• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

रंगेलीका मेयर र उपमेयर नै एमालेमा प्रवेश


माओवादीकेन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् ।मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएकाहुन्।एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित

४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालपनि रहेका छन् । एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए ।

छ वर्ष अगाडिको त्यो गोलीकाण्ड…
संविधानमा असन्तुष्टि जनाउँदै ०७२ असोजपछि मधेसी मोर्चा आन्दोलनरत थियो । त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसको आन्दोलनलाई ‘माखे साङ्लो’ भन्थे । त्यति मात्रै होइन, आन्दोलनका क्रममा मृत्यु भएका युवाहरुलाई दुई चारवटा पाकेको आँप झरेको भन्ने अभिव्यक्तिले एमालेविरुद्ध मधेसमा आक्रोश थियो । त्यही बेला एमालेले रंगेलीमा बृहत् सभाको आयोजना गर्यो । उक्त सभा रोक्ने तयारीमा मधेसी मोर्चाका कार्यकर्ता लागेका थिए । सोही क्रममा २०७२ माघ ८ गते कार्यक्रम स्थलमै झडप भई तीन जनाको ज्यान गएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीले सुनवर्षी–७ का महादेव ऋषिदेव, सुनवर्षी–९ कै शिवु माझी र रंगेली–६ की द्रौपदीदेवी चौधरीको मृत्यु भएको थियो ।

उक्त घटनाका पीडित र प्रभावितहरुलाई अझै पनि त्यो दिनले झस्काउँछ । ‘हामीले त्यो बेला रंगेलीमा मधेसी मोर्चाको आन्दोलन निरन्तर छ, कृपया यहीँ सभा नगर्दिनुस् भनेर आग्रह गरेका थियौं,’ रंगेली–६ का दीपक ऋषिदेवले घटना सम्झिए, ‘तर, एमाले नेताहरु मानेनन् । आखिर झडप भयो । र, तीन जनाले अनाहकमा ज्यान गुमाउनु पर्यो ।’ यसपटक आउँदा ओलीले माफी माग्लान् कि भन्ने अपेक्षा ऋषिदेवलाई छ । ‘ओली आफै रंगेली आउँदैछन्,’ उनले भने ‘त्यसबेलाको हठले त्यो घटना भएकोमा माफी मागिदिए भने पीडित र प्रभावितहरुको मनमा थोरै शान्ति मिल्ने थियो ।’

दक्षिणी भेगमा बलियो बन्ने दाउ
एमाले मोरङको दक्षिणी भेगमा कमजोर छ । उसको जनमत रंगेलीमा तेस्रो स्थानको हो । यसअघिको निर्वाचनमा एमालेका मेयर उम्मेद्वार सन्तोषकुमार मण्डलले ३ हजार १ सय २१ मत ल्याएर तेस्रो स्थानमा थियो । बगडिया एमाले प्रवेश गरेपछि एमाले हौसिएको छ । यसले आफ्नो गुम्दै गएको साख फिर्ता ल्याउने र आगामी संसदीय निर्वाचनमा मोरङ–२ को विजयी सुनिश्चित गर्ने उसको दाबी छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार