• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमसीसी पास गर्न एमालेको माग पूरा गर्नुपर्ने अवस्था आयो : रामचन्द्र पौडेल


नेपालीकांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी अनुमोदन गर्नकै लागि प्रचण्ड-माधव नेपालसँग गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्नुपर्ने अवस्था आएको बताएका छन् । गृहजिल्ला तनहुँ पुगेर पौडेलले राष्ट्रको अवसर गुमाउने पार्टीहरूसँग टाँसिएर बस्न नसकिने प्रस्टीकरण दिएका छन् । तनहुँमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने, ‘राष्ट्रको

महत्त्वपूर्ण अवसर गुमाइदिने तर तपाईंहरू (प्रचण्ड-माधव नेपाल)सँग टाँसिएर बस्नुपर्ने कसरी हुन सक्छ ?’एमसीसी संसदबाट पास गराउने निर्णय एमाले अध्यक्ष केपी ओलीले गरेको र उनी एमसीसीबाट भाग्न नमिल्ने पौडेलले बताए ।कांग्रेस र एमालेका नेताहरूबीच भएको संवादबारे जानकारी गराउँदै पौडेलले भने, ‘प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री हुँदा वासिङ्टन गएर एमसीसीमा प्रतिबद्धता जनाएर आउनुभएको छ । तपाईंहरूले पटक-पटक सहमति पनि गर्नुभएको छ । एमसीसीबाट कसरी भाग्न मिल्छ भनेर एमालेलाई भनेका छौं ।’केपी ओलीले एमसीसीमा सहयोग गर्ने तर, त्यसका लागि संसदमा उपस्थित हुने वातावरण बनाइदिनुपर्ने भनेको पौडेलले बताए ।

‘एमसीसीको विरोध गर्दिन, सहयोग गर्छु तर, संसदमा हामी उपस्थित हुने वातावरण नै छैन भनेर ओलीले भनेका छन्,’ तनहुँमा पौडेलले भने, ‘संसदमा एमसीसीको पक्षमा बोल्नको लागि विषयमा प्रवेश गर्ने ठाउँ नै मलाई भएन भन्ने एमालेको कुरो छ । संसदमा उभिएर समर्थन गर्ने ठाउँ बनाइदेउ, म उभिएर समर्थन गर्दिन्छु भनेर केपी ओलीले भनेका छन् ।’एमालेले कारबाही गरेको भनेको एकीकृत समाजवादीका १४ जना सांसदको कारबाही सदर हुनुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग राखेर संसद अवरोध गरिरहेको छ ।

सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको समर्थन लिएर एमसीसी पास गर्ने कि केपी ओलीलाई ठाउँ बनाइदिएर एमसीसी पास गर्ने भन्ने निर्णय गर्ने गर्नुपर्ने अन्तिम अवस्थामा कांग्रेस रहेको र यो परिस्थिति प्रचण्ड र नेपाललाई जानकारी पनि गराएको पौडेलले बताए । हामीले केपी ओलीको माग पूरा गर्ने कि एमसीसीको माग पूरा गर्ने दुई मध्ये एक गर्नुपर्ने भयो भनेर प्रचण्ड, माधव नेपाल, झलनाथ सबैलाई भनेको छु,’ पौडेलले भने । एमसीसी अनुमोदन गर्नकै लागि गठबन्धन भत्काउनुपर्ने अवस्था आएको पौडेलले बताएका छन् ।

‘एमसीसी फेल गर्न हुँदैन पास गर्नुपर्छ भन्ने कांग्रेसको धारणा छ । यो परिस्थितिमा प्रचण्ड र माधव नेपालले सपोर्ट गर्ने होइनन्, असहयोग गर्ने र विफल पार्न लाग्ने हो भने यसलाई सफल पार्न लाग्ने हो भने अर्को उपाय सोच्नुपर्‍यो । त्यो भनेको केपी ओलीको माग पूरा गर्नुपर्ने हुन्छ,’ पौडेलले भने, ‘केपी ओलीको माग पूरा गर्नुपर्ने अवस्थामा जाने नपार भनेर भनेका छौं ।’
एमसीसी अमेरिकाले नेपाललाई उपहार दिएको पनि पौडेलले बताए ।

‘एमसीसी अमेरिकी जनताको नेपाली जनतालाई उपहार हो,’ पौडेलले भने, ‘अविकसित मुलुकमा जब गरीबी बढ्छ, भोका नाङ्गा हुन्छन्, तब हिंसाको परिस्थिति बन्छ । आतंकवादले जन्म लिन सक्छ । त्यतापट्टि नजाउन भन्नको लागि गरिबी उन्मूलन हुनुपर्‍यो ।’ अमेरिकाले अनुदानमा सहयोग दिएको तर, चीनले यस्तो सहयोग नदिने पनि पौडेलले बताए ।

‘अमेरिकाले अनुदान दिएको छ । ऋण पनि होइन । चीनले रेल ल्याइदिने भनेको छ तर, हामीले ऋण लिनुपर्ने । त्यो रेलले ऋण तिर्न सक्दैन अनि श्रीलंकाको बन्दरगाहको हालत हुन्छ,’ पौडेलले भने ।

प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार