• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

फागुन २ को प्रतिनिधि सभा किन स्थगित गर्न माग गर्‍यो एमालेले ?


काठमाडौँः फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आग्रह गरेको छ। पार्टीको प्रदेश १ को भेला जारी रहने भन्दै एमालेले प्रतिनिधि सभा स्थगनको प्रस्ताव गरेको हो।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठक स्थगित गर्न आग्रह गरेको बताए। यसअघि पनि प्रतिनिधि सभा निरन्तर सूचनाद्वारा स्थगित हुँदै आएको छ। एमसीसी सम्झौता पेश गर्ने विषय पेचिलो बन्दै जाँदा बैठक स्थगित गरिँदै आएको छ।

एमालेको प्रदेश १ को भेला फागुन १ र २ गते हुँदैछ।

एमालेले संसद्का महासचिव डा. भरतराज गौतम र प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई बैठक स्थगन गर्न आग्रह गरेको हो।
अधिवेशनको प्रारम्भदेखिनै एमालेले सदन अवरुद्ध समेत गर्दै आएको छ।

कारबाहीका लागि पत्राचार गरिएको १४ सांसदलाई नहटाइएको भन्दै एमालेले सभामुखविरुद्ध निरन्तर आन्दोलन गरिरहेको छ। सदन पुनः सञ्चालनका लागि सांसदमाथिको कारबाहीको सूचना वा सभामुखको राजीनामालाई एमालेले शर्त बनाएको छ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार