नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला आन्तरिक र बाह्य दबाबको चेपुवामा परेका छन् । एकातिर एमसीसीलाई फेब्रुअरीको डेड लाइनभित्र निष्कर्षमा पुर्याउन प्रधानमन्त्री शेरबहादुर देउवादेखि अमेरिकासम्मको दबाब प्रचण्डमाथि छ भने अर्कोतिर पार्टी पदाधिकारी चयन गर्दा पार्टीभित्र सन्तुलन मिलाउनुपर्ने दबाब पनि त्यतिकै छ । त्यही दबाबका कारण प्रचण्ड माघ २८ गते बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठक नै सार्न बाध्य भएका छन् ।
शुक्रबारको केन्द्रीय समितिको बैठकको सबै तयारी पुरा भइसकेको थियो । बैठकमा पेस गर्ने पदाधिकारीको प्यानल पार्टी अध्यक्ष प्रचण्डले बिहीबारसम्म टुङ्गो लगाउने भनिएको थियो । माओवादी स्रोतले रातोपाटीसँग भन्यो, ‘पार्टीभित्र र बाहिरको घेराबन्दीमा परेपछि अध्यक्षले बैठकबारे होमवर्क नै गर्न पाउनुभएन । त्यही भएर अन्तिम समयमा बैठक नै स्थगित गर्नुपर्ने अवस्था आयो ।’
कार्यकर्ताकै ‘घेराबन्दी’
स्थानीय चुनावको मिति घोषणा भएपछि प्रचण्ड निवास खुमलटारमा यतिबेला पार्टीका नेता कार्यकर्ताको लाइन नै लाग्न थालेको छ । पार्टी प्रवेश गर्नेदेखि चुनावी छलफल गर्ने काम खुमलटारमा नै भइरहेको छ । प्रचण्डका सचिवालयका एक सदस्यले भने, ‘नेता कार्यकर्ताहरू पूर्व जानकारी बिना नै आइपुग्नु हुन्छ । कोही पार्टी प्रवेश गर्ने भन्नुहुन्छ, कोही के समस्या लिएर आउनुहुन्छ । उहाँहरू घरमा नै आएपछि नभेट्ने कुरा भएन । आजभोलि अध्यक्षको धेरै समय भेटघाटमा नै बित्न थालेको छ ।’
अब बस्ने बैठकले केन्द्रीय समितिलाई पूर्णता दिनुका साथै १५ सदस्यीय केन्द्रीय पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो कमिटीलाई समेत पूर्णता दिने कार्यतालिका रहेको थियो । माओवादीको पार्टी विधानअनुसार केन्द्रीय कमिटीले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी चयन गर्नेछ । तर आकांक्षी धेरै भएपछि प्रचण्डलाई यतिबेला भागबण्डा मिलाउन नै सकस परिरहेको छ । यस्तोमा नेता–कार्यकर्ताकै ‘घेराबन्दी’ मा प्रचण्डले प्यानल नै तयार गर्न पाएनन् ।
एमसीसीको दबाब
पार्टीभित्र मात्र होइन, प्रचण्डमाथि पार्टी बाहिरबाट पनि उत्तिकै दबाब छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर प्रचण्डले एमसीसी सम्झौता पारित गर्नका लागि केही समय माग गर्दै पत्र लेखेका थिए । दुई नेताले मागेको समय फेब्रुअरी महिनाको अन्तिममा सकिँदैछ । यसका लागि फेरि समय थप गर्न नसकिने अमेरिकाले स्पष्ट पारिसकेको छ । यही डेड लाइनभित्र एमसीसीलाई जसरी पनि पारित गराउन दबाब बढ्दो छ ।
प्रधानमन्त्री देउवा फागुन २ गते बोलाइएको प्रतिनिधिसभाको बैठकमा जसरी पनि एमसीसीलाई टेबल गर्न चाहन्छन् । यसका लागि देउवाले प्रचण्डलाई निरन्तर दबाब दिइरहेका छन् । उता, अमेरिकी पक्षले पनि प्रचण्डलाई त्यतिकै प्रेसर गरिरहेको छ । बिहीबार मात्रै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रचण्डलाई फोन नै गरेर फेब्रुअरीभित्र ‘एनी हाउ’ एमसीसीलाई निष्कर्षमा पुर्याउन दबाब दिएका छन् । माओवादी स्रोतका अनुसार प्रचण्डले लुलाई एमसीसी पारित गर्ने म्याद केही समयका लागि थप्न आग्रह गरे पनि लुले प्रचण्डलाई अब त्यो कुरा सम्भव नभएको स्पष्ट पारेका छन् । लु गत मङ्सिर १ मा पनि नेपाल नै आएर नेपालका नेताहरूलाई एमसीसी पारित गर्न दबाब दिएका थिए ।