• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

मान्छेको संगतले अल्छी बन्दै बाँदरहरु…


बाँदरजंगलमा समूहमा बस्न रमाउने प्राणी हो।उनीहरु जंगलमा पाइने फलफूल, कन्दमुललगायतका खानेकुरा खाएर बाँच्ने गरेका छन् । तर, पछिल्लो समय मानिसहरुले सडकमा खानेकुरा दिने बानी गरेपछि उनीहरु सडकमै आएर खाना कुर्न थालेका छन्।उनीहरु सडकमा मानिसहरुले सहजै खानेकुरा दिने आशमा आफै खाना खोज्न अल्छी गर्न थालेका छन् ।

बाँदरहरु खानाको आशमा सडकमा झुण्ड बनाएर आउँदा सडक दुर्घटनालगायत विभिन्न समस्याहरु देखिन थालेका छन् ।

रौतहटको पूर्वपश्चिम राजमार्गका दर्जनौं स्थानहरुमा बाँदरहरुको झुण्ड देखिने गरेको छ । जंगलमा बस्नुपर्ने बाँदर सडकमा निस्कदा समस्या देखा पर्न थालेको छ । मानिसले खानेकुरा दिने आशामा सडकमा आउने बाँदरहरुका कारण राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ ।

यहाँका सडकहरुमा दुर्घटनाबाट मृत्यु हुने बाँदरको संख्या पनि बढ्दो छ । अचानक सडकमा आउने बाँदरलाई बचाउन खोज्दा दुर्घटना हुने जोखिम उच्च रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक ज्ञान बहादुर माझीले बताए ।

यहाँका जंगलहरुमा ठूलो संख्यामा राता बाँदरहरु र फाट्टफुट्ट ढेडु बाँदरहरु पाइने गरेका छन् । राजमार्ग भएर यात्रा गर्ने सवारी साधनहरुले रोकेर यात्रीहरुले बाँदरहरुलाई बिस्कुट, फलफूल, पाउरोटीलगायतका खानेकुराहरु दिने गरेका छन् ।

यसरी बाँदरहरुलाई खानेकुरा दिने बानी मानिसहरुले लगाएपछि बाँदरहरुले जंंगलमा आफैले खानेकुरा खोज्न छोडेर राजमार्गमा खानाको आशमा आउने गरेको वन्यजन्तु विज्ञ प्राडा मुकेस कुमार चालिसे बताउँछन् । यसरी सडकमा बाँदरहरुलाई खाना दिने बानी गरेपछि बाँदरहरु अल्छी हुँदै गएको र जंगलको प्राकृतिक खाना खोज्न छाडेर राजमार्गमा भौतारिने गरेको उनको भनाइ छ ।बाँदरहरु बिहानदेखि साँझसम्म खानाकै आसमा जंगल छाडेर राजमार्ग वरपर बस्ने गरेका छन्’ उनी भन्छन्, ‘उनीहरुले जंगलमा खाना खोज्न अल्छी गर्न थालेका छन् । यसले उनीहरुलाई पनि असर गरिरहेको छ ।’

मानिसहरुले मायाले राजमार्गमा खाना दिने बानी गरेपछि बाँदरहरुको खाना जंगलमै प्राकृतिक खाना खोज्ने बानीमा ह्रास हुँदै गइरहेको पाइएको विभिन्न अध्ययनहरुले देखाएको वातावरणविद् सुमन घिमिरे बताउँछन् । ‘मानिसहरुको क्षणिक मायाले बाँदरहरुको खाद्य समस्या हटाउन सक्दैन्’ उनी भन्छन्, ‘बिस्कुट, पाउरोटि, चिजवल्सका केही प्याकेटले उनीहरुको भोक टार्न सक्दैन् बरु उल्टै उनीहरुलाई खानाको लागि परनिर्भर बनाइरहेको छ ।’बाँदरहरु कसैले सवारी साधन रोके दौडदै यात्रु वरपर झुम्मिन्छन् । सडक छेउमा फालिएका फोहोर र म्याद गुज्रिएका खाद्य सामग्री पनि बाँदरको लागि आहारा बन्ने गरेको छ । मानिस र बाँदरको नजिकको संगतले मानिसहरुको रोगलगायतको संक्रमण बाँदरमा सर्ने सम्भावना उच्च रहेको र पछि त्यो संक्रमण मानिसमानै फैलनसक्ने जोखिम रहेको जानकारहरु बताउँछन् ।

यसरी प्रकृतिमा रमाउने जनावरलाई छेडखानी गर्नु कानून विपरित भएकाले बाँदरहरुलाई खानेकुरा नदिन डिभिजन वन कार्यालय रौतहटले चेतवानी दिएको छ । सो कार्यालयका प्रमुख अमरदेव यादवले आम सर्वसाधरणले यस्ता कार्यहरु बन्द गरेर बाँदरहरुलाई प्राकृतिक वासस्थानमा रमाउन प्रेरित गर्दै त्यहीँ किसिमको वातावरण सिर्जना गर्नमा जोड दिए ।उनले कसैले बाँदरलाई खाना दिएको भेटिएमा कानून बमोजिम कारवाही गर्ने बताउँदै यस्ता कार्यलाई प्रोत्साहन नदिन सर्वसाधरणहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार