• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

रसिया-युक्रेन द्वन्द्वका कारण इन्टरनेट ‘ब्रेकअप’को संघारमा !


युक्रेनमा द्वन्द्व बढिरहँदा विश्वले भौतिक र डिजिटल दुवै रुपमा अप्रत्यासित समयको सामना गरिरहेको छ।आफूलाई सधैँ ‘न्युट्रल (तटस्थ) टेक फर्म’ भन्ने मेटा, गुगल र एप्पल जस्ता ठूला कर्पोरेटको राजनीतिक रङसमेत यो द्वन्द्वले उदाङ्गो पारेको छ। यस्ता कम्पनीले युक्रेनमाथि रसियाको आक्रमणको प्रतिक्रियास्वरुप आफ्ना उत्पादन तथा सेवालाई रसियामा

प्रतिबन्ध लगाएका छन्।यतिबेला रसियामा ट्विटर र फेसबुक चल्दैनन्। टिकटकले रसियाली प्रयोगकर्ताहरुलाई पोस्ट गर्न दिइरहेको छैन। अनि, प्रहरीले मानिसलाई बाटोमा रोक्दै उनीहरुको फोन नियमन गरिरहेको छ। यस्तो अवस्थामा रसियाली प्रयोगकर्ताका लागि इन्टरनेट नै परिवर्तन हुने अवस्था आएको छ।अबको अवस्थामा यो द्वन्द्वले विश्वको भूराजनीति मात्र नभई विश्वव्यापी इन्टरनेटको प्रकृति नै परिवर्तन गर्न सक्छ कि भन्ने प्रश्न उब्जिएको छ।

रसियालाई इन्टरनेटबाट वञ्चित गर्न आवश्यक छ ?
युक्रेनी सरकारले टेक फर्महरूलाई रसियामा सेवा प्रतिबन्ध लगाउन आग्रह गरिरहेको छ। र, रसियामा व्यापार गर्न वा उत्पादनहरू बेच्न अस्वीकार गर्ने टेक फर्महरुको सूची दिन प्रतिदिन बढ्दै पनि गइरहेको छ।अहिले युक्रेनका ‘टेक-सेभी’(प्रविधि बुझ्ने) नेताहरूले अझ ठूलो कुराका लागि आह्वान गरिरहेका छन्। त्यो हो रसियालाई विश्वव्यापी इन्टरनेटबाट पूर्ण रूपमा ‘अनप्लग’ गर्ने, अर्थात् रसियालाई इन्टरनेटको पहुँचबाट वञ्चित गर्ने।

इन्टरनेट सुशासनको जिम्मेवारी बोकेको ‘इन्टरनेट कर्पोरेशन फर एसाइन्ड नेम्स एण्ड नम्बर्स’ (आइसीएएनएन) ले युक्रेनको सो आग्रहलाई अस्वीकार गरिदिएको छ। ‘डट आरयू’ लगायतका रसियाका उच्च तहको ‘डोमेन’ र उसको ‘सेक्युर सकेट्स लेयर’ (एसएसएल) रद्द गर्न आइसीएएनएनसँग आग्रह गरिएको थियो।आइसीएएनएनको नारा हो- ‘एक विश्व, एक इन्टरनेट’। युक्रेनका उपप्रधानमन्त्री मिखाइलो फेडोरोभको आग्रहको प्रतिक्रियामा आइसीएएनएनका प्रमुख कार्यकारी गोरन मर्बीले भनेका छन्, ‘मिशनभित्र रहेर हामी तटस्थता कायम राख्छौँ र विश्वव्यापी इन्टरनेटको समर्थनमा काम गर्छौं । दण्ड जरिवाना गर्ने, प्रतिबन्ध जारी गर्ने तथा इन्टरनेटको पहुँच कटौती हाम्रो मिशनभित्र पर्दैन। हामी कुनै पनि किसिमको उत्तेजनाहरूको वास्ता गर्दैनौँ।’

आइसीएएनएनको यो निर्णयको समर्थन गर्ने संस्थाहरुमध्ये डिजिटल गोपनीयता समूह ‘इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेसन’ (ईएफएफ) पनि एक हो।एक विज्ञप्तिमा ईएफएफका कोरिन म्याकशेरी र कोन्सटेन्टिनोस कोमाइटिसले युद्ध ‘इन्टरनेटमा हस्तक्षेप’ गर्ने समय नभएको बताएका छन्। आधारभूत इन्टरनेट पूर्वाधार प्रोटोकलहरूमा हस्तक्षेप गर्दा ‘खतरनाक र दीर्घकालीन परिणामहरू’ देखिने उनीहरुको बुझाइ छ।सूचना आदानप्रदानका लागि सबैभन्दा शक्तिशाली उपकरणबाट मानिसलाई वञ्चित गर्ने, खतरनाक नजीर स्थापित गर्ने तथा सुरक्षा र गोपनीयतासँग सम्झौता गर्ने काम गर्न नहुने उनीहरुको सुझाव छ।

साइबर-आक्रमणविरुद्ध सुरक्षा प्रदान गर्दै आइरहेको वेब इन्फ्रास्ट्रक्चर फर्म ‘क्लाउडफ्लेयर’सँग पनि युक्रेनले रसियामा आफ्नो सेवाहरू बन्द गर्न आग्रह गरेको थियो। तर, उसले यो आग्रहलाई अस्वीकार गरिदिएको छ।एक ब्लग पोस्टमा कम्पनीले युक्रेनको सो अनुरोधबारे विचार गरेको भए पनि ‘रसियालाई कम होइन धेरै इन्टरनेट पहुँच चाहिन्छ’ भन्ने निष्कर्षमा आफूहरु पुगेको बताएको छ।

‘स्प्लिन्टरनेट’ के हो, कसरी काम गर्छ ?

रसियालाई ‘कट-अफ’का लागि आह्वान गर्नु भनेको ‘स्प्लिन्टरनेट’ भनेर चिनिने निकै खतरनाक अवस्था निम्त्याउनु हो भन्ने धेरैको बुझाइ छ। ‘स्प्लिन्टरनेट’ भनेको विभिन्न देशहरूले आ-आफ्नै संस्करणको इन्टरनेट प्रयोग गर्नु हो।‘द ग्रेट फायरवाल अफ चाइना’ भनेर चिनिने चीनको इन्टरनेट सम्भवतः एक देशले कसरी आफ्नै ‘वेब’ बनाउन सक्छ भन्ने सबैभन्दा स्पष्ट उदाहरण हो।

इरानमा पनि ‘नेट कन्टेन्ट’लाई सेन्सर गर्ने गरिएको छ। इरानको सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीले बाह्य सूचना तथा जानकारीलाई सीमित गर्दै आइरहेको छ।रसिया आफैँले पनि धेरै वर्षदेखि सार्वभौम इन्टरनेटको परीक्षण गर्दै आएको छ, जसलाई ‘रुनेट’ भनिएको छ। यो इन्टरनेट चीनको जस्तो आफ्नो छुट्टै जगमा निर्माण गरिएको नभई अहिलेको विद्यमान इन्टरनेटमा नै ‘रेट्रो-फिट’ गरी बनाइएको हो।सन् २०१९ मै रसियाली सरकारले यो प्रणालीको सफलतापूर्वक परीक्षण गरेको बताएको थियो। त्यतिबेला थोरैले मात्रै यसको आवश्यकता बुझेका थिए। तर, अब युक्रेन आक्रमणपछि यसको आवश्यकता ‘धेरै अर्थपूर्ण’ बनेको युनिभर्सिटी अफ सरेका कम्प्युटर वैज्ञानिक प्रोफेसर एलन उडवर्ड बताउँछन्।

सो परीक्षणमा रसियाली इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरूलाई एक विशाल ‘इन्ट्रानेट’को रुपमा सिमानाभित्र इन्टरनेटलाई प्रभावकारी रूपमा ‘कन्फिगर’ गर्न भनिएको थियो। वेबसाइटहरूको यस्तो एउटा ‘प्राइभेट नेटवर्क’ जसले बाहिरी दुनियाँसँग सञ्चार गर्न नसकोस्।रसियाको नेटको संस्करण यसको विश्वव्यापी समकक्षीसँग जोडिएको बिन्दुहरूलाई प्रतिबन्धित गर्ने काम सो परीक्षणमा समावेश थियो।अहिलेको अवस्थामा रसियाले ती प्रणालीको पुन: परीक्षण गरिरहेको बुझिएको छ। रसियाली सरकारले एक मेमोमार्फत आइएसपीहरुलाई उनीहरूको सुरक्षा बढाउन र रसियामा रहेका ‘डोमेन नेम सिस्टम’ (डीएनएस) सर्भरहरूमा जोडिन भनेको छ।

मेमो जारी गर्नु र ११ मार्चमा परीक्षण पूरा हुने तय हुनुले रसियाले आफूलाई तुरुन्तै विश्वव्यापी इन्टरनेटबाट ‘कट-अफ’ गर्न चाहेको कतिपयको तर्क छ।प्रोफेसर उडवर्डले यसलाई सो तयारीको अर्को परीक्षणको रूपमा हेरेका छन्। भन्छन्, ‘रसियाले इन्टरनेट सेवा प्रदायकलाई तयार हुनको लागि डीएनएस (इन्टरनेटको फोन बुक) को स्थानीय प्रतिलिपिहरू बनाउन र ‘जाभास्क्रिप्ट’ जस्ता रसिया बाहिरका सर्भरबाट आउने ‘थर्ड-पार्टी सफ्टवेयर’को स्थानीय संस्करणहरू बनाउनका लागि भनेको थियो।’रसियाले उतिबेलादेखि नै आफूलाई इन्टरनेटबाट ‘कट-अफ’ गर्ने कुराको प्रतिवाद गर्दै आएको छ। उसले यो परीक्षण रसियाली वेबसाइटहरूलाई विदेशी साइबर-आक्रमणबाट जोगाउने उद्देश्यले गरिएको बताएको थियो।

तर, ‘द ग्रेट फायरवाल अफ चाइना’का लेखक जेम्स ग्रिफिथलाई लाग्छ- रसियाले जुनसुकै बेला आफूलाई ‘कट-अफ’ गर्न सक्छ।‘इन्टरनेट काटेर रसियालीहरूलाई क्रेमलिनले अनुमोदन गरेको सामग्री मात्र उपभोग गर्ने वातावरणको सुनिश्चित गर्ने कुराले रणनीतिक रूपमा अर्थ राख्छ। यसबाट अब हामी कुन मार्गमा गइरहेका छौँ भन्ने बुझ्न गाह्रो छैन,’ उनले बीबीसीलाई भनेका छन्।‘यदि आगामी हप्ता वा महिनामा यो कुरा लागू भयो भने पनि म भने छक्क पर्ने छैन,’ उनले थपे।

त्यसको नतिजा के ?
यो द्वन्द्वले इन्टरनेटको प्रकृति नै परिवर्तन हुने ‘हाउ टेक्नोलोजी इज रिमेकिङ ग्लोबलाइजेसन’ नामक पुस्तकका लेखक अविशुर प्रकाशको बुझाइ छ। इन्टरनेट ‘सारा संसार जोडिएको विश्वव्यापी प्रणाली’बाट थप खण्डित स्वरुपमा परिवर्तन हुँदै जाने उनले बताए।‘भूराजनीतिका कारण इन्टरनेटका लागि फरक डिजाइनको उत्पत्ति भइरहेको छ, जसमा राष्ट्रहरूले कि त आफूलाई विश्वव्यापी इन्टरबाट विच्छेद गर्दै छन् या आफ्नो छुट्टै विकल्पको विकास गरिरहेका छन्। दशकौँदेखि मानिसलाई जोडेको सामाजिक सञ्जाल प्लेटफर्महरू जस्ता विश्वव्यापी माध्यमहरूलाई रोकिँदै छ,’ उनले भने।

त्यस्तै, जेम्स ग्रिफिथ्सका अनुसार ‘नेट पावर’को नयाँ अक्ष पश्चिमा र चीन/रूसबिच विभाजित हुनेछ।‘चीनको ‘ग्रेट फायरवाल’का पिता भनेर चिनिने फङ पिनसिङले सन् २०१६ मा रसियाको भ्रमण गरेका थिए। उनी रसियालीहरुले गरिरहेको काममा सहयोग गर्न र रसियाली फायरवाललाई चिनियाँ फायरवालसँग मिल्दोजुल्दो बनाउन त्यहाँ पुगेका थिए,’ उनले भने।

इन्टरनेट फर्महरूले सेवा र उत्पादनहरूमा प्रतिबन्ध लगाएपछि अब रसियाले फेरि बेइजिङको साथ खोज्ने उनी बताउँछन्। उनलाई लाग्छ, ‘रसियाली अर्थतन्त्र धेरै विश्वव्यापी अर्थतन्त्रबाट वञ्चित भइरहेको बेला उनीहरु चीनतिर फर्किरहेका छन्। अब उनीहरू विगतमा भन्दा पनि धेरै चीनमा भर पर्नुपर्नेछ।’हालसम्म ‘हुवाई’ जस्ता टेक फर्महरूले यो द्वन्द्वको बारेमा आधिकारिक रूपमा मुख खोलेका छैनन्।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार