• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

महाभियोगमा एमालेले साथ दिएपछि सरकारको प्रतिक्रिया : अब संसद चलायमान हुन्छ


काठमाडौं : सरकारले अब संसद चलायमान हुने विश्वास लिएको छ।माधव नेपालसहित १४ सांसद पदमुक्त र सभामुखको राजीनामा माग्दै ६ महिनायता निरन्तर अवरोध गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढाउन तयार भएपछि सरकारले संसद सूचारु हुने विश्वास लिएको हो।

एमालेकै सहयोगमा जबरामाथि छानविन गर्न प्रतिनिधिसभाबाट महाभियोग सिफारिस समिति गठनपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले संसदीय प्रक्रिया सुरु हुने वातावरण बनेको बताए। ‘एमाले संसदीय प्रक्रियामा आएको छ। यो सकारात्मक हो। महाभियोग सिफारिस समिति सदस्यमा एमालेले नाम दिएर संसदीय प्रक्रिया सुरु भएको छ। संसद चलायमान हुन्छ भन्ने आशा गरौं,’ उनले भने ।जरुरी विधेयक पारित हुनुपर्ने आवश्यकता रहेको र संसद ठूलो दल एमालेले पनि छलफलमा भाग लिनुपर्ने बताए। ‘जरुरी अध्यादेशहरु, विधेयकहरु, नागरिकता विधेयक छ। धेरै ठूलो जमात पीडामा छ। नागरिकता नपाउँदा स्कुल पढ्न नपाउने,

जागिर खान नपाउने अवस्था छ। व्यवसाय गर्न, खाता खोल्न नपाउने अवस्था छ। अब यसलाई अगाडि बढाउ भनेर लगातार आग्रह गरिरहेका छौं,’ उनले भने।फागुन २९ गतेको बैठकसम्म एमालेसहित सबैको सहभागिता हुने उनले विश्वास व्यक्त गरे। ‘आज उहाँहरुले जसरी नाम दिनुभएको छ, यसले सहभागिता सुनिश्चित गरेको छ। सकारात्मक रुपमा बुझ्न सकिन्छ। त्यति भयो भने विधेयकहरु ल्याउने, शून्य समय र विशेष समयमा प्रवेश गर्छौं। र संसदलाई जनताको सरोकारसँग जोड्ने र जनताको दायित्वप्रति जोड्ने,

जनताप्रति जवाफदेही छ भन्ने परिस्थिति बन्छ। परिस्थिति बनाएर भरपुर प्रयोग गर्नुपर्छ,’ उनले भने।मन्त्री बडूले संसद भंग गरेर जाने कुरा उठे पनि तत्कालै त्यो अवस्था नरहेको बताए। ‘संसदमा सधै अवरोध हुने हो भने १० मिनेट, १५ मिनेट चलाएर बन्द गर्नुपर्ने हो भने यसको प्रश्न जनताबाट पनि उठ्न सक्छ। त्यसकारण जनतालाई चलायमान बनाउनेगरी यसलाई भरपुर उपयोग गर्नुपर्छ।

त्यसकारण आग्रह गरिरहेका छौं। उहाँहरुले गम्भीरतापूर्वक लिनुहुन्छ। त्यसो भयो भने अहिलेको संसद पूर्ण कार्यकालसम्म जान्छ,’ उनले भने।११ जनाको समिति बनाउनु भनेकै यो प्रक्रियामा सहभागी भएको संकेतका रुपमा बुझ्न उनले आग्रह गरे। ‘सकारात्मक कुरा हो। संसद अब पूर्ण रुपले क्रियाशील हुन्छ,’ उनले भने।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार