• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

माओवादीभित्र नारायणकाजीको आक्रामक ‘मुभ’, जसले प्रचण्डलाई झस्कायो


श्रेष्ठ निकट एक केन्द्रीय सदस्यले पार्टी विभाजनभन्दा पनि नेतृत्वलाई खबरदारी गर्दै सच्याउने दिशातिर अघि बढ्न अधिकांश सुझाव आएको बताए।काठमाडौं: अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्ता घटक नेकपा माओवादी केन्द्र विभाजनको संघारमा पुगेको छ। सम्झौता अनुमोदनलाई राष्ट्रघात भन्दै असन्तुष्ट समूहले पार्टीबाट अलग हुन पार्टी पंक्तिमा छलफल चलाएको छ। आठौं महाधिवेशनको ‘एकताबद्ध पार्टी’ म्याण्डेट विपरीत अधुरो (२९९ सदस्यीयमा २४६ जना) केन्द्रीय समितिले पूर्णता नपाउँदै र पदाधिकारी चयन नहुँदै चुनावको मुखैमा पार्टी फेरि विभाजनको दिशातिर गएपछि नेता कार्यकर्ता चिन्तित बनेका छन्।

विगतमा वैचारिक/राजनीतिक कार्यदिशा, सामाजिक क्रान्ति, साम्यवाद र गुटगत कारणले पटक-पटक फुटेको माओवादी अहिले फेरि एमसीसीमा नेतृत्वले लिएको निर्णयले संकटमा परेको हो। असन्तुष्ट समूहको नेतृत्व गर्दै नेता नारायणकाजी श्रेष्ठले पार्टीमा छलफल र परामर्श तीव्र पारेपछि मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हात्तीवन पुगे। श्रेष्ठ निवासमा प्रचण्डले एमसीसीमा जे-जे मतभेद भए पनि अब पार्टीलाई एकताबद्ध गरेर लानुपर्नेमा जोड दिए। नारायणकाजीले पनि ‘तपाईंले निस्केर जा भनेपछि सोच्न बाध्य भएँ’ भनेर जवाफ दिए।नारायणकाजीको भनाइमा प्रचण्डसँग उनको कुरा मिलेको छैन। नेतृत्व र पार्टीभित्रको छलफललाई निरन्तरता दिने जवाफ उनले अध्यक्षलाई दिएका छन्। दुबै आ-आफ्नो तर्फबाट समीक्षा गर्ने भनेर छुट्टिए। बुधबार पनि अध्यक्ष प्रचण्डले पार्टी जोगाउन दौडधुप थालेका छन्। उनले असन्तुष्ट नेताहरुसँग परामर्श थालेका छन्। प्रधानमन्त्री एवं सत्ता गठबन्धनका नेता शेरबहादुर देउवालाई समेत यस विषयमा जानकारी गराएका छन्।प्रचण्डको अभिव्यक्तिले आगोमा घिउ थप्ने काम गर्‍यो। नारायणकाजीले आक्रामकरुपमा मुभ लिए। देशभर विभिन्न केन्द्रीय सदस्यसँग कुराकानी गरे। जसले प्रचण्डलाई झस्कायो। गम्भीर बनायो। हल्कारुपमा लिएर नारायणकाजीलाई जवाफ दिँदा उनलाई सोच्न बाध्य पार्‍यो।

विवादको पृष्ठभूमि
पछिल्ला वर्षहरुमा माओवादीको नेतृत्वदेखि तल्लो तहसम्मले एमसीसी राष्ट्रघाती भन्ने भाष्य तयार पार्‍यो। पटक-पटक खारेज गर्नुपर्ने भनेर आन्दोलन नै गर्‍यो। संसदमा टेबल भइसकेपछि पनि विपक्षमा मतदान गर्ने, सरकार छोड्नेसम्मको निर्णय गरियो। भ्रातृ संगठनले सडकमा टायर बाल्नेदेखि बिरुवा उखेल्नेसम्म आक्रामक प्रदर्शन गरे। तर अन्तिम समयमा व्याख्यात्मक घोषणाका नाममा नेतृत्वले सम्झौता अनुमोदनको निर्णय गरेपछि पार्टीभित्र आक्रोश बढ्यो। आक्रोशलाई लिड गर्ने नेतृत्व चाहिएको थियो। पार्टीभित्र अन्य विषयमा पनि असन्तुष्ट रहँदै आएका नारायणकाजी श्रेष्ठ यसमा ‘मुभ’ भए।

पार्टीले अनुमोदनको निर्णय गर्दा नै महाधिवेशनको ‘स्पिरिट’ विपरीत भन्दै गम्भीर असहमति राखेका श्रेष्ठले पार्टीकै सहयोगमा संसदबाट अनुमोदन भएपछि ‘राष्ट्रघाती सम्झौता अनुमोदनलाई कालो दिनको रुपमा लिनुपर्ने’ भनेर कडा टिप्पणी गरे। एमसीसीमा उठेको राष्ट्रियताको सबालका साथै पार्टीको आन्तरिक राजनीतिका अन्य विषय समेटेर श्रेष्ठले विभाजनसम्मको आधार तयार पारे। अब पनि नेतृत्व नसच्चिने हो भने अघि बढ्ने मनस्थिति बनाएर पार्टीमा छलफल थाले।यसको सुरुवात उनले असन्तुष्टहरुबाट गरे। गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, शशी श्रेष्ठ, रेखा शर्मा, जयपुरी घर्ती, यशोदा गुरुङ, अञ्जना विशुंखे, कृष्णबहादुर महरालगायतले आक्रामकरुपमा धारणा राखे। छलफलमा सहभागी एक सांसदका अनुसार यीमध्ये केहीले तत्कालै अलग भएर नयाँ ढंगले जानुपर्ने धारणा राखेका थिए। त्यसपछि श्रेष्ठले प्रमुख सचेतक देव गुरुङलगायत देशभरका केन्द्रीय सदस्यहरुसँग छलफल चलाएका थिए।

छलफलबारे जानकार श्रेष्ठ निकट एक केन्द्रीय सदस्यले पार्टी विभाजनभन्दा पनि नेतृत्वलाई खबरदारी गर्दै सच्याउने दिशातिर अघि बढ्न अधिकांश सुझाव आएको बताए। ‘एकातिर अहिले नै त्यो (विभाजन)को निर्णयमा नपुग्न कमरेड प्रकाशलाई बलियो सुझाव आयो भने अर्को अध्यक्ष प्रचण्डलाई पनि फुट्न नदिन पहल गर्न दबाब सिर्जना भयो,’ उनले अन्नपूर्णसँग भने, ‘त्यसैको परिणाम हो हिजो कमरेड प्रकाश र अध्यक्ष प्रचण्डको भेटघाट। भेटले तत्काल दुर्घटना टरेको महसुस गरेका छौं।’उनका अनुसार नारायणकाजीले एमसीसीको असन्तुष्टिमा पार्टीभित्र समानान्तर छलफल चलाएको सूचना खुमलटार पुगेपछि प्रचण्डले आक्रामक अभिव्यक्ति दिएका थिए। ‘आफूमाथि उठेका प्रश्नलाई बेवास्ता गर्ने, आलोचना गर्नेमाथि इगो राख्ने र बोल्दा आवेशमा आउने अध्यक्ष कमरेडको खराब बानी हो,’ उनी भन्छन्, ‘त्यो दिन पनि उहाँ एकदमै आवेगमा आउनुभयो। विभाजनको रेखा कोरिनेगरी त्यो कुरा बोल्न हुन्थेन।’

प्रचण्डले नारायणकाजीको नामै किटेर राष्ट्रवादको नारा लाउँदैमा सबै नेता कार्यकर्ताले साथ नदिने र महाकाली सन्धिमा वामदेव गौतमले जसरी पार्टी छोडेर गए आफूले नरोक्ने अभिव्यक्ति दिएका थिए। असन्तुष्ट नेताहरु यो भड्काउ अभिव्यक्तिले वातावरण थप विगार्ने बताउँछन्। नेता गिरिराजमणि पोखरेल पार्टी अध्यक्ष प्रचण्डको मात्रै नभएको र मतभेद राख्ने अधिकार सबैलाई भएको बताउँछन्। पार्टी जोगाउन र गतिशील बनाउन अध्यक्षले आत्मसमीक्षा गर्नुपर्ने उनको धारणा छ।हुन पनि प्रचण्डको अभिव्यक्तिले आगोमा घिउ थप्ने काम गर्‍यो। नारायणकाजीले आक्रामकरुपमा मुभ लिए। देशभर विभिन्न केन्द्रीय सदस्यसँग कुराकानी गरे। जसले प्रचण्डलाई झस्कायो। गम्भीर बनायो। हल्कारुपमा लिएर नारायणकाजीलाई जवाफ दिँदा उनलाई सोच्न बाध्य पार्‍यो। अर्कोतिर नारायणकाजीले सम्पर्क गरेका नेता कार्यकर्ताले प्रचण्डलाई विवाद मिलाउन दबाब दिन थाले। महाधिवेशनबाट नयाँ ऊर्जा साथ अघि बढिरहेको पार्टीलाई जोगाउन आग्रह गरे। पूर्वस्थायी कमिटी सदस्यहरुले पनि समाधानमा जोड दिए। अनि प्रचण्ड पश्चताप गर्न हात्तीवन पुगे।

नारायणकाजीले सञ्चारमाध्यमलाई बताएअनुसार प्रचण्डले आफू नकारात्मक नभएको र चित्त दुखेको भए अभिव्यक्ति सच्याउन तयार रहेको भनेका थिए। ‘तपाईं पार्टी छोड्दै हुनुहुन्छ भन्ने कोणबाट कुरा आएपछि त्यस्तो भन्न पुगेछु। तर मैले नकारात्मक ढंगले भन्न खोजेको होइन। यसले अफ्ठेरो पारेको वा अपमानित भएको छ भने त्यसबारे फेरि बोल्न सक्छु। मेरो मनसाय तपाईँ पार्टी छाडेर जानुस् वा गइदिए हुन्थ्यो भन्ने होइन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने।‘राष्ट्रियताको एजेण्डामा नेतृत्व लिँदै आएको कम्युनिस्ट पार्टी देशभक्त अडानमा चुक्ने भएपछि समस्या हुने भयो त्यसले पनि पिरोलेको छ- नारायणकाजी’
नारायणकाजीको तयारी

एमसीसीमा नेतृत्वले गरेको निर्णयमा असन्तुष्ट नेता श्रेष्ठले यसअघिका असन्तुष्टिहरुलाई समेत समेटेर वारपारकै मनस्थिति बनाएको सञ्चारमाध्यममा उनले व्यक्त गरेका धारणाले देखाएको छ। मंगलबार साँझ बीबीसी नेपाली सेवासँगको कुराकानीमा श्रेष्ठले आफूले निस्किने गरी नै तयारी गरेको सन्देश दिए। ‘अध्यक्षले पत्रकार सम्मेलनमा बाहिर गए हुन्छ भनेपछि हामी पार्टीमा बस्न नपर्ने, यहाँबाट बाहिर जानुपर्नेजस्तो स्थिति आयो। सोच्न बाध्य पार्‍यो,’ उनले भने।उनले कुराकानीमा अरु असन्तुष्टि पनि पोखे। ‘पार्टी वैचारिक/सांस्कृतिकरुपमा स्खलन हुँदै गइरहेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी बन्छ कि बन्दैन? चिन्ता त्यहाँ हो। बन्दैन भने त अनैतिक भइन्छ। कम्युनिस्ट भन्दै के भनेर जाने भन्ने हो?’ उनले भने, ‘राष्ट्रियताको एजेण्डामा नेतृत्व लिँदै आएको कम्युनिस्ट पार्टी देशभक्त अडानमा चुक्ने भएपछि समस्या हुने भयो त्यसले पनि पिरोलेको छ।’

राष्ट्रियताको सबालमा आफूलाई निकै गम्भीर बनाएको उनले खुलाए। ‘भन्दाभन्दै जुन निर्णय गरियो, एकदम ठूलो भूल हो। पटक-पटक एमसीसीको विपक्षमा निर्णय गर्ने भनियो। अन्तिममा पक्षमा गयो। यो राष्ट्रघाती निर्णय हो। यसले मलाई एकदमै पीडा भयो। कसरी सच्याउने भनेर गम्भीर छलफल आफैँसँग र पार्टीका साथीहरुसँग भइराखेको सत्य हो,’ उनले भने, ‘समग्र देशको व्यवस्था र आन्दोलनको अवस्थामा अब के गर्न सकिन्छ भनेर उपाय मैले पनि सोचिरहेको छु। पार्टीका सबै कमरेडसँग छलफल गरिरहेको छु। कुनै निष्कर्षमा पुगिसकेको स्थिति छैन। अरु साथीहरुसँग छलफल पनि गर्छौं।’

उनले कार्यकर्तालाई काखापाखा गरिएको, व्यक्तिवाद र गुटगत हाबी भएको पनि असन्तुष्टि पोखे। ‘वैचारिक अस्पष्टताले सामाजवादमा पुग्न सकिँदैन। पार्टीलाई विधि पद्धति र संस्थागत ढंगले चलाउने कुरा भएन। पार्टी नै भ्रष्टीकरण र अनियमिततामा संलग्न भयो। दलाल पुँजीवादीसँग सम्बन्ध बढाउने र सर्वहारा वर्गसँग सम्पर्क कमजोर बनाउने काम भयो,’ नारायणकाजीले असन्तुष्टि धाराप्रवाह गरे।यी कुरामा गुणात्मक रुपान्तरण नगरेसम्म यथास्थितिमा अघि बढ्न नसकिने अडान उनले राखेका छन्। ‘यो दिशातिर जान हामी तयार छौं कि छैनौं? यो कुराहरुमा छलफल गरेर विश्वस्त हुनुपर्‍यो,’ उनले माग गरे।

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार