• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

पल शाहविरूद्धको मुद्दामा भोलि थुनछेक आदेश


नाबालिगमाथि बलात्कार मुद्दा लागेका पल शाह (पूर्णविक्रम शाह) र उनका म्यानेजर कृष्ण जोशीविरूद्ध तनहुँ जिल्ला अदालतमा बुधबार बहस भएको छ।जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा बहस भइरहेको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताए। बुधबार पीडितका तर्फबाट बहस भएको र बिहीबार पीडक पक्षका कानुन व्यवसायीले बहस गर्ने शर्माले जानकारी दिए।

‘वादीको तर्फबाट आज हामीले बहस गर्‍यौं, भोलि प्रतिवादीका तर्फबाट बहस होला,’ उनले भने, ‘बहस सकियो भने भोलि नै थुनछेक आदेश जारी हुन सक्छ।’पीडितका तर्फबाट बुधबार जिल्ला न्यायाधिवक्ता शर्मा, अधिवक्तारू मोहना अन्सारी, सरिता तिवारी, राधिका खतिवडालगायतले बहस गरेका थिए। बिहीबार पलका कानुन व्यवसायीले बहस गर्ने कार्यसूची छ।दुबै तर्फका कानुन व्यवसायीले बहस गरिसकेपछि अदालतले थुनछेक आदेश जारी गर्नेछ। थुनछेक आदेशमा बलात्कार अभियुक्त शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा तारेखमा छाड्ने आदेश जिल्ला न्यायाधीश ढुङ्गानाले निर्णय गर्नेछन्।पीडितका कानुन व्यवसायी टंकप्रसाद पौडेलले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश आउने सम्भावना बढी रहेको बताएका छन्।

‘बलात्कार मुद्दाको नजिर हेर्दा धरौटी वा तारेखमा छाडेका घटना कमै छन्,’ उनले भने, ‘मुद्दाको गम्भीरता हेरेर थुनछेक आदेश जारी गर्दा पीडक पुर्पक्षका लागि थुनामा पठाउने सम्भावना बलियो छ।’जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार पल विरूद्ध अधिकतम १४ वर्ष र उनका म्यानेजर कृष्णलाई बलात्कार मतियारका रूपमा ७ वर्ष कैद सजाय माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको थियो। मुद्दा दर्तालगत्तै अदालतले पलसँग बयान लिएको थियो भने कृष्णसँग बुधबार बयान लिएको जनाएको छ।अदालतले लिएको बयानमा पल र कृष्ण दुबैले जिल्ला न्यायाधिवक्ता र प्रहरी अनुसन्धान अधिकृतसमक्ष दिएको बयान नै दोहोर्‍याएका छन्।

‘अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेख गरिएकै बयान प्रतिवादीले अदालतमा दिएका छन्,’ जिल्ला न्यायाधिवक्ता शर्माले सेतोपाटीलाई भने, ‘हामीलाई दिएको बयानभन्दा फरक केही छैन।’अभियोग पत्रमा पलले बलात्कार अस्वीकार गरेका छन्। बलात्कार अस्वीकार गरे पनि अडिओमा सार्वजनिक उनको ‘र्गलफ्रेन्ड-ब्याइफ्रेन्डबीच हुनु भनेको नर्मल हो’ भन्ने अभिव्यक्ति आफ्नो भएको स्वीकारेका छन्। पीडित गायिका नाबालिग रहेको आफूलाई जानकारी रहेको र वारदात भएको स्थानमा मध्यरात बियर लिएर पीडितको कोठामा गएको पनि पलले स्वीकार गरेका छन्।

यस्तै, उनका म्यानेजर कृष्णले बलात्कार अभियोग मिलाउन पलले तलब दोब्बर मासिक ५० हजार दिएको, पीडितका आफन्तलाई ५० लाख रुपैयाँसम्मको आर्थिक प्रलोभन र मान्छे मार्न पनि पछि नपर्ने अभिव्यक्ति दिएको स्वीकारेका छन्।

झुठो प्रेमको प्रलोभनमा पारेर पटक-पटक बलात्कार गरेको भन्दै पीडित नाबालिगका परिवारले गत फागुन ११ गते तनहुँ प्रहरीमा र १५ गते नवलपुर प्रहरीमा उजुरी दिएका थिए। उजुरी परेपछि बेपत्ता भएका पल फागुन १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए। जाहेरीमा शाहले पोखरा, तनहुँ, नवलपुर लगायतका ठाउँमा बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन्।

प्रकाशित मिति : २०७८ चैत्र ९ गते बुधवार