• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

कांग्रेस बैठक: एमसीसी संसदमा पेश हुन्छ, सभामुख भाग्न मिल्दैन


काठमाडौं: मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता अनुमोदन गर्नुपर्ने समय नजिकिँदा सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस एमसीसी केन्द्रित भएको छ। बिहीबार प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले डाकेको केन्द्रीय कार्यसम्पादन समितिमा मूल एजेन्डामै नरहेको एमसीसीले अधिकतम समय खायो।

दिउँसो ३ बजे सुरु भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले विभिन्न समिति गठनको विषयदेखि स्थानीय तहको निर्वाचनसम्मका विषयलाई समेटेर ९ बुँदे प्रस्ताव पेश गरे थिए।उक्त बुँदाहरुमा एमसीसीबारे कतै केही उल्लेख नभएको महामन्त्री शर्माले अनौपचारिक कुराकानीका क्रममा जनाएका थिए। तर, त्यसको केही समयमा बैठकबाट बाहिरिँदै गर्दा पूर्व महामन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य डा शशांक कोइरालाले एमसीसीकै विषयमा छलफल चलिरहेको बताए। त्यसो त भोलि २ बजेसम्मका लागि बैठक स्थगित भएको भनी उल्लेख गर्दै जारी गरेको पार्टीको विज्ञप्तिमा पनि एमसीसीबारे केही उल्लेख छैन।

कांग्रेसले अहिले बैठकअघि एजेन्डासमेत सार्वजनिक गर्ने गर्छ। कार्यसम्पादन बैठकबारे जारी गरिएको पत्रको एजेन्डामा पनि एमसीसीलाई कतै उल्लेख गरिएको छैन। तर फागुन १६ भित्र अनुमोदन हुनुपर्ने भनिएको एमसीसीका कारण अहिले कांग्रेसलाई तातो लागेको छ। प्रधानमन्त्री देउवा यसका लागि चौतर्फी प्रयास गरिरहेका छन्।

एमसीसीबारे शशांकबाट धारणा सुरु
बैठकमा एमसीसीबारे सरकारले जनतालाई राम्रोसँग बुझाउनुपर्छ भनेर आफूले बैठकमा कुरा राखेको उल्लेख गरे डा शशांकले। कोइराला बैठक नसकी आफ्नो भनाई राखेर निस्किँदै गर्दा सञ्चारकर्मीको घेरामा परे।त्यसपछि उनले भने, ‘जनतामा गएर सम्झाउने हो। एमसीसी नेपालको लागि राम्रो हो। अमेरिकी सेना यहाँ आउने होइन। यहाँकै नियम कानुन अनुरुप एमसीसी चल्छ। यो कुरा जनमानसमा भन्नुपर्छ।’

आजको बैठकमा धारणा राख्ने धेरै नेताहरु एमसीसीका पक्षधर थिए। परराष्ट्रमन्त्रीसमेत रहेका डा नारायण खड्का, रमेश रिजाल, आनन्दप्रसाद ढुंगाना, बलबहादुर केसीलगायतले बैठकमा स्थानीय निर्वाचन, गठबन्धन, भ्रातृ संगठन, कांग्रेसको बाँकी १६ जिल्लाको अधिवेशनबारे कुरा राखे।बैठकको सुरुमै डा रामशरण महतले एमसीसीबारे लामो ब्रिफिङ गरेर नेताहरुलाई यो राम्रो परियोजना भएको बताएका थिए। उनको भनाइपछि सभापति देउवाले यसबारे आफूले पनि बुझाउने बताएका थिए। बैठकको मुख्य एजेन्डा नै एमसीसी पासका लागि भएको डा शशांकको भनाई थियो। ‘हाम्रो बैठकको मुख्य एजेन्डा हामीले एमसीसी पास गर्नुपर्छ भन्ने हो,’ बैठकपछि उनले भने।

संसदमा टेबल हुन्छ, सभामुख भाग्न मिल्दैन : प्रवक्ता महत
बैठक चलेको करिब २ घण्टापछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बैठकको ब्रिफिङ गरे। उनले बैठकमा कांग्रेसले एमसीसीबारे चर्चा व्यापक भएको उल्लेख गर्दै छलफल बिना नै सम्झौताबारे विभिन्न हल्ला भइरहेको दाबी गरे। हल्ला निराकरणका लागि संसदमा छलफल गर्नुपर्ने उनको भनाई थियो। ‘जनताका प्रतिनिधि बीचमा छलफल चलाइनु पारदर्शी प्रक्रिया हो। अहिले विभिन्न हल्ला फिँजाइएका छन्। ती हल्लाबारे जनताका प्रतिनिधिले छलफल गर्न पाउनुपर्छ। गुण दोष, राम्रो नराम्रो के हो सांसदहरुले नै हेरेर निर्णय गर्छन्,’ महतले भने।

कांग्रेसमा नभइ अहिलेको सत्ता साझेदार माओवादी केन्द्र र अन्य दलहरु समेतको सरकार हुँदा समेत एमसीसीको विषयमा सम्झौताको पहल भएको स्मरण महतले गराए।सत्तागठबन्धनकै साझेदार माओवादी केन्द्र एमसीसी अहिले नै सदनमा टेबल गराउने पक्षमा छैन। प्रधानमन्त्री देउवासँगको छलफलमासमेत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदनको विषयलाई चुनावसम्म सार्न माग गरिसकेका छन्। यस्तो अवस्थामा सभामुख अग्निप्रसाद सापकोटा सदनमा एमसीसी टेबल गर्लान् र? जवाफमा प्रवक्ता महतले भने, ‘सभामुखले आफ्नो काम कर्तव्य र दायित्व बुझ्नुपर्छ, पदीय जिम्मेवारीबाट भाग्न मिल्दैन,’ महतले भने, ‘एमसीसीबारे संसदले निर्णय लिन पाउनुपर्छ।’

बैठक सकिएपछि सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि एमसीसीको विषयमै सरकारको ध्यान भएको बताए। अहिले सत्ता साझेदार पार्टी एकीकृत समाजवादी एमसीसीको विरोधमा सडकमा उत्रेको छ। यही विषयमा राखिएको प्रश्नमा मन्त्री कार्कीले यसबारे आफू अनविज्ञ रहेको तर्क गरे। एमसीसीकै कारण संसद् पटकपटक स्थगित भइरहेको अवस्थामा कांग्रेसले कसरी टेबल गराउँछ त? जवाफमा मन्त्री कार्कीले भने, ‘एमसीसीलाई निष्कर्षमा पुर्‍याउनुको विकल्प छैन। हामीले निष्कर्षमा पुर्‍याएर संसदमा लैजान्छौँ। सरकारले प्रस्तुत गर्ने स्थापित मान्यता अनुसार पेश गर्छौँ।’

एमसीसीकै कारण सत्तारुढ गठबन्धनमा संकट उत्पन्न भइसकेको छ। जनमोर्चा नेपालले एमसीसी राष्ट्रघाती भएको भनिरहेको छ भने माओवादीले यथास्थितिमा अनुमोदन हुन नहुने महाधिवेशनबाटै निर्णय गरेको छ। कांग्रेस भने गठबन्धनको भविष्य नसोची एमसीसी जसरी पनि अनुमोदन गराउनुपर्छ भन्ने पक्षमा लागेको छ। एमसीसीमा जोडबल गर्दा गठबन्धन तोडिएला नि भन्ने प्रश्नमा बिहीवार कांग्रेस नेताहरुको भनाई थियो, ‘गठबन्धनको भविष्यको विषयमा बैठकमा कुरा भएको छैन।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार