• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

विप्लवका कार्यकर्ताले स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुखलाई दले कालोमोसो


जाजरकोट भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीलाई विप्लव नेकपा निकट युवा संगठन नेपालले कार्यकक्षमै कालो मोसो दलेर जुत्ताको माला लगाइ दिएको छ ।सोमबार बिहान ११ बजे कार्यकक्षमा पुगेका युवा संगठन नेपालको एक टोलीले स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक जैसीलाई

कालो मोसो दल्नुको साथै जुत्ताको माला लगाएका हो ।स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख जैसीलाई कालो मोसो र जुत्ताको माला लगाएको जिम्मा लिँदै युवा संगठन नेपाल जाजरकोटले प्रेस विज्ञप्ति जारी गरेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ- ‘६ महिना लामो अध्ययन तथा अनुसन्धानपछि कार्यालय प्रमुख टीकाराम जैसीलाई कारबाही गरेका हौं, कार्यालय प्रमुखको जिम्मेवारीबाट तत्काल राजीनामा नदिएमा थप कारबाही गर्न बाध्य हुनेछौं ।’

युवा संगठनले निमित्त व्यवस्थापक जैसीले ५० लाख भन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाएको छ । युवा संगठनको विज्ञप्तिमा भनिएको छ–’२ करोड १२ लाखमा खरिद गरिका २५ वटा बेडबाट १० लाख, एम्बुलेन्स खरिदबाट २ लाख, एक्सरे मेसिन खरिदबाट ३४ लाख, अक्सिजन पलान्ट खरिद, ढुवानी तथा जडानबाट ५ लाख, प्रयोगशालाको छाना छाउने जस्तापाता खरिद तथा जडानमा हदैसम्मको भ्रष्चार, स्टेवलाइजर खरिदमा २ लाख गरी जम्मा ५० लाख भन्दा बढी रकम भ्रष्टाचार गरिएको उल्लेख छ ।

त्यस्तै, अस्पतालको बर्थिङ सेन्टरमा मार्वल तथा टाइल बिच्छाउन सार्वजनिक सूचना प्रकाशन नगरी मिलेमोतोमा निर्माण कम्पनीसँग सम्झौता गरेको, गाउँका स्वास्थ्य चौकीहरुमा समयमै औषधि पठाउन नसकेको लगायतका आरोपहरु लगाइएको छ ।आफूलाई कारबाही गर्न उनीहरुले लगाएका सबै आरोपहरु गलत र कपोल्कल्पित भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक जैसीले बताए ।

उनले आफूलाई कुटपिट समेत गरिएको बताए । यता जिल्ला प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले स्वास्थ्य कार्यालयमा भएको घटनाबारे अनुसन्धान भइरहेको बताए । उनले तीनजनाको पहिचान भइसकेको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी थापाले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार