• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

प्रेम आलेदेखि रामकुमारी झाँक्रीसम्म : देउवाको क्याबिनेटमा विवादित मन्त्रीको लर्को


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा ११ औं वरियतामा छन् । हाल कायम २३ जनाको मन्त्रिपरिषद् सदस्यमध्ये आले जति चर्चित छन् उनी विवादको केन्द्रमा त्यो भन्दा बढी छन् ।केपी ओली नेतृत्वको अघिल्लो सरकारमा रहँदा आफ्नै अभिव्यक्ति र काठ तस्करीसम्बन्धी पुरानो मुद्दाका कारण चर्चामा रहेका आले देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीको तर्फबाट मन्त्री बन्दा विवाद भन्दा चर्चाको पात्र बने ।

नारायणहिटी दरबार संग्राहलयमा बतास समूहलाई ठेगान लगाउनेदेखि विमानस्थलको सुधार र डुब्न लागेको नेपाल एयरलाइन्सलाई नै गति दिनका लागि पहल थालेपछि एकाएक चर्चाको पात्र बन्न पुगेका हुन् ।

यस्तै रोयल्टी नतिर्ने क्यासिनोलाई कारबाही, पर्यटन क्षेत्रमा अनियमित तरिकाले हत्याइएका ठेक्का पट्टामा निगरानी र एक्सनलगायतका कार्यले उनको विवादित छवि लगभग सबैले बिर्सिसकेका थिए । तर आलेको सार्वजनिक पछिल्लो अडियो क्लिपले भने उनी फेरि विवादको भूमरीमा परेका छन् ।भारतमा बस्दै आएका जगत ओलीसँगको संवादमा मन्त्री ओलेले उनलाई अमाचकारी गाली गर्दै अपहरणको धम्की समेत दिएका छन् । संवादका क्रममा मन्त्री ओलेले तपाईँ कहाँ हुनुहुुन्छ भनेर ओलीलाई प्रश्न गरेका छन् । जवाफमा ओलीले आफू भारतमा भएको बताएपछि मन्त्री आलेले आफ्नोबारे नराम्रो कमेन्ट गरेको भन्दै असन्तुष्टि पोखेका छन् । त्यसपछि ओलीले मन्त्रीका लागि आलेले पार्टीकै बदलेको भन्दै उनीबाट यस्तो आश नगरेको बताएसँगै एकाएक आले जंगिँदै असभ्य भाषाको प्रयोग गर्दै अमाचकारी गाली गरेको सुनिन्छ (जुन संवाद यहाँ उल्लेख गर्न सकिएन) ।

सो क्रममा ओलेले ओलीलाई बसिरहेको ठाउँबाटै अपहरण गर्नेसम्मको धम्की दिएको अडियो क्लिपमा सुन्न सकिन्छ । २ मिनेट २५ सेकेण्ड लामो सो असभ्य संवादसहितको अडियो मंगलबार रातिको भएको ओलीको दावी छ । आफूले आलेको आमचकारी गालीको भिडियो भाइरल बनाइदिने भनेपछि करिब १३ सेकेण्ड आलेले सार्वजनिक नगरिदिन निकै अनुनय विनय गरेको ओलीले दावी गरेका छन् ।यो अडियो क्लिप सार्वजनिक भएपछि मन्त्री आलेको चौतर्फी आलोचना भइरहेको छ भने उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठेको छ । तर, ओलेको सचिवालयले भने तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको जिकिर गरेको छ ।

निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्ने काम भएको भन्दै आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले बचाउ गरेका छन् ।मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजेको उनको जिकिर छ ।यो त पछिल्लो उदाहरणमात्रै हो, शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्का यस्तै विवादित मन्त्रीहरुको सूची अरु पनि छ । हालकी सहरी विकासमन्त्री रामकुमारी झाँक्री पनि यस्तै विवादमा परेकी मन्त्री हुन् ।

उनी आफ्नै हर्कत र अभिव्यक्तिका कारण पदक पटक विवादमा तानिँदै आएकी छन् । २०७४ सालको निर्वाचनपछि उनले गुल्मीका एक शिक्षकलाई धम्क्याएको अडियो भाइरल भएको थियो । गुल्मीका ती शिक्षकलाई भोजराज सरको घर नजिक नआए खुट्टा भाँचिदिने भन्दै धम्की दिएकी थिइन् ।यस्तै विगतमा पिर्के सलामीको विरोध गर्ने उनले मन्त्री बनेपछि आफैले सलामी लिँदा आलोचनाको पात्र बनिन् भने राष्ट्रपतिबारे अशोभनीय टिप्पणी गर्दा पक्राउ नै परिन् । गतवर्षको माघ अन्तिमतिर राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर एमाले अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गर्दै उजुरी दिएपछि उनी पक्राउ परेकी थिइन् । तीव्र दवाव र प्रदर्शनपछि उनी सोही दिन छुटेकी थिइन् । अहिले पनि आफ्नो बेलगाम अभिव्यक्तिले उनी विवादमा तानिने क्रम रोकिएको छैन ।यसैगरी जसपाकी नेतृ रेणु यादव पनि देउवा सरकारका अर्को विवादित मन्त्री बनेकी छन् । उनले बलिदान दिवसका दिन मधेसमा आयोजित कार्यक्रमलाई सीके राउतको हत्या गर्ने धम्की दिएपछि विवादमा तानिइन् ।

उनले आफूहरुसँग टकराए राउत मारिने सक्ने धम्की दिएकी थिइन् । उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी पनि दिएकी थिइन् । सम्बोधनका क्रममा पटकपटक राइस मिल घटना नबिर्सन आग्रह गर्दै उनले भनेकी थिइन्, ‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर । लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’बलिदानी दिवसमा हिंसा नगर्ने भन्दै उनले भनेकी थिइन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साबलाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’

यो प्रकरणमा उनलाई मन्त्रीबाट बर्खास्त गर्न तीव्र दवाव बढेको थियो भने प्रहरीमा उजरी समेत परेको थियो ।

यसैगरी देउवा सरकारका अर्का विवादित पात्र श्रममन्त्री कृष्ण कुमार श्रेष्ठ (किसन श्रेष्ठ) पनि हुन् । उनी तत्कालीन संघीय समाजवादी फोरमका नेता सुरेन्द्र चौधरीको अपहरण प्रकरणमा मुछिएका थिए ।

उपेन्द्र यादव नेतृत्वको समाजवादी फुटाउने प्रयोजनका लागि एमाले नेतृत्वको निर्देशनमा श्रेष्ठसहित एमाले नेता महेश बस्नेत र पूर्वआईजीपी सर्वोन्द्र खनालसमेतले उनलाई मधेसबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको थियो । गम्भीर अभियोगमा मुछिएका उनीबारे छानबिन भएन बरु देउवाले पनि मन्त्री बनाए ।उसो त देउवाले अर्का विवादित पात्र गजेन्द्र हमाललाई पनि उद्योग मन्त्री बनाए। गत असोजमा हमाल मन्त्री बनेपछि चौतर्फी आलोचना भएपछि उनी राजीनामा दिन बाध्य भए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट उनी मन्त्री बनेको खुलासा भएपछि उनी राजीनामा दिन बाध्य भए ।


सोही प्रकरणपछि न्यायालयमा आन्दोलनको ठूलो आँधीबेहरी सिर्जना भयो भने यो विषयले अहिलेसम्म टुंगो लागेको छैन । आइतबार मात्रै सत्तारुढ दलका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् ।

सरकारमा रहेका मन्त्रीहरु सुशासनका मामिलामा स्पष्ट र नैतिक आचारणमा समेत सफा हुनुपर्ने भएपनि विवादित विगत र वर्तमान समेत रहेका व्यक्तिहरु हुनुले कस्तो जनस्तरमा कस्तो सन्देश जाला ? सोचनीय विषय बनेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार