• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

वीरगञ्जका राजेशमानले छाडे लोसपा, एमाले प्रवेश गर्ने


वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेशमान सिंहले पार्टी परित्याग गरेका छन् । वीरगञ्जमा मधेस आन्दोलनको नेतृत्व गर्नेमध्येका एक नेता सिंह लोसपा परित्याग गरी छिट्टै नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन् ।

नेता सिंहलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै वीरगञ्ज ल्याउने तयारी छ । नेता सिंहले बुधबार बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका थिए । नेता सिंहले आफू एमाले प्रवेश गर्न लागेको पुष्टि पनि गरेका छन् ।२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी तत्कालीन राष्ट्रिय जनता पार्टीबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा उठेका थिए । १२ हजार १ सय ६५ मत ल्याएर उनी तेस्रो स्थानमा आएका थिए । त्यतिखेर राजपामै रहेका पर्सा क्षेत्र नं २ का सांसद बिमल श्रीवास्तवले लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिएपछि उनी कमजोर बन्न पुगेका थिए ।

पछिल्लो समयमा उनले मधेस प्रदेशको राजधानी वीरगञ्जलाई बनाउनुपर्छ भनेर आन्दोलन गरेका थिए । शुक्रबार नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलन गर्दै नेता सिंहले मधेस आन्दोलनको भावनालाई मधेसवादी दलका शीर्ष नेताले कुर्सीसँग सौदावाजी गरेकोले पार्टी परित्याग गरेको बताए ।परिवर्तनको भोक र समानताका लागि मधेशी जनताले आन्दोलन गरे । तर आन्दोलनको भावनालाई मधेशी दलका शीर्ष नेताले कुर्सीसँग सौदाबाजी गरे’ उनले भने ।

मधेश र मधेशीको नाममा मधेशवादी दलले दोकान चलाइरहेको सिंहले टिप्पणी गरे । ‘मधेश सरकार पनि चरम भ्रष्टाचार, वेथिती, विसंगति, सत्ता र भत्ताको व्यवस्थापनमा मात्रै केद्रित भइरह्यो । मधेशी जनतासामु गरेको वाचा पनि पूरा गरेन’ उनले भने ।

वीरगञ्जलाई मधेश प्रदेशको राजधानी बनाउने भनेर मधेशी दलका शीर्ष नेताले घण्टाघरमा भाषण गरेपनि वाचा पूरा नगरेर धोका दिएको उनको भनाइ छ ।

नागरिकताको विषयमा अध्यादेश ल्याएर र मधेश आन्दोलनका क्रममा मुद्दा लागेका एक सय २० जनाको मुद्दा फिर्ता लिएर एमाले अध्यक्ष ओलीले आफ्नो मन जितेको नेता सिंहले बताए ।

‘हामीले सबैभन्दा बढी तत्कालिन केपी शर्मा ओली नेतृत्वको नै विरोध गरेका हौं । संविधानमा मुख्य रुपमा असन्तुष्टी रहेको नागरिकता सम्बन्धी विषयलाई अध्यादेश मार्फत सम्बोधन गर्ने काम भयो’ उनले भने ‘मधेश आन्दोलनका क्रममा राज्यबाट झुठा मुद्धा लगाईएका १ सय २० जनाको मुद्धा फिर्ता लिने काम ओलीले नै गरे । अब पनि ओलीको नेतृत्वमा नै मधेश आन्दोलनको माग पूरा हुन्छ भन्ने विश्वास छ ।’

एमालेबाट वीरगञ्जमा नगर प्रमुखको उम्मेदवार बन्न लागेको हो भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले भने, ‘पार्टीले मूल्यांकन गर्छ, भोलिका दिनमा पार्टीले टिकट दिएको खण्डमा मेयरमा लड्न पनि सक्छु ।’

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार