• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

ई-पासपोको सफल कार्यान्वय हुँदै


काठमाडौं: गोरखाकी सन्सीला भट्टले दुई दिनमै ई-पासपोर्ट पाइन्। उनी पढ्नलाई विदेश जाने तयारीमा छिन्। ‘दुई दिनमै ई-पास्पोर्ट पाएँ। सेवा डिजिटल भयो। सजिलो त कति सजिलो भयो, ’ उनले भनिन्। काठमाडौंस्थित राहदानी विभागबाट उनी विद्युतीय राहदानी लिँदै खुसी हुँदै फर्किइन्। उनी मात्रै होइनन्, तीन महिनाको अवधिमा झण्डै ४५ हजारलाई विद्युतीय राहदानी वितरण गरिएको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए।

गत मंसिर १ गते संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो ई-पासपोर्ट दिँदै सेवा सुरु गरिएको थियो। विद्युतीय राहदानीको अभ्यास सफल बन्दै गएको विभागले जनाएको छ। विभागले दैनिक १२ सय वटा विद्युतीय राहदानी जारी गर्ने गरेको छ। तर, माग २ हजार ५ सयभन्दा बढी छ।विभागमा पासपोर्ट छपाइ गर्न तीनवटा मेसिन जडान छन्। जहाँबाट दैनिक ६ हजार ई-पासपोर्ट छपाइ गर्ने अवस्था छ। सेवाग्राहीलाई सेवा दिन विभागका कर्मचारीहरु विहान ७ बजेदेखि साँझको ७ बजेसम्म सेवा दिन खटिएको देखिन्छ। तर, जनशक्ति अभावले माग अनुसारका पासपोर्ट छाप्न सकिएको छैन।विभागले ३९ जिल्लाको ४५ स्थानबाट ई-पास्पोटका लागि अनलाइन आवेदन लिएर राहदानी वितरण गरिहरेको छ। ६ वटा इलाका प्रशासन कार्यालयबाट पनि सेवाग्राही सेवा लिइरहेका छन्। विदेशस्थित दूतावास र नियोगबाट पनि विभागले ई-पास्पोट उपलब्ध गराइएको छ। देशबाहिर कतार, मलेसिया, साउदी अरबको रियादस्थित नेपाली राजदूतावासबाट र साउदीको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासबाट ई-पासपोर्ट वितरण सुरु भएको छ। रियाद र जेद्दाबाट बिहीबारदेखि सुरु भएको छ।

सबै जिल्ला र विदेशस्थित दूतावास र महावाणिज्य दूतावासमार्फत् सेवा प्रदान गर्न प्राविधक टोली खटिएका छन्। ‘अबको १५ दिनभित्र ७७ वटै जिल्लाबाट सेवा प्रदान गर्छौं। देशबाहिर रहेका नेपाली नागरिकलाई हाम्रो सबै निकायहरुबाट एक साताभित्रै ई-पासपोर्ट प्रदान गर्ने तयारीमा छौं,’ महानिर्देशक अर्याल भन्छन्,‘धेरै जनसंख्या भएको जिल्लामा हामी सेवा पुर्‍याइसकेका छौं। देशको ७५ प्रतिशत जनसंख्या भएको ठाउँमा ई-पासपोर्ट दिन थालेका छौं।’पहिलाभन्दा अहिले राहदानी वितरण धेरै सहज भएको उनले सुनाए। दुर्गम जिल्लामा द्रूत इन्टरनेट नहुँदा सेवा प्रदान गर्न भने कठिनाई भइरहेको छ। पहिलेभन्दा अहिले राहदानी लिने व्यक्तिको संख्या बढेको विभागले जनाएको छ। विद्यार्थीहरुको अहिले विदेश पढ्न जाने सजन हो। विदेशमा रोजगारी पनि खुलेकोले ई-पासपोर्ट लिनेको स्ंख्या बढेको छ।

विभागबाट राहदानी लिन चाहनेलाई दुई दिनमै राहदानी पाउँछन्। उनीहरुले १२ हजार रुपैँया राजस्व तिर्नुपर्छ। जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमार्फत् ५ हजार भए पुग्छ। जिल्लामा सात दिनभित्र पाउँछन्।‘जिल्लामा यति छिटो सेवा पुग्छ भन्ने विश्वास थिएन। एमआरपीको प्रक्रिया झन्झटिलो थियो। अहिले जिल्लाबाट फर्म प्रमाणित गरेपछि विभागबाट तुरुन्तै पासपोर्ट प्रिन्टी हुन्छ,’ माहानिर्देशक आर्याल भन्छन्, ‘यो सबैभन्दा आधुनिक र विश्वासिलो राहदानी हो। जहाँ व्यक्तिकै सबै विवरण चिप्समा राखिएको छ।’

विगतमा वार्षिक करिब पाँच लाखले एमआरपी लिने गरेका थिए। अब त्यो संख्या बढ्ने विभागले अनुमान गरेको छ। आइडिइएमआइए आइडेन्टिटी एन्ड सेक्युरिटी कम्पनीले पासपोर्ट छपाइको जिम्मा लिएको छ। उसले २० लाख थान ई-पासपोर्ट छाप्ने ठेक्का पाएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन २ गते सोमवार