• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

कांग्रेस केन्द्रीय समितिमा एमालेको चुनावी सर्वेक्षणको चर्चा


काठमाडौं नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रतिपक्षी नेकपा एमालेको चुनावी सर्वेक्षणको चर्चा भएको छ।शुक्रबारदेखि केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा चुनावी गठबन्धन गर्ने विषयमा तीव्र मतभेद देखिएको छ। केन्द्रीय सदस्यहरु गठबन्धन गर्न हुने र नहुने भनेर विभाजित भएका छन्। गर्नै पर्ने भए पनि तल्लो कमिटीलाई नै अधिकार दिनुपर्ने

मत राखिरहेका छन्।आइतबार पनि केन्द्रीय सदस्यहरुले मिश्रित धारणा राखेका छन्। धेरैले गठबन्धन गर्दा त्यसको निर्णय गर्ने अधिकार पार्टी स्थानीय कमिटीलाई नै दिनुपर्ने धारणा राखेका छन्। गठबन्धनको पक्षमा बोल्ने सदस्यहरुले एमालेको चुनावी सर्वेक्षणसमेत सुनाएका छन्।केन्द्रीय सदस्य एनपी साउदले गठबन्धन गर्दा कम सीटमा जित्ने एमालेको रिपोर्ट आफूले पाएको भन्दै केन्द्रीय समितिमा सुनाएका थिए। उनका अनुसार एमालेले गरेको सर्वेक्षणमा एक्ला एक्लै गयो भने तीन सय सीट जित्ने र गठबन्धन भयो भने दुई सय सीटमात्रै आउने देखिएको छ।‘एमालेको कुनै स्रोतबाट जानकारी प्राप्त भएअनुसार उनीहरुको एक्लाएक्लै गयो भने ३ सय सीट र गठबन्धन भयो भने दुई सीटमा मात्रै आउने भन्ने उनीहरुको आफ्नो सर्वेक्षण छ,’ साउदले भने, ‘त्यसकारण गठबन्धनले कांग्रेसलाई नोक्सान गर्दैन। गठबन्धनले नोक्सान गर्ने भनेको एमालेलाई हो।’

साउदले नेपालको संविधानमा उल्लेख गरिएको निर्वाचन पद्धति पनि गठबन्धन संस्कृतिमा आधारित रहेको जिकिर गर्दै गठबन्धनमै जानु उपयुक्त हुने धारणा राखे।‘केन्द्रमा पनि हाम्रो गठबन्धन नै छ। पहिले पनि हामीले सरकारमा रहेर निर्वाचन गर्दा एमाले पहिलो पार्टीका रुपमा आएको परिस्थिति थियो। अहिले पनि वामपन्थी ध्रुवीकरणलाई निष्तेज गर्नुपर्ने छ। त्यसकारण गठबन्धनमै जानु उपयुक्त हुन्छ,’ उनले भने। साउदले अधिकतम पार्टीबीच साझेदारी गरेर अगाडि बढ्ने सुविधा कांग्रेसलाई प्राप्त भएको र यो सुविधाको प्रयोग गरेर अगाडि बढ्नुपर्ने धारणा राखे।

उनले निर्वाचन समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उपयुक्त मान्छेलाई उम्मेदवार छनोट गर्ने र लोकप्रियतालाई मुख्य आधार बनाउनेमा जोड दिएको बताए।अर्का केन्द्रीय सदस्य रंगमती शाहीले गठबन्धनलाई धोका दिनुहुँदैन, मिलेर जानुपर्छ भन्ने धारणा राखेको बताइन्। ‘उनीहरुले सहयोग गरे। आश गरेका छन्। अहिले उनीहरुलाई अलपत्र पार्नुहुँदैन,’ उनले भनिन्। शाहीले नागरिकता विधेयक चुनावअघि अगाडि अध्यादेशमार्फत् भए पनि ल्याउनुपर्ने माग गरिन्।अरु सदस्यहरुले पनि आवश्यकताअनुसार गठबन्धन गर्नुपर्ने र तालमेलको अधिकार स्थानीय तहलाई दिनुपर्ने धारणा राखेको उनले जानकारी दिइन्।

आइतबार साउद र शाहीसहित ५४ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। सभापति शेरबहादुर देउवा भने केही बोलेनन्।शुक्रबारको बैठकमा भने चुनावी गठबन्धनको विपक्षमा धारणा राख्ने नेताहरुले तालमेल गर्दा कंग्रेस आईकै हालत हुनेसम्मको कुरा बोलेपछि देउवा आक्रोशित बनेका थिए। चुनाव पनि हार्ने र गठबन्धनको पनि विरोध गर्ने भन्दै जितेर देखाउन चुनौती दिएका थिए।

शनिबार पनि एक कार्यक्रममा देउवाले कम्युनिस्ट फुटिहाले जितिहाल्छौं भन्ने भ्रम नपाल्न आग्रह गरेका थिए। एमाले अझै बलियो रहेको भन्दै कांग्रेसले गठबन्धन नगर्ने हो भने प्रचण्ड एमालेसँग मिल्ने सम्भावना कायमै रहेको बताएका थिए। उनले एमाले र माओवादी मिल्न दिउ भन्ने हो भनेर मञ्चमै बसेका नेता शेखर कोइरालालाई प्रश्न गरेका थिए। जवाफमा कोइरालाले मिल्छन् भन्ने चिन्ता आफूहरुलाई भएको बताएका थिए। देउवाले गठबन्धन नगर्दा एमाले-माओवादी फेरि मिल्न सक्ने कांग्रेस फेरि हार्ने कुरा बुझाएपछि पहिलो दिन तालेमलको विपक्षमा तातेको केन्द्रीय समिति दोस्रो दिन आइतबार भने गठबन्धनको पक्षमा लचक देखियो।

केन्द्रीय समितिको बैठक सोमबार पनि ११:३० बजे केन्द्रीय कार्यालय सानेपामा निरन्तर जारी रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। भोलिको बैठकले चुनावी तालमेल, मोडालिटीबारे टुंगो लगाउने छ।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार