• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

जहाँ शौचालय जाँदा सित्तैमा चिया खुवाइन्छ [भिडियो]


काठमाडौं: त्रिपुरेश्वर। दशरथ रंगशालाले चिनिएको ठाउँ। स्मार्ट शौचालयले त्रिपुरेश्वरले थप नयाँ पहिचान पाएको छ। जहाँ शौचालय जाँदा सित्तैमा चिया खुवाइन्छ। बजारमा १२ रुपैँया पर्ने प्याड ६ रुपैँयामै पाइन्छ। त्रिपुरेश्वरको बसबिसौनीसँगै छ स्मार्ट शौचालय। चिटिक्क। आहा सुन्दर! राति सेन्सर लाइटको प्रबन्ध। हेर्दै लोभ्याउँछ। प्रयोग गर्दा क्या आनन्द आउँछ। व्यस्त सहर काठमाडौंमा आधुनिक शौचालयको विकासले बटुवालाई सहजमात्रै भएको छैन,

विकासको नयाँ मोडेल पनि प्रस्तुत भएको छ। यसले साँस्कृतिक सहर, काठमाडौं महानगरको नारालाई सार्थक पनि बनाएको छ।महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार रिबन काटेर शौचालयको उद्घाटन गरे। उप-मेयर हरिप्रभा खड्की (श्रेष्ठ)सहितले ताली पिटे। महानगरले जग्गा उपलब्ध गराएपछि ऐरोशान स्टेनेवल स्यानिटेशन फूलेश्वर काठमाडौंले ३५ लाख खर्चेर शौचालय बनाइएको हो।त्रिपुरेश्वरमा मात्र होइन, स्टेनेवल स्यानिटेशनले उपत्यकाका ६ स्थानमा स्मार्ट शौचालय निर्माण गरेको छ। काठमाडौंको बानेश्वर, स्वयम्भु, विष्णुमती रामघाट, त्रिपुरेश्वरमा आधुनिक शौचालय निर्माण गरिएको हो। परोपकारमा बन्दै छ। ललितपुरको मंगलबजार र पाटनढोकामा पनि स्मार्ट शौचालय छ।

शौचालय प्रयोग गर्दा १० रुपैँया तिर्नुपर्छ। स्नान सित्तैमा गर्न पाइन्छ। २ रुपैँयाको ३ वटा सिक्का (६ रुपैँया) हाल्दा मेसिनले एउटा सेनेटरी प्याड फ्याटै दिन्छ। शौचालयबाट फर्केरपछि मेसिनले नै हात सुकाइन्छ। शौचालयको मलमुत्र खोलामा मिसाइँदैन। बायो ग्याँसको प्लानमा पठाइन्छ। जहाँबाट चिया पकाएर सित्तैमा चिया खुवाइन्छ। ‘सार्वजनिक स्थानका शौचालयमा प्याड व्यवस्थानकै चुनौति छ। सबै ठाउँमा व्यवस्थान गर्ने मेसिन छैन। ट्वाइलेटमै फालिन्छ। प्यानमा गएर जाम हुन्छ। यो समस्यालाई हामीले मेसिन जडान गरेर व्यवस्थान गरेका छौं,’स्टेनेवल स्यानिटेशनका कार्यकारी प्रमुख प्रकाश आमात्य भन्छन्,‘ स्मार्ट शौचालय प्रयोग गरेर हेर्नुस्, तपाईंको सोच पक्कै फेरिदिन्छ। अब त साँच्चिकै राम्रो हुँदै गएको भान गराइदिन्छ।’ शौचालय प्रयोग अब सेवामा रुपान्तरित हुँदै गएको उनले बताए।

खेर जाने आकाशै पानीलाई शौचालयको छतमा जग्गामा गरिन्छ। आवश्यकता अनुसार प्रयोगमा ल्याइन्छ। यसका लागि १५ हजार लिटरको ट्यांकी राखिएको छ। पुरुष, महिला र अपाङ्गता भएका व्यक्तिका लागि छुट्टा-छुट्टै शौचालय छ।‘धनीमनी मान्छे होटलको शौचालयमा जान्छ। व्यस्त सहरमा बटुवाहरु कहाँ जाने? समस्या हुने गर्छ,’ फोहर मैला व्यवस्थान संघ नेपालका पूर्व अध्यक्ष बासुदेव उप्रेती भन्छन्, ‘जनस्वास्थ्यमा यस्ता शौचालय निर्माणले सकारात्मक प्रभाव पार्छ।’ देशैभरिका सार्वजनिक स्थानमा अभियानकै रुपमा शौचालय निर्माण गरिनुपर्ने उनी बताउँछन्।

शौचालय निर्माणभन्दा व्यवस्थानकै चुनौति छ। स्मार्ट शौचालय व्यवस्थान गर्न स्वाभिमान सरसफाइ सहकारीलाई दिएको छ। सहकारीले शुःल्क उठाउँदै दैनिक सरसफाई गर्ने प्रबन्ध मिलाएको छ। स्मार्ट शौचालय व्यवस्थानका लागि तीन जना खटाइएको छ। उनीहरुको मासिक तलब १५ हजार छ।

विहान ६ बजेदेखि ८ बजे रातिसम्म शौचालय खुल्छ। मेयर शाक्यले काठमाडौंका सबै स्थानहरुमा स्मार्ट शौचालय व्यवस्थान गर्दै जाने बताउँछन्। ‘दीगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरणमा हामी प्रतिबद्ध छौं,’ उनी भन्छन्,

‘सहरमा सार्वजनिक शौचालय चाहिन्छ भन्ने माग छ। तर आफ्नो नजिक नबनाइदिनु भन्ने शर्त हुन्छ। त्यसैले हामीले काम गर्दा विवाद आउला कि, काम रोकिएला कि भनेर डराउनुपर्छ।’ घना बस्तीबीच कसैलाई असर नहुने शौचालय निमार्ण गरेको उनी बताउँछन्।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार