• २०८१ साउन ९ गते बुधवार
  • Preeti To Unicode

‘गाई’ माग्न कमल थापा अदालत जाने


कमल थापाले हालै पुनर्गठन गरेको दल राप्रपा नेपालले चुनाव चिन्ह गाई प्राप्तिका लागि अदालत जाने तयारी गरेको छ । स्थानीय तह निर्वाचनका लागि हालै निर्वाचन आयोगबाट सो दलले तीर चिन्ह पाएको थियो । राप्रपा नेपालले चुनाव चिन्ह गाई मागे पनि आयोगले नदिएपछि तत्कालका लागि तीर लिएको थियो । तर यो चिन्ह अस्थायी मात्र हुने राप्रपाका

महामन्त्री राजाराम बर्तौलाले रातोपाटीलाई जानकारी दिए । उनले आफ्नो दलको चुनाव चिन्ह गाई माग्न नछोड्ने बताए । राप्रपाका महामन्त्री बर्तौलाले भने– ‘पार्टी एकता गरेपछि हामीले गाई चिन्ह छोडेर हलो चिन्ह लिएपछि गाई चिन्ह फ्रिज थियो । अहिले बनेको हाम्रो पार्टीका लागि गाई चिन्ह माग्दा आयोगले दिएन । हामी त्यसविरुद्ध अदालत जाने तयारी गरिरहेका छौँ । यसबारेमा कानुनी परामर्श पनि चलिरहेको छ । सम्भवत हामी स्थानीय चुनाव पछाडि वा त्यस अगाडि नै अदालत जान्छौँ ।’उनले स्थानीय तहको चुनाव आइसकेका कारण अस्थायी प्रयोजनका लागि मात्रै तीर चिन्ह लिइएको बताए । यता निर्वाचन आयोगले भने राष्ट्रिय प्रतीक चिन्ह रहेका वस्तुहरु चुनाव चिन्हका रुपमा दिन नसकिने बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय प्रतीक चिन्हको रुपमा रहेको गाई चिन्ह मागेका कारण आयोगले नदिएको उल्लेख गरे । आयोगले दिन नमिल्ने त्यस्ता केही चिन्हहरूको सूची राखेको र त्यस्ता चिन्हहरू दिन नमिल्ने बताए । राष्ट्रिय प्रतीक चिन्ह बाहेकका चिन्ह मात्रै दलहरूका लागि दिइने उनले बताए ।

गठबन्धनबाट आश गरेर हामी जितौँला र खाउँला भन्ने कुरा दिमागबाट हटाइदिऔं

हामीले धेरै पटक पार्टीलाई क्रान्तिकारी पार्टी बनाउने भनेर भनिराख्यौँ, विचारलाई पनि क्रान्तिकारी ढंगले विकास गर्ने हो भनिराख्यौँ । धेरै समयदेखि हामीले समाजवादको आधार निर्माण गर्ने कुरा पनि गरिराख्यौँ । तर व्यवहारमा क्रान्तिकारी विचारको विकासमा उल्लेख्य प्रगतिको महसुस हामी कसैले गरेनौं । क्रान्तिकारी पार्टी निर्माणमा रुपान्तरणको प्रक्रिया सुरु भएको भन्ने हामी कसैले खासै महसुस गरेनौं । कुरा गरिन्छ तर उपदेशजस्तो । कुराका लागि कुरा गरेजस्तो ।हाम्रो संगठनको स्थिति, नेता तथा कार्यकर्ताको वैचारिक स्तर हेर्दा, हाम्रो आचरण हेर्दा दिन प्रतिदिन कम्युनिस्ट आचरणबाट स्खलननतिर बढिरहेको जस्तो, विचलन जस्तो । पार्टीभित्र वैचारिक/राजनीतिक अस्पष्टता, गुटबन्दी, व्यक्तिवाद, अराजकता बढ्दो छ । सबै पदलोलुप भएजस्तो छ ।

यही पार्टी हो हिजो क्रान्तिको समयमा, युद्धको बेलामा मर्न जान जिम्मा पाइएन भनेर झगडा गर्नेको जमात हुन्थ्यो । अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात भयो । हामीले कुरा क्रान्तिका गरिराखेकै छौं, पार्टीलाई क्रान्तिकारी बनाउने कुरा पनि गरिराखेकै छौं । तर हामीमा विस्तारै बर्जुवाकरण भइरहेको छ, व्यक्तिवादीकरण भइरहेको छ । गुटबन्दी, अराजकता बढिरहेको छ । कहाँबाट चिर्ने हो भन्ने ठुलो समस्या छ ।एउटा पार्टी क्रान्तिकारी हुन्छ कि हुँदैन भनेर हामी आफैले छुट्याउने कसी भनेको उसले आफ्ना कमजोरीलाई कसरी हेर्छ भन्ने नै हो । आफ्ना कमजोरीलाई ढाकछोप गर्छ भने त्यो पेटी बुर्जुवा र बुर्जुवा हुनबाट कसैले रोक्न सक्दैन । आफ्ना कमजोरीप्रति निर्ममतापूर्वक आत्मसमीक्षा गर्न सक्छ भने त्यो क्रान्तिकारी पार्टीको लक्षण र विचार हो । हामी क्रान्तिकारी हौं भने आफ्नो कमजोरी पत्ता लगाएर त्यो कमजोरी हटाउन गम्भीर हुन्छौं । हामी क्रान्तिकारी होइनौं भने अर्कोतिर औँला देखाउने गर्छौं जो अहिले देखिएको छ ।

पार्टीको आठौं राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेजमा शान्ति प्रक्रियादेखि आजसम्म कहाँ त्रुटि भए भन्ने आत्मसमीक्षा गरिएको छ । हामी सबैले आ–आफ्नो आत्मसमीक्षा गर्न सुरु गरियोस् । महाधिवेशनमा पारित दस्तावेजको आत्मसमीक्षावाला पक्ष मैले साँच्चै पार्टीका निम्ति, क्रान्तिका निम्ति, कम्युनिस्ट आचरणको विकासका निम्ति कहाँ त्रुटि गरेँ, कहाँ गरेको छैन भन्नेतिर सबैको ध्यान जाओस् भन्ने कारणले सिङ्गै पार्टीको रुपान्तरणका लागि अनिवार्य पक्षका रुपमा प्रस्तुत गरिएको छ ।

यो पार्टीलाई क्रान्तिकारी बनाउन अन्ततः उत्पादनका निम्ति संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोग बिना त फेरि जनतासँग जोडिन सक्दैन । त्यसकारण हाम्रो दस्तावेजले तत्कालीन नीति, कार्यक्रम र कार्ययोजनाको रुपमा जनतातिर फर्कने, उत्पादन, श्रम र सांस्कृतिक रुपान्तरणको एउटा संयोजित कार्यक्रम बनाउने र तलैदेखि समाजवादको माओवादी मोडेल प्रस्तुत गरेको छ । तलैदेखि त्यस्ता योजना कार्यान्वयनबाट समाजवादको आर्थिक, राजनीतिक र सांस्कृतिक मोडेल नेपालले दिन सक्छ भन्ने उद्देश्यका साथ दस्तावेजमा उल्लेख छ ।अब समाजवादी क्रान्तिका लागि नयाँ पार्टी, नयाँ विचार विकासको ऐतिहासिक पहलकदमी आठौं महाधिवेशनबाट गरेका छौं । एउटा ट्रयाक खोल्यौँ, चुनावपछि विशेष महाधिवेशन गर्ने र विचार संश्लेषणलाई नयाँ उचाइमा उठाउने जग बसायौं । समाजवाद निर्माणको वैचारिक राजनीतिक जगको भूमिका यसले खेल्न सक्छ । एउटा नयाँ विचार संश्लेषण गर्न सकिन्छ भनेर हामीले त्यसलाई टुङ्ग्याएका छौं ।

यो पार्टीमात्र त्यस्तो पार्टी हो जो क्रान्तिकारी पार्टीमा रुपान्तरण हुन सम्भव छ । हामीले प्रतिगमनकारी आन्दोलनमा संघर्षमा जान, प्रतिक्रान्तिविरुद्ध लड्नका लागि यो पार्टीमात्र जुनसूकै बेला तयार रहन सक्छ भन्ने पुष्टि गरेर देखाइसकेको कुरा हो ।प्रतिगमनकारीविरुद्धको आन्दोलनमा जसरी उनीहरुको (प्रतिक्रियावादीको) उद्देश्य माओवादी आन्दोलनलाई कमजोर पार्ने, माओवादी आन्दोलनले सिर्जना गरेका परिवर्तनलाई उल्ट्याउने, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने डिजाइन थियो । प्रतिगमनविरोधी आन्दोलनमा हामीले सफलता प्राप्त गरिसकेकाले अब प्रतिक्रान्तिको खतरा टरिसक्यो भन्ने होइन । प्रतिगमनकारी र प्रतिक्रान्तिकारीहरु अहिले पनि त्यो षडयन्त्रमा लागिरहेका छन् । माओवादी पार्टीलाई के गरी कमजोर पार्न सकिन्छ र यो पार्टीलाई नेपालको राजनीतिमा भूमिका खेल्न नसक्ने गरी कसरी मार्जिनलाइज गर्न सकिन्छ भन्ने डिजाइनमा अहिले पनि छन् ।

नेपालमा एकथरी वैदेशिक शक्ति माओवादी पार्टीलाई विभाजित गर्ने, कमजोर पार्न चाहन्छन् । तर सिधै प्रतिक्रान्ति गर्न सजिलो छैन । किनकि जसरी हामी जनतासँग जोडिएका छौं र हजारौं नेता कार्यकर्ताको विशाल पंक्ति हामीसँग छ, सिधै प्रतिक्रान्ति गर्न सजिलो छैन । त्यसैले अनेक कसरत गरेर हामीलाई आउने निर्वाचनमा परास्त गर्ने र नेपालमा साम्राज्यवादी देशमा जस्तै दुई पार्टी व्यवस्था बनाउने कसरत चलेको छ । दुईवटा बुर्जुवा पार्टी पालैपालो शासन गर्ने र अरु क्रान्तिकारी पार्टी, जनपक्षीय पार्टीलाई सिध्याउने षड्यन्त्र छ । त्यसकारण आउने निर्वाचन, चाहे त्यो स्थानीय तह होस् या प्रदेश र संघकै होस्, हाम्रोलागि सामान्य औपचारिक निर्वाचनमात्र रहेको छैन । हाम्रोलागि यो ‘लाइफ एन्ड डेथ’ (जीवन मरणको लडाइँ) भएर आउँदैछ ।

हाम्रो संगठनको स्थिति, नेता तथा कार्यकर्ताको वैचारिक स्तर हेर्दा, हाम्रो आचरण हेर्दा दिन प्रतिदिन कम्युनिस्ट आचरणबाट स्खलननतिर बढिरहेको जस्तो, विचलन जस्तो । पार्टीभित्र वैचारिक÷राजनीतिक अस्पष्टता, गुटबन्दी, व्यक्तिवाद, अराजकता बढ्दो छ । सबै पदलोलुप भएजस्तो छ ।
गठबन्धनबाट आश गरेर हामी जितौंला र खाउँला भन्ने कुरा दिमागबाट हटाइदिऔं । आफै नमरी स्वर्ग देखिँदैन । आफ्नै खुट्टामा उभिएर आफ्नै तागतको बलमा चुनाव जित्छौं भन्ने आत्मविश्वासका साथ अगाडि बढ्न जरुरी छ । हामीले यसलाई चुनावको अर्थमा मात्र बुझ्नु हुँदैन, एउटा ब्याटल, एउटा लडाइँमा हामी जाँदैछौं । लडाइँको अर्थमा लिएर त्यो लडाइँ हामीले जित्नै पर्छ र जित्नका लागि सम्पूर्ण तागत लगाउनु पर्छ भन्ने बुझ्न जरुरी छ । हिजो जनयुद्धको बेला हामी लडाइँमा जाँदा पहिला रेकी ग्रुप बनाउँथ्यौं र सर्भे गर्न पठाउँथ्यौ । इन्टेलिजेन्स ग्रुप बनाउँथ्यौ र दुश्मनको गतिविधि पत्ता लगाउँथ्यौ । एसल्ट ग्रुप बनाएर पहिला कसले प्रहार गर्ने भनेर छुट्याउँथ्यौ । हामीले बिरामी, घाइते भइन्छ भनेर उपचार गर्न मेडिकल टिम बनाउँथ्यौं । घाइते बोकेर ल्याउन स्टेचर बोकेर जाने अर्को टिम बनाउँथ्यौं । लडाइँमा मरिन्छ, मरेपछि खाल्टो खन्नुपर्छ भनेर साबेल बोकेर अर्को टिम जान्थ्यौं । यसरी सबै तयारीका साथ जाँदा त्यत्रो राज्यको सेनासँग हामी क्रमशः जित्दै जाने स्थिति हुन्थ्यो ।

आउनेवाला चुनाव पनि हाम्रो लागि त्यस्तै ब्याटलका रुपमा आउँदैछ । यदि हामीले आउनेवाला चुनाव हाम्रो लागि ब्याटल हो भनेर बुझ्यौं भने आजैदेखि तपाई–हामी सबैले त्यो ब्याटल जित्नका लागि आफूले गर्नुपर्ने भूमिका र त्यो जित सुनिश्चित गर्न लाग्नुपर्छ ।जालझेल गर्न, षड्यन्त्र गर्न, बाकस साट्न या सेटिङ मिलाएर चुनाव जसरी पनि हात पार्न माओवादी सिपालु छैन, त्यसमा काँग्रेस–एमाले नै सिपालु छन् । जालझेल गर्न र षड्यन्त्र गर्न, फट्याइँ गर्न उनीहरुसँग हामी सक्दैनौं । हामीले सक्ने भनेको फट्याइँ गर्नेलाई दनक दिनचाहिँ सक्छौं । उनीहरु जालझेल गर्न थाले ‘इँटको जवाफ पत्थरले’ दिएर सात्तो लिनचाहिँ सक्छौं ।
यो देशमा विडम्बना के भयो भने यति ठुलो परिवर्तन माओवादीले ल्यायो, अहिले माओवादीलाई अपमान गर्ने, माओवादी केही नै होइन भन्नेजस्तो केही प्रवृत्ति देखिएको छ, त्यो प्रवृत्तिलाई परास्त गर्ने भनेको आक्रामक भएर नै हो । मुठी उठाएर पनि प्रतिक्रियावादीको सात्तो लिने तागत हामीसँग छ ।

जनयुद्धको बेला जनताको छोराछोरीजस्तै भएर सेवा गरिन्थ्यो । गाउँमा कोही बिरामी भयो भने हाम्रो मेडिकल टिमले औषधि दिन्थ्यो । जनता खुशी हुन्थे र आफ्नै छोराछोरी ठान्थे । आफ्नो छाक काटेर हामीलाई खुवाउन खोज्थे । हामीलाई सुरक्षा दिन रातभरि जाग्राम बस्थे । आजभोलि हामी त्यस्ता छैनौं । आजभोलि हाम्रा सहिद परिवार कसरी बाँचेका छन् ! तिनको बाटो काटेर जान पाए कचकच सुन्नु पर्दैनथ्यो भन्याजस्ता भयौं हामी । घाइते अपाङ्ग आयो भने झमेला मानेजस्तो । ममात्र त्यस्तो ठाउँमा छु कि मैले जस्तोसूकै अप्ठ्यारोमा पनि त्यसलाई व्यहोर्नैपर्ने । जनताको सेवा गर्नेभन्दा पनि हामी आफ्नै सेवा गर्नतिर चिन्ता बढी हुन थाल्यो र जनसम्बन्ध कमजोर भयो ।

यो दुई महिना हामीले बल गरेर यो अभियानलाई लिएर जनताको घरमै बस्ने, समस्या सुन्ने, घाइते अपाङ्गको अवस्था कस्तो छ, त्यो सुन्ने । यद्यपि अहिले सहिद परिवार र घाइतेलाई अर्थ मन्त्रालयबाट एउटा प्याकेज प्रोग्राम आएको छ, त्यसलाई कार्यान्वयन गर्दा जनतालाई राम्रो राहत हुन्छ । त्यो कुरा पनि बताउने हामीले । हामी जनताको घरघरमा गएर आत्मसमीक्षा गर्ने । ‘हामी आफ्नो उद्देश्यबाट थोरै विचलित भयौं, तर हामीले महसुस ग¥यौं कि हामी तपाईंहरुकै छोराछोरी हौं, तपाईंहरुको सेवा गर्न हिँडेकै हो हामी, फेरि पनि तपाईहरुकै सेवामा समर्पित हुन चाहन्छौं, यो परिवर्तन तपाई–हामी सबै मिलेरै आएको हो, यसलाई जाली–फटाहाले उल्ट्याउन खोजेका छन्, हामी यसलाई उल्ट्याउन दिँदैनौँ, तपाईहरुले फेरि एक पटक हामीलाई साथ दिनुपर्‍यो ’ भनेर हामी आत्मसमीक्षासहित प्रस्तुत भयौं भने देशैभरि, ७७ वटै जिल्लामा जनताको मन जित्नसक्ने हैसियत हाम्रो अझै पनि कायम छ । त्यसकारण तपाईहरुले अहिलेदेखि नै योजना बनाउनु पर्‍यो । यो निर्वाचनको ब्याटल हामीले जित्नै पर्छ ।

अहिले हाम्रो स्थिति कमजोर छैन । प्रतिगमनविरोधी आन्दोलनमा प्राप्त गरेको सफलता र अहिले भर्खरै पनि प्रतिगमनतिर लैजाने षडयन्त्रलाई परास्त गर्न खेलेको भूमिकाको कारणले जनताले विस्तारै माओवादी केन्द्र नै हो हाम्रो हक हितको निम्ति लड्ने पार्टी र त्यसका निम्ति इमानदार पार्टी भन्ने फेरि एकपटक महसुस गरेको मैले देखेको छु । अझ तराई मधेसमा हजारौंको संख्यामा नेता कार्यकर्ताहरु र बुद्धिजिवीहरु माओवादी नै हो हाम्रो पार्टी भन्नेतिर केन्द्रित छन् र त्यसबाट प्रतिक्रियावादीहरु आतंकित भएका छन् ।

जनताको तहमा, बुद्धिजीवीको तहमा, श्रमिकको तहमा माओवादी केन्द्रप्रतिको आकर्षण बढेको छ । यो निर्वाचनलाई हामीले ‘लाइफ एन्ड डेथ’को स्ट्रगलको रुपमा बुझ्यौँ र आफ्नै खुट्टामा उभिएर लडाइँ जित्नुपर्छ, भोलि यो देशको बागडोर माओवादीले नै सम्हाल्नुपर्छ र विकास तथा समृद्धिको नयाँ यात्रातिर लान सक्ने तागत माओवादी नै हो भन्ने सिद्ध गर्नका लागि यो दुई महिना तपाई हामी सेना भएर निस्किन सक्नुपर्छ । केन्द्रीय समितिले बनाएको योजना कार्यान्वयन गर्ने हो भने यो दुई महिनामा धेरै चिज फेरबदल गर्न सकिन्छ ।
(नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार पार्टीको काठमाडौँमा आयोजित प्रशिक्षण कार्यक्रममा व्यक्त गरेका विचारका सम्पादित अंश)

प्रकाशित मिति : २०७८ चैत्र ३ गते बिहिवार