• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

जसपाका प्रमुख सचेतकमाथि सांघातिक आक्रमण, घाइते सांसदलाई थप उपचारका लागि काठमाडौं ल्याइयो


साङ्घातिक आक्रमणबाट घाइते भएका जनता समाजवादी पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । आज विहान सर्लाही, इश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको थियो । आक्रमणमा परी उनी घाइते भएका थिए ।

साहको टाउकोमा गहिरो चोट लागेको छ । स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको सर्लाही जिल्लाका डिएसपी माधव बुढाथोकीले रातोपाटीलाई जानकारी दिए । इश्वरपुर नगरपालिकामा बाटो निर्माण गर्ने क्रममा दुई पक्षबीच झडप हुँदा उनीमाथि आक्रमण गरी घाइते बनाइएको डीएसपी बुढाथोकीले बताए । नगरपालिकाले बाटो विस्तार गर्दा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको जसपाका नेताहरुको भनाई छ । नगरपालिकाका मेयर मनोजकुमार देवकोटा पक्षधर मान्छेले साहमाथि आक्रमण गरेको जसपाका नेता राजकुमार दासले बताए । तर मेयर देवकोटाले भने उक्त आरोपलाई अस्वीकार गरेका छन् ।

मेयर देवकोटाले भने सांसद साहले भारतबाट गुण्डा ल्याएर आफूमाथि आक्रमण गर्न लगाएको आरोप लगाए । उनले भने, ‘हुलाकी सडक विस्तार कार्यक्रमअन्तर्गत नाला बनाउने काम भइरहेको थियो तर उहाँ (सांसद साह) ले आफ्नो पार्टी कार्यकर्ताको घर जोगाउनका लागि नाला बनाउन रोक्न खोज्नुभएको थियो ।’

मेयर देवकोटाले सांसद स्वयंले आफूमाथि आक्रमण गरेको दावी गर्दै उनको टाउकोमा कसरी चोट लाग्यो भन्ने थाहा नभएको बताए । साहले ल्याएका कार्यकर्ताहरूले आफ्नो गाडी तथा जेसीबी तोडफोड गरेको समेत मेयर देवकोटाको दावी छ । आक्रमण गर्ने दोषी भने पहिचान भइनसकेको डीएसपी बुढाथोकीले बताए ।

उनले भने, ‘दुई पक्षको बीचमा झडप भएको हो, सो झडपमा उहाँ घाइते हुनुभएको हो, आक्रमण गर्नेलाई अझै पहिचान गर्ने सकिएको छैन, छानविनका लागि प्रहरी खटिएको छ ।’

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार