• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमाले अध्यक्ष ओलीलाई प्रचण्डको फोन : ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’


काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका छन् । बिहीबार साँझ टेलिफोनमा प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को बिषयमा निर्णय गर्न भन्दै ओलीलाई टेलिफोन गरेको एमाले प्रचारविभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो सॉझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस, नेकपा (एमाले) त निर्णय गरिहाल्छ,’ उपप्रमुख रिजालले अध्यक्षद्वयको संवाद उधृत गर्दै भने। रिजालले एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले- नेकपा (एमाले)को धारणा स्पष्ट रहेको बताए।

एमसीसी संसद्बाट तत्काल अनुमोदन गर्ने कि नगर्ने विषयले सत्तारुढ गठबन्धनमा झन् दरार उत्पन्न भएको छ। कांग्रेस जसरी पनि अमेरिकी अनुदान सहायता सम्झौता अनुमोदन गरी अघि बढ्ने पक्षमा छ। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तत्काल सम्झौता अनुमोदनको पक्षमा देखिएका छैनन्। प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी अनुदान सहायता सम्झौता संसद्बाट जतिसक्दो चाँडो अनुमोदन गराउने पक्षमा छन्। तर, ‘गोल गर्ने’देउवाको ‘दाउ’मा गोलकिपरको भूमिकामा देखापरेका छन् सभामुख अग्निप्रसाद सापकोटा।

प्रधानमन्त्री देउवा र प्रचण्डले संयुक्त रूपमा एमसीसी मुख्यालयलाई पत्र लेखे। जसकारण जसरी पनि एससीसी संसद्बाट अनुमोदन गराउनुपर्ने नैतिक जिम्मेवारी देउवालाई छ। प्रचण्ड भने चुनावपछि मात्रै एमसीसीबारे निर्णय गर्नुपर्ने दबाब देउवामाथि बढाइरहेका छन्। प्रधानमन्त्रीले चाहेजसरी एमसीसीलाई ‘सजिलै’ संसद्को निर्णय प्रक्रियामा नलैजाने सापकोटाले प्रतिनिधिसभा बैठक विभिन्न बहानामा लगातार धकेल्दै आएका छन्।

बिहीबार प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेट गरेर एमसीसीबारे छलफल गरेका थिए।

अमेरिकी अनुदान सहायतासम्बन्धी सम्झौता अघि बढाउने विषयमा अमेरिकाले ताकेता गरेको छ। छिटो निर्णयमा पुग्न अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले बिहीबार देउवा, ओली र दाहाललाई फोन गरी अलमल नगर्न आग्रह गरेका थिए।

एमसीसी संसद्बाट अनुमोदन नगरे नेपाल र अमेरिकाको सम्बन्धमै असर पर्न सक्ने चेतावनी सहायकमन्त्री लूले दिएका छन्। आफूले दिएको अनुदान सहायता परियोजना फिर्ता भए चीनले हस्तक्षेप गरेको अर्थमा बुझ्ने उनको भनाइ थियो।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार