• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

विभाजनको संघारमा जसपा : कुर्सी काण्डले बढाएको थियो उपेन्द्र र बाबुरामको दुरी


गत भदौमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवका लागि छुट्टै कुर्सी राखिएको थियो भने अरुका लागि सामान्य । त्यही विषयलाई लिएर भएको नाराबाजीमा डा. बाबुराम भट्टराईका पारिवारिक सदस्यहरु सहभागी भएपछि दुई नेताको दूरी बढ्दै गएको थियो ।काठमाडौं । जनता समाजवादी पार्टीको विवाद निर्णायक चरणमा पुगेको छ । पर्सि शुक्रबार बोलाएको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादव कार्यकारी अधिकार बाँडफाँड गर्न तयार नभए पार्टी विभाजन हुनसक्ने नेताहरु बताउँछन् ।

अध्यक्ष यादवले लामो समयसम्म पार्टीको बैठक नबोलाएपछि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको थियो । उनीहरुको माग केन्द्रीय समिति बैठक बोलाउनुपर्ने छ । तर अध्यक्ष यादवले १३ फागुनमा कार्यकारिणी समितिको मात्र बैठक बोलाएका छन् ।जसपामा ५०७ सदस्यीय केन्द्रीय समिति छ भने ३४ सदस्यीय कार्यकारिणी समिति छ ।
बहुमत जुटाउने कसरत
पछिल्लो समय जसपाभित्र संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष यादवबीच बहुमत जुटाउने प्रतिस्पर्धा चलिरहेको छ । पार्टीको आन्तरिक समीकरणलाई अमेरिकी सहयोग परियोजना एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावजस्ता मुद्दाले पनि मलजल गरिरहेको छ ।भट्टराई पक्ष एमसीसीको पक्षमा खुलेर लागेको छ भने यादव पक्ष खुलेको छैन । यसबीचमा विकास हुने सत्ता समीकरणले पनि जसपाभित्रको विवाद प्रभावित हुने देखिन्छ । यही राजनीतिक तरलताको बीचमा डा. भट्टराई बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर संकलनमा लागेका छन् ।

भट्टराईले पार्टी फुटाउन हस्ताक्षर संकलन गरेको यादव पक्षको बुझाइ छ । जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादव र भ्रातृ संगठन समाजवादी युवा संघका अध्यक्ष योगेन्द्र राय यादवले सामाजिक सञ्जालमै त्यही आरोप लगाएका छन् ।भट्टराई पक्षीय एक कार्यकारिणी सदस्य पार्टी फुटाउन नभई केन्द्रीय समितिको बैठक बोलाउन विधानले दिएको अधिकार प्रयोग गर्दै हस्ताक्षर संकलन गरिरहेको जिकिर गर्छन् ।
जसपाको विधानमा एक तिहाइ केन्द्रीय सदस्यले माग गरेमा केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने व्यवस्था छ । ‘अहिले हामी केन्द्रीय समितिको बैठक बोलाउन हस्ताक्षर संकलन गरिरहेका छौं,’ जसपाका अर्का केन्द्रीय कार्यकारिणी सदस्यले भने, ‘यदि अध्यक्ष यादव बैठक बोलाउन र अधिकार बाँडफाँड गर्दै पार्टीलाई पार्टीकै रुपमा चलाउन तयार भएनन् भने विभाजन उहाँले सिर्जना गरिदिएको बाध्यता हुनेछ, यो हस्ताक्षर विभाजनको लागि पनि प्रयोग हुनसक्छ ।’अध्यक्ष यादवले माग सुनुवाई नगरे बैठक बोलाउन संकलन गरेको हस्ताक्षर पार्टी विभाजनको लागि उपयोग हुनसक्ने ती नेता स्वीकार्छन् ।जसपा नेता मनिष सुमन भने अहिलेको अवस्थामा पार्टी फुटाउने ‘कुकृत्य’ कतैबाट पनि हुन नहुने बताउँछन् । पार्टी बैठक समयमै हुन नसक्नु गलत भए पनि विभाजनसम्म पुग्नुपर्ने विवाद पार्टीमा नरहेको उनको दावी छ ।

भट्टराईको दुई रणनीति
संघीय परिषद् अध्यक्ष भट्टराई अध्यक्ष यादवमा केन्द्रित भएको अधिकार केही न केही बाँडफाँड हुनुपर्ने र मनोमानी ढंगले पार्टी चल्न नहुने पक्षमा देखिएका छन् ।‘विभाजन उहाँको पहिलो प्राथमिकता होइन, तर अध्यक्ष यादव आगामी चुनावहरुमा उम्मेदवार निर्णय गर्ने अधिकार पनि अरुलाई दिने पक्षमा देखिएनन्,’ हालसालै भट्टराईलाई भेटेका एक नेताले भने, ‘अब उहाँ सके पार्टी कब्जा गर्ने, नसके विभाजन गर्ने निष्कर्षमा पुग्नु भएको मलाई लाग्यो ।’आफ्नो योजनालाई सफल बनाउन पछिल्लो समय भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवासँग नजिक देखिएका छन् । दुवै नेता एमसीसीलाई जसरी पनि संसदबाट अनुमोदन गर्नुपर्ने अडानमा रहेकाले पनि सम्बन्ध नजिकिएको हो ।

जसपा स्रोतका अनुसार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार भट्टराईलाई भेटेका थिए । कार्कीसँगको छलफलपछि भट्टराईले ट्वीट गर्दै गठबन्धनका सबै दल एमसीसीको पक्षमा मतदान गर्न तयार नभए नयाँ समीकरण बन्नुपर्ने तर्क राखेका छन् ।पार्टीभित्र बहुमत पुर्‍याउन नसकेको अवस्थामा विभाजनको बाटो रोज्न स्थानीय निर्वाचनको घोषणा भइसकेको अवस्थामा डा. भट्टराई पक्षलाई केही प्रतिकूलता छन् ।‘पार्टी विभाजनको निर्णय लिनुपरे नयाँ दर्ता गरिएको लोकतान्त्रिक समावेशी पार्टीदेखि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग एकतासम्मको विकल्पमा काम गरिरहेका छौं,’ जसपाका एक कार्यकारिणी सदस्यले भने ।

प्रचण्डसँग नजिकिँदै यादव
केही समयअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा. भट्टराईबीच समाजवादी केन्द्र बनाउने योजनाका साथ बाक्लो भेटघाट हुन्थ्यो । पछिल्लो समय प्रचण्ड र यादवबीच भेटघाट बाक्लिएपछि भट्टराई प्रचण्डसँग टाढिएका छन् ।‘प्रचण्डले जसपाभित्र खेलिरहेका छन्, पार्टीभित्र पूर्वमाओवादी खेमाका नेताहरुलाई अप्ठ्यारोमा पार्न उहाँले भूमिका खेलिरहनुभएको छ,’ भट्टराई नजिक रहेका एक नेताले भने ।गत फागुन १ गते मधेश प्रदेशले जनयुद्ध दिवस मनायो र उक्त दिन प्रदेशभरि सार्वजनिक विदा पनि दियो । माओवादी केन्द्रकै नेतृत्वमा रहेका प्रदेश सरकारहरुले पनि जनयुद्ध दिवस मनाएनन् ।

मधेश प्रदेशमा फागुन १ गते आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि थिए माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । जनयुद्ध दिवसमा सार्वजनिक विदा दिँदै एक भव्य कार्यक्रम आयोजना गरेर जसपा नेतृत्वमा रहेको प्रदेश सरकारले प्रचण्डलाई प्रमुख अतिथि बनाउनुलाई जसपाकै नेताहरु अर्थपूर्ण मान्छन् ।यसले पछिल्लो समय अध्यक्ष यादव र प्रचण्डबीच नजिकिएको सम्बन्धलाई संकेत गर्ने उनीहरुको बुझाइ छ ।

कुर्सी काण्डले बढाएको दूरी
जसपा नेताहरुका अनुसार एक्लै पार्टी चलाउने र आक्कलझुक्कल मात्र आयोजना हुने बैठक केवल कर्मकाण्डमा सीमित राख्ने अध्यक्ष यादवको शैली नयाँ होइन । यसले अध्यक्षद्वयबीचको सम्बन्धमा चिसो बढिरहेको थियो ।यहीबीच गत भदौको १, २ र ३ गते काठमाडौंमा बसेको जसपाको केन्द्रीय समिति बैठकमा भट्टराई पक्षीय युवा नेताहरुले अध्यक्ष उपेन्द्र यादवमाथि नाराबाजी गरे ।असन्तुष्टिको विषय थियो, मञ्चमा राखिएको कुर्सी । बैठकमा अध्यक्ष यादवका लागि छुट्टै कुर्सी राखिएको थियो भने अरुका लागि सामान्य । त्यही विषयलाई लिएर भएको नाराबाजीमा भट्टराईका पारिवारिक सदस्यहरु सहभागी भएपछि दुई नेताको दूरी बढ्दै गयो ।

‘मेरोविरुद्ध परिवारकै सदस्यहरुलाई नाराबाजीमा उतार्ने, त्यो पनि बैठकमा,’ यादवले आक्रोशपूर्वक उक्त बैठकको सन्दर्भ उप्काएर पछिसम्म आफ्ना निकटका नेताहरुसँग आक्रोश पोख्ने गर्दथे ।नेताहरुका अनुसार त्यो घटना हुनुअघिसम्म अध्यक्ष यादवले पार्टीको प्रथम वरियतामा रहेका भट्टराईसँग सामान्य सल्लाह गरेर निर्णय लिन्थे । तर कुर्सी विवादमा नाराबाजीसँगै नेताद्वयबीच दूरी बढ्न थाल्यो । उक्त विवाद उत्कर्षमा पुगेर पार्टी विभाजनको स्वरुप लिन लागेको जसपाका नेताहरु स्वीकार्छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार