विषय हो।’

रिक्त अध्यक्षमा अशोक राईलाई प्रस्ताव
महन्थ ठाकुरले नयाँ पार्टी बनाएपछि जसपामा एक अध्यक्ष रिक्त छ। केपी ओली सरकारलाई समर्थन गर्ने विषयमा जसपामा विवाद देखिएपछि ठाकुर पक्षलाई संस्थापन पक्षले कारबाही गरेको थियो। पछि निर्वाचन आयोगले हेड काउन्ट गर्दै उपेन्द्र–बाबुराम पक्षलाई आधिकारिकता दिएको थियो। रिक्त रहेको अध्यक्षमा अशोक राईलाई ल्याउनुपर्ने उपेन्द्र यादव इतर पक्षको भनाइ छ।

‘क्लस्टरअनुसार नेतृत्व निर्माण गर्दा अशोकजीलाई अध्यक्ष बनाउनुपर्छ,’ एक नेताले भने, ‘जसपा विधानले एक अध्यक्षको कल्पना गरेको छैन।’ मधेसकेन्द्रित राजनीतिबाट पार्टीलाई माथि उठाउन पनि राईलाई अध्यक्ष बनाउनुपर्ने जसपामा माग छ। ‘हिमाल र पहाडको पनि पार्टी हो भन्ने विश्वास दिलाउन पनि नेतृत्वको विषयमा सोच्नुपर्छ। त्यहाँका जनताले पनि विश्वास गर्ने पार्टी बनाउन अध्यक्षमा अशोक राईलाई प्रस्ताव गरेका हौँ,’ एक नेताले भने।

उपेन्द्रको मत : मधेसी, आदिवासी जनजाति र खसआर्य क्लस्टर मात्र छैन
केही दिनअघि अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अर्को अध्यक्ष थप नगर्ने संकेत गरेका छन्। उनले नेपालको सामाजिक समूह (क्लस्टर) नेपालको संविधान ( धारा १८, ४२, ८४), जनता समाजवादी पार्टी, नेपालको घोषणापत्र ( पृष्ठ १, २) र पार्टी विधान ( पृष्ठ १) मा मधेसी, आदिवासी जनजाति, खसआर्य, खस, थारू, मुस्लिम, पिछडावर्ग, दलित, महिला, अल्पसंख्यक समुदाय आदि उल्लेख गरिएको बताएका छन्।

उनले आदिवासी–जनजाति र मधेसी समुदायभित्र पनि धेरै समूहहरू रहेको बताउँदै थप एक अध्यक्ष बनाउन नपर्ने संकेत गरेका छन्। उनले मधेसी, आदिवासी–जनजाति र खसआर्य मात्र तीन समूह छन् भन्नु गलत भएको भन्दै एक जनजाति अध्यक्ष थप गर्ने विषय इन्कार गरेका छन्। यिनै तीन समूहबीच मात्र नेतृत्व वा प्रतिनिधित्व, सत्ता-शक्तिको साझेदारी गर्नुपर्दछ भन्ने विचार नै उच्च जातीय/वर्गीय प्रभुत्व र वर्चस्व कायम राखी अन्य सामाजिक समूहहरू खासगरी शोषित, उत्पीडित र सीमान्तकृत तथा बहिष्करणमा परेका/पारिएका समूहहरूमाथि शोषण, उत्पीडन, विभेद र अन्यायलाई निरन्तर जारी राखेको यादवको धारणा छ।
पार्टीमा अहिले मधेसी, आदिवासी–जनजाति र खसआर्य क्लस्टरबाट नेतृत्व रहनुपर्ने आवाज उठिरहेका वेला यादवको यस्तो धारणा आएको हो।

‘जनगणनाको रिपोर्ट र सामाजशास्त्रका विद्वानहरूले पनि नेपालमा धेरै सामाजिक समूहहरूको बारेमा लेखेका छन्। तसर्थ नेपालमा तीन समूह- मधेसी, आदिवासी–जनजाति र खसआर्य मात्र छन् भन्नु गलत हो। यिनै तीन समूहबीच मात्र नेतृत्व वा प्रतिनिधित्व , सत्ता-शक्तिको साझेदारी गर्नुपर्दछ भन्ने विचार नै उच्च जातीय/वर्गीय प्रभुत्व र वर्चस्व कायम राखी अन्य सामाजिक समूहहरू खासगरी शोषित, उत्पीडित र सीमान्तकृत तथा बहिष्करणमा परेका/पारिएका समूहहरूमाथि शोषण, उत्पीडन, विभेद र अन्यायलाई निरन्तर जारी राख्नु नै हो। यो विचार समानता, समावेशी लोकतन्त्र, सामाजिक अन्याय र समाजवादको पनि विपरीत छ। यसले अन्य साना–साना सामाजिक समूहहरूलाई अझ ठूलो विभेद र बन्चितिकरणमा पार्नेछ,’ यादवले भनेका छन्।

पूर्वराजपाका नेता पनि असन्तुष्ट
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच ०७७ वैशाख ११ गते एकीकरण भएर बनेको जसपामा सामेल भएका सदभावना पार्टी तथा पूर्वराजपा नेताहरू पछिल्लो समय असन्तुष्ट बन्दै गएको जसपाका एक नेताले बताए। महन्थसँग नयाँ पार्टीमा नगएका पूर्वराजपाका नेताहरू राजकिशोर यादव, मनीष सुमनलगायतका नेताहरू पनि अध्यक्ष यादवले आफूहरूलाई नसमेटेको भन्दै असन्तुष्ट रहेको जसपाका एक नेता बताउँछन्।

स्रोतका अनुसार जसपा नेताहरूले माघ १२ मा भएको राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ मा सत्तागठबन्धनका उम्मेदवार बनेका जसपा नेता हेमराज राईलाई पराजित गर्न अध्यक्ष यादवको समेत भूमिका रहेको आशंका गर्दै आएका छन्। पराजित भएका राईले भने निर्वाचनमा गठबन्धनका तर्फबाट आउनुपर्ने मत नआएको भए पनि यसै भन्न नसकिने बताए।

‘गोप्य मतदान भएकाले यसैले गर्दा पराजित हुने अवस्था आयो भन्ने अवस्था होइन,’ उनले नयाँ पत्रिकासँग भने, ‘गठबन्धनबाट उम्मेदवार भएका अरूलाई पनि गठबन्धनबाट आउनुपर्ने मत आएको थिएन।’ त्यस्तै पछिल्लो समय मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसमेत यादवसँग असन्तुष्ट बन्दै आएका छन्। जसपा स्रोतका अनुसार यादवकै आग्रहमा मधेसमा साइकल वितरणको योजना सुरु गरेका मुख्यमन्त्री राउत योजना विवादमा परेपछि आफूलाई भ्रष्टाचारमा फसाउन खोजेको भन्दै असन्तुष्ट छन्।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार