• २०८१ साउन ९ गते बुधवार
  • Preeti To Unicode

यस्तो छ सांसद गंगा चौधरी रोएको भाइरल भिडियो पछाडिको अन्तरकथा


फेसबुकटिकटक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा यतिबेला प्रतिनिधि सभाकी एमाले सांसद गंगा चौधरीको १६ सेकेन्डको एउटा भिडियो क्लिप भाइरल भइरहे को छ । सो भिडियोमा सांसद चौधरीको पृष्ठभूमिमा दुई महिला सावेलले गिटी बालुवा खनिरहेको देखिन्छ ।सांसद चौधरीले भिडियोमा एक वाक्य बोलेकी छिन्– ‘दिदीबहिनीहरुको यस्तो अवस्था

देख्दा खेरी धेरै भावुक बनाउँछ ।’ भनेर उनी आँसु पुस्छिन् । उनले आँसु पुछेको दृश्य सुरु भएपछि कसैले भिडियो सम्पादन गरेर हाँसो वा मजाकको ‘इफेक्ट’ हालेको छ, जुन भिडियो उनले चुनावका लागि रोएर नाटक गरेको भन्दै भाइरल बनाइएको छ । सामाजिक सञ्जालहरुमा कतिपयले उनलाई चुनाव आउन लागेकोले नाटक गरेको भनेर हँस्सीमजाक गरेका छन् । कतिपयले अभिनय कलामा अब्बल रहेको समेत टिप्पणी गरेका छन् । तर सांसद चौधरीको पछाडिको दृश्यमा देखिएका दुई महिलासँग उनको जीवनका धेरै सुख दुःख र अनेक पीडाहरु गाँसिएका छन् ।खासमा उनीहरु अरु कोही अपरिचित महिला नभई एउटै गर्भबाट जन्मिएका दिदी बहिनी हुन् । पार्टीको कामको सिलसिलमा हालै धनगढी पुगेका बेला उनले आफ्नै माइली दिदी र कान्छी बहिनीलाई निर्माण मजदुरको रुपमा काम गर्दै गरेको अवस्थामा भेटिन । दिदी बहिनीलाई कार्यक्रम स्थलमा बोलाएर कुरा गर्न नपाएपछि उनी आफै उनीहरुले गरिरहेको स्थलमा पुगेकी थिइन् । दिदी बहिनीले विगतदेखि हालसम्म जीवनमा पाएका दुःखहरु सम्झेर उनी भावुक भएकी थिइन् ।

उनीहरुसँग छुट्टिने बेला सेल्फी फोटो खिच्दा भिडियो खिचिएको र असावधानीका कारण टिकटकमा अपलोड हुँदा त्यसलाई बिगारेर आफ्नो मजाक उडाइएको भन्दै उनले गुनासो गरिन् । रातोपाटीसँग कुरा गर्ने क्रममा पनि पटक–पटक रोएकी सांसद चौधरीले आफ्ना दिदीबहिनीका दुःखका कुराहरु सुनाइन् ।

यस्तो छ सांसद चौधरीको भनाई जस्ताको तस्तै :
उनीहरु मेरा आफ्नै दिदी बहिनी हुन् । मेरी जेठी दिदीपनि गाउँमै हुनुहुन्छ । । भिडियोमा देखिएकी एकजना मेरी माइली दिदी फूलकुमारी चौधरी हुन अर्की कान्छी बहिनी हिरादेवी चौधरी हुन् । म साइँली हुँ ।

उनीहरुका आफ्ना धेरै पीडाहरु छन् । म पार्टीको महिला संगठनको कार्यक्रमका लागि धनगढी पुगेपछि बहिनीलाई फोन गरेँ । बहिनीले हामी काम गरिरहेका छौँ दिदी भनिन् । उनीहरुलाई काम छोडेर आउ भन्दा उनीहरुको कामको ज्याला कट्टी हुन्छ । त्यसैले काम गरेकै ठाउँमा उनीहरुलाई भेट्न गएँ । धनगढीमा सहकारीको भवन बनाउने ठाउँमा उनीहरु खाल्टो खनिरहेका थिए । मैले छुट्टिने बेलामा सेल्फी लिन लागेको थिएँ । भिडियो बनेछ । त्यो बेला मेरा दिदी बहिनीले दुःख सम्झिँदा आफूलाई थाम्न सकिन । मेरी माइली दिदीलाई उनका श्रीमानले छोडेर अलपत्र पारेर गए । उनको आफ्नै पीडा छ । अर्को कान्छी बहिनीको पनि श्रीमानले सौता हालेको छ । केही सम्पत्ति नभएकी बहिनीलाई अंश मुद्धा पनि हालेको छ । ज्याला मजदुरी गरेर तीनजना छोराछोरी पालिरहेकी छिन् । यस्तो अवस्था देख्दा हरेक आमाको, हरेक दिदी बहिनीको आँखामा आँशु आउँछ ।

मिडियाले त के–के बनाउँदो रहेछ के–के । मिडिया भनेको कति फटाहा हुँदोरहेछ भन्ने कुरा यहाँबाट पनि थाहा हुन्छ । कान्छी बहिनी यति धेरै पीडामा छिन् कि हामी भेटेको बेला सँगै रोयौँ । श्रीमान र सौताले उसलाई दिनुसम्म दुःख दिएका छन् तर उनले अदालतबाट पनि न्याय नपाएको अवस्था छ । बहिनीको श्रीमानले अर्कैको २ बच्चा भएको महिला बिहे गरेर आफ्नै बच्चा भएको भन्दै बच्चालाई सम्पत्ति दावी गर्दै मेरी बहिनीलाई मुद्धा हाले । पछि कतार गएर पनि मेरी बहिनीलाई गाली गलौज गरेर सुखले बस्न दिएनन् ।

उसकी कान्छी श्रीमतीले मेरी बहिनीसँग अंश माग्दै वर्षौसम्म झगडा गरेर हैरान गरेकी छिन् । बहिनी १४ धुर ऐलानी जग्गामा बसेकी थिइन् । जग्गा मिलाउन मिल्छ कि भनेर उनले मसँग २० हजार कहिले १० हजार माग्थिन् । उनको श्रीमानले कतारबाट खाली तनाव मात्रै दिइरह्यो । पछि मैले बहिनीलाई जिल्ला अदालतमा मुद्दा हाल्न लगाए । मुद्दा हालेपछि उनको श्रीमान विदेशबाट आयो । बहिनीले दुई वर्षसम्म अदालतमा मुद्दा लडिन् । एक त उनीसँग खान लाउनको ठूलो समस्या रहेको थियो । अर्कोतिर साना बच्चाहरुको लालन–पालनको दुःख,अर्कोतिर सौताले तनाव दिइरहने अवस्था ।

पछि उसको श्रीमानले धेरै ऋण लिएर ट्रक चलाउन थालेको थियो, प्रेसरले हानेर उ बिरामी पर्यो । त्यतिबेला म संविधानसभा सदस्य थिएँ । बहिनीलाई पैसा पठाएर बिरामीलाई उपचारका लागि प्लेनमा ल्याउन लगाएँ । वीर अस्पतालमा भर्ना गरेर उपचार गराएँ । राम्रो गराएर अहिले मान्छे हिड्न सक्ने भएको छ । अहिले फेरि मेरी बहिनीलाई मारपिट गर्न थालेको छ । कान्छी बहिनी र माइली दिदी नजिकै बस्छन् । मेरी माइली दिदीलाई उसले आजभन्दा ठीक एक वर्षअघि लकडाउनको समयमा चिर्पटले टाउकोमा हानेर बेहोस बनायो । पुलिसले कोरोनाको समय भनेर उजुरी समेत लिएन । मान्छे मर्ने अवस्थामा पारेको बेला मैले पुलिसलाई फोन गर्दा समेत पुलिसले निवेदन दर्ता गरेन ।

ती दिदी बहिनी सुख–दुःख गरेर बसेका छन् । मलाई देखेपछि उनीहरु पनि रुन्छन् । तिनीहरुले पाएको पीडाहरु सम्झेर म पनि रुन्छु । उनीहरुलाई सम्झँदा अहिले पनि मेरो आँखाबाट आँशु खसिरहेको छ । धनगढीमा पार्टीको महिला संगठनको कार्यक्रम थियो । ११ बजे कार्यक्रम थियो म १० बजे उनीहरुलाई भेट्न गएको थिए । सुख–दुःखको कुरा गर्न थालियो । उनीहरुले अब त मरेर गएपनि के भयो र झन् सुख पाइन्छ भने । उनीहरुलाई यति धेरै पीडा छ कि अदालतमा मुद्दा चलिरहेको छ । जहिले पनि पैसा छैन् के गर्ने भन्छन् । मैले कहाँबाट पैसा ल्याएर उनीहरुलाई दिउँ ? उनीहरुले दिनभरी मजदुरी गर्दा ५ सय रुपैयाँ पाउँछन् । त्यो पैसाले ३ जना बच्चालाई कसरी पाल्ने, के खुवाउने, कसरी पढाउने, आफू खाने कि बच्चालाई खुवाउने ? पीडा छैन र ?

मेरो बाबाले पढ्–पढ् भन्नुहुन्थ्यो, मेरो दिदी बहिनीले पढेनन् । मैले चाहिँ पढें अहिले यो ठाउँमा पुगेँ, आज मेरा दिदी बहिनीको यस्तो पीडा छ, तैपनि मैले सहयोग गर्न सकिरहेको छैन । म ठूलो पीडादायी अवस्थाबाट गुज्रिरहेको छु । अहिलेको परमादेशी सरकारका कार्यकर्ताले पीडामा रुन पनि नदिने रहेछन् । उनीहरुसँग छुट्टिने बेला सेल्फी खिचेको थिएँ । मलाई राम्रोसँग टिकटक चलाउन आउँदैन । त्यो टिकटकमा गएछ तर मैले हटाउन जानिन । अहिले त्यसलाई बिगारेर मलाई गाली गर्दा रहेछन् । बहिनीको छोराहरुलाई मैले पढाएर सहयोग गरिरहेको छु । उनीहरु मजदुरी गरेर दुःखले गुजारा गरिरहेका छन् । अहिले तपाईंसँग कुरा गर्दा उनीहरुको दुःख सम्झेर मेरो आँखा रसाइरहेको छ । म बाहिर हेर्दा जति कठोर देखिएपनि कसैको पनि पीडा देख्न सक्दिन ।

म चुनाव लड्छु लड्दिन मलाई थाहा छैन, मलाई कुनै नाटक गर्नुपनि छैन् । म मेरो दिदी बहिनीको दुःख देखेर रोएको हुँ । मैले मेरा दिदी बहिनीको दुःखमा रुन पनि नपाउनु ? आफ्नो मान्छेको पीडामा रुन पनि नपाउने, आफ्नो मान्छेको खुसीमा हाँस्न पनि नपाउने यो कस्तो हाम्रो संस्कार ?

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार