• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

देउवालाई भीम रावलको जवाफ : मेरो होइन उहाँको दिमाग खुस्केको हुनुपर्छ


एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावलमाथि आक्रोश पोखेपछि रावलले पनि जवाफ फर्काएका छन् । सोमबार नुवाकोटमा आयोजित एक कार्यक्रममा देउवाले एमाले नेता रावल आफैं मन्त्रिपरिषदमा रहँदा सो परियोजना पास गरेको तर अहिले आएरमात्र विरोध गरेको भन्दै आक्रोश पोखेका थिए । उनले ‘रावल रक्षामन्त्री

भएको बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट पारित भई संसदमा ल्याएको, अहिले विरोध गरेर दुईजिब्रे कुरा गर्ने, त्यसबेला राजीनामा किन नगरेको रु त्यसबेला ‘दिमाग खुस्केको थियो’ भन्दै आक्रोश पोखेका थिए । यसबारे ट्वीटरमार्फत जवाफ फर्काउँदै रावलले आफू केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उपप्रम र रक्षा मन्त्री भएको उल्लेख गर्दै ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला नभएको बताएका छन् । ‘अतः मेरो मन्त्रिपरिषद्मा सहमति रहेको भन्ने कुरै रहेन।

यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रधानमन्त्रीको या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहीत विरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ,’ उनले भनेका छन् । एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधानलाई आफूले तथ्यगतरूपमा सार्वजनिक गर्दा देउवा आक्रोशित भएको पनि उनको भनाइ छ ।

‘किन रावललाई मात्र टाउको दुख्छ’ भन्ने देउवाको प्रश्नमा जवाफ फर्काउँदै रावलले भनेका छन्, ‘नेपालको संविधान, देश र जनता सामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहित स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर वाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने,

महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर टाउको दुखेको हो।’ रावलले देउवालाई थप वहस गर्ने इच्छा भए आफू तयार भएको पनि बताएका छन् ।

देउवाको प्रश्न– आफू मन्त्रिपरिषदमा रहँदा भीम रावलले किन एमसीसी पास गरेको ?
प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्याएका छन् । उनले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सो धारणा राखेका हुन् ।

सो कार्यक्रममा उनले हालै प्रतिनिधिसभाबाट पारित भएको उक्त एमसीसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरू भ्रममात्र भएको पनि स्पष्ट पारे। उनले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफैं मन्त्रिपरिषदमा रहँदा सो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको प्रसङ्ग उल्लेख गरे ।

प्रधानमन्त्री देउवाको प्रश्न थियो, ‘आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषद्बाट पास गरेका भीम रावलले त्यसबेला किन आलोचना गर्नुभएन ? त्यतिबेला राजीनामा नदिएर के हेरेर बसेको ?” देउवाले आक्रोशित हुँदै भने, “आफू पार्टीको नेता र मन्त्री हुँदा आफैंले मन्त्रिपरिषदबाट पारित गर्ने अनि अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसैबेला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्दैनथ्यो ?’

प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको पनि स्पष्ट गरे । प्रधानमन्त्री देउवाले रावल मन्त्री हुँदा एमसीसीको प्रक्रिया अघि बढेको पटक पटक सुनाए । उनले सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमसिसीका बारेमा जवाफ दिनैपर्ने भो भन्दै पूर्वमन्त्री एवं एमाले नेता रावलप्रति आक्रोश पोखेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार