आदरणीय कमरेड बाबुराम भट्टराईज्यू,क्रान्तिकारी अभिवादन। अहिलेसम्म त शरीरभरि गोली बोकेर भौतिकरूपमा जेजेस्तो संर्घष गर्नु परे पनि वैचारिकरूपमा एकदमै आरामै रहेको खबर अवगत गराउन चाहन्छु। त्यहाँ तपाईंलाई पनि वैचारिकरुपमा सकिएको खबर पाए पनि भौतिकरुपमा आरामै रहोस् भन्ने कामना गर्छु। किनकि म पूर्वजनमुक्ति सेनाको एक लडाकु हुँ।
आदरणीय कमरेड, विशेष पत्र लेख्ने हामी लडाकुको निम्ति नवीन खबर त केही छैन। तैपनि शान्ति प्रक्रियापछि लामो समयको अन्तरालपछि तपाईंसँग वैचारिक भेट गर्ने जमर्को गरिरहेकी छु।
तपाईंले आज सामाजिक सञ्जालमा प्रकाश सपुतले गाएको ‘पीर’ गीतको संश्लेषण गरी यो कुरा सत्य हो भन्ने विश्लेषण गरेर जुन स्टाट्स लेख्नु भएको रहेछ। मैले त्यो स्टाट्स पढेँ। मलाई सारै पीर लाग्यो अनि मन खिन्न बनायो, त्यसैले म तपाईंलाई प्रश्न गर्न चाहन्छु। कमरेड आज तपाईं कहाँ हुनुहुन्छ? के गर्दै हुनुहु्न्छ? तपाईंलाई थोरै पनि लाज लाग्न छाडेको हो? छाडेको हो भने पनि हाम्रो लागि भए सानो रुमालले लाज छोपेर हिँड्ने गर्नुहोस् कमरेड। किनकि हामी लडाकु हुनुको नाताले इमान्दारिताका साथ प्रतिष्ठा जोगाइराख्न चाहन्छौं।
तपाईंजस्तो एउटा व्यक्तिगत स्वार्थ पूरा गर्नका निमित्त हजारौंको बलिदानी, लाखौंको समर्पण, करोडौंको संर्घषलाई लात मारेर पार्टी बदल्दै हिँड्ने राजनीतिमा तपाईंले गरेकोजस्तो ‘व्यस्यावृत्ति’ चरित्र हामी लडाकुले गरेका छैनौं, यो कुरामा ध्यानाकर्षण गर्न चाहन्छु।आदरणीय कमरेड जुन जनयुद्धमा मिठा सपना तपाईंले पनि बाँड्नुभएको थियो, ती सपनाहरु कसरी भुल्न सक्नुभयो? तपाईंले लड्नुपर्ने अग्रिम मोर्चामा हामी लडिदिएका थियौं, तपाईंले खानुपर्ने गोली हामीले थापिदिएका थियौं, र त आज तपाईं कुर्सीका लागि दौडिरहनुभएको छ।
आदरणीय कमरेड,
आज तपाईं आफूले गरेको आन्दोलन र भएका परिवर्तनमा पश्चताप गरिरहुनुभएको छ। जुन कुरा हामीले देखिराखेका छौं। हिजोका ती भयानक चुनौती पार गरी लडेर ल्याएको व्यवस्थामाथि तपाईंको औंला उठिरहेको छ। तपाईँ पछुतोको आगोमा जलिरहनुभएको छ। तर, हामीलाई जो गरेको दु:ख र संर्घषमा एउटा पनि पछुतो छैन।हामीले गरेको दु:ख कष्टबाट हाम्रो देशको व्यवस्था परिवर्तन भएको छ, हामी गर्व गर्छौ। भलै हाम्रो जीवनस्तर परिवर्तन भएको छैन, तैपनि हामी खुसी छौं र गलत प्रवृतिविरुद्ध लडिरहेका छौं। मागेर खाएका छौं। पार्टीभित्रबाट भागेर गएका छैनौं, पसिना बेचेर खाएका छौं, ‘इमेज’ बेचेर खाएका छैनौं।
आदरणीय कमरेड,
तपाईंलाई जनमुक्ति सेनाप्रतिको थोरै भए पनि माया अर्थात् दया थियो भने नेपाल सरकारको अर्थमन्त्री, प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्नुभएको थियो। तर, हामी लडाकुका निम्ति तपाईंले गरेको एsमात्रै काम के हो? आज के बोल्दै हुनुहुन्छ, तपाईं आफैँलाई थाहा छ नि?लडाकु महिलाले दुःखका दिन काट्नु, संर्घष गर्नु, विदेशिनु यो दोष प्रचण्डको मात्रै हो? यो जिम्मा तपाईंले लिनु पर्दैन? पर्दैन भने कसरी पर्दैन स्पष्टीकरण चाहिन्छ। प्रचण्ड पछाडिको लिडर हुनुको हैसियतले यो जिम्मा प्रचण्ड र तपाईंले बराबर लिनुपर्छ। तपाईंको व्यक्तिगत स्वार्थ पूरा नभएपछि पार्टी छोड्दैमा युद्धका समस्याबाट तपाईंलाई उम्कने सुविधा छैन। जनयुद्धकालका हरेक राम्रो र नराम्रो कामको हिस्सेदार तपाईं पनि हो।
आदरणीय कमरेड,
तपाईंले हामीलाई दिएको आदर्शमय विचारको पागल भएर हामीले कठिन दिनहरु बिताउनुपरे पनि बाटो भुलेका छैनौं। तर, तपाईं सुविधा खोज्दै ऐस-आरामको जीवन विताउने रहरमा आफ्नो वर्गलाई भुलेर सयौं कार्यकर्ताहरुको जीवनमा तुसारापात गरी आलिसान महल खोज्दै हिँड्नु भएको छ नि, त्यसको मूल्य महँगो हुनेछ।
पार्टी बदल्दैमा तपाईंले दिएको धोकालाई हामी छापामारहरुले सजिलै माफ गर्ने छैनौं। गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिँदै हिँड्ने छुट तपाईंलाई छैन र हामी छोड्दैनौं पनि। हिजो तपाईंका सुरक्षा निम्ति बोकेका बन्दुक तपाईंतिर पड्किन सक्छन्, हामी मरेर बाँचेकालाई मर्न डर छैन कमरेड ध्यान दिनुहोला। मानवीय बम बनेर तपाईंकै अगाडि पड्किदा तपाईंलाई थाहा नहुन सक्छ, तपाईंले नै सिकाएको युद्धकला हामीसँग भरपुर मात्रामा छ, हामीमाथि आइपरे जाइलाग्न पछि हट्ने छैनौं, हेक्का रहोस्।हाम्रो त्यो महान् इतिहासलाई अर्थहीन ढंगले प्रस्तुत गर्ने कोसिस कसैले गर्छ भने हामीले रगतले लेखेको इतिहासलाई बचाइराख्न जतिसुकै महँगो मूल्य चुकाउन हामी तयार रहेको खबर तपाईंलाई अवगत गराउन चाहन्छु कमरेड।
परिवर्तनको यो युगमा पुगिसक्दा पनि महिलाहरुले गर्नसक्ने काम जति पनि भएकाले र जस्तोसुकै काम गरेर खानसक्ने महिलाको क्षमता हुँदाहुँदै पनि शरीर बेचेरमात्रै खाना सक्छन् भन्ने तपाईंको बुझाइप्रति मेरो घोर विरोध छ। त्यसप्रति म खेद व्यक्त गर्न चाहन्छु। नयाँ समाजको निर्माण गर्ने महान् उदेद्श्यलाई भुलेर कम्युनिस्ट शब्दलाई उचारण गर्न नसक्ने बाटोमा हिँड्नुभएका नेतालाई योभन्दा धेरै लामो पत्र लेख्न चाहन्न, किनकि मेरो पत्रले तपाईंको मनमा प्राथमिकता पाउँदैन, त्यो पनि मलाई थाहा छ।
तसर्थ जनयुद्धले सबै क्षेत्रमा पुरातनविरुद्ध नविनताको उद्घाटन र स्थापन गर्दै अगाडि बढिरहेको छ भन्ने कुराको आशा एवं विश्वासका फूलहरु फूलाउँदै दौडिरहेका कलम यही विश्राम गर्ने अनुमति माग्दै विदा हुन्छु। अभिवादन।
उही पूर्वलडाकु छापामार
राममाया हमाल (क. रमिता घाइते)
कर्णाली प्रदेश जाजरकोट नलगाड नगरपालिका दल्ली