• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

अध्यक्ष र उपाध्यक्षबीचको विवाद छताछुल्ल, एउटै कार्यालय भवनको दुई ठाउँमा शिलान्यास


वीरगन्ज :पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद छताछुल्ल भएको छ। गाँउपालिकामा निर्वाचित भएदेखि नै अध्यक्ष प्रदीप जयसवाल र उपाध्यक्ष फुलमतिदेवी चौधरीबीच चल्दै आएको विवादले अहिले झन उग्ररुप लिएको छ।दुवै जना तत्कालीन संघीय समाजवादी फोरमबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका हुन्। अहिले

उनीहरु दुवै जना हालको जसपामै छन्।एकले अर्कालाइ भ्रष्टाचारको आरोप लगाउँदै आएका अध्यक्ष र उपाध्यक्षले सोमबार दु्ई छुट्टा छुट्टै स्थानमा गाँउपालिका कार्यालयको भवनको शीलन्यास गरेका छन्।सोमबार बिहान ८ बजे उपाध्यक्ष चौधरीले केही वडाअध्यक्ष र राजनीतिक दलका स्थानीय नेताहरुलाईसँगै राखेर वडा नम्बर २ मा रहेको ९ कठ्ठा सार्वजनिक जग्गामा गाँउपालिका कार्यालयको शिलान्यास गरेकी छिन्।सोमबार नै दिउँसो अध्यक्ष जयसवालले पनि वडा नम्बर २ पचगावा बजार छेउँकै अर्को जग्गामा गाँउपालिका कार्यालय भवनको शिलन्यास गरेका छन्। गाँउपालिका भवन निर्माणका लागि अध्यक्ष जयसवालले गाँउपालिकालाइ नि:शुल्क दान दिएको ९ कठ्ठा २ धुर जग्गामा जसपा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवबाट भवनको शिलन्यास गराएका हुन्।एउटै पालिकाको भवन निर्माणका लागि अध्यक्ष र उपाध्यक्षले दुई छुट्टा छुट्टै भवन निर्माणका लागि भन्दै शिलान्यास गरेपछि दुवै जनाबीचको विवाद झन छताछुल्ल भएको हो।

उपाध्यक्ष चौधरीले भ्रष्टचारमा लिप्त अध्यक्ष जयसवालले बाटो नभएको आफनो खेतको मुल्य बढाउने नियतले गाँउपालिका भवनका लागि जग्गा दान दिएर जनतामा भ्रम छर्न खोजेको बताइन्। सोमबार आफूले शिलान्यास गरेकै जग्गामा गाँउपालिका भवन बन्ने बताउदै चौधरीले भनिन्,‘अध्यक्षले दिएको जग्गामा भवन बनाउने निर्णय बोर्ड बैठकबाट भएकै छैन, अध्यक्षले आफ्नो जग्गाको मुल्य बढाउन आफूखुशी एकलौटी निर्णय गरेकाले त्यहाँ भवन बन्दैन।जनताले रोजेको ठाँउमा गाँउपालिका भवन निर्माण हुने भन्दै उनले भनिन्,‘भवनका लागि ५० लाख रुपैयाँ बजेट गाँउपरिषदबाट पास भइसेको छ, जनताको चाहना मैले शिलान्यास गरेको ठाँउ हो।’

यता अध्यक्ष जयसवालले भने भवन निर्माणका लागि आफूले गाँउपालिकाको नाममा नि:शुल्क जग्गा पास गरिदिएको बताए। यसले आफ्नो लोकप्रियता बढेको देखेर उपाध्यक्ष चौधरीले हतारहतारमा अर्कै ठाँउमा शिलान्यास गराएपनि त्यसको कुनै तुक नभएको जयसवालले बताए। उनले भने,‘उपाध्यक्षको पारा सुरुदेखि नै यस्तै छ, राम्रो काम गर्न खोज्दा जहिले पनि भाँजो हाल्छिन्। सोमबार आफूले शिलान्यास गराएकै जग्गामा गाँउपालिकाको भवन निर्माण हुने जिकिर उनले गरे। साढे ४ वर्षदेखि कार्यालय भाँडाको घरमा सन्चालन हुँदै आएकाले अब आफ्नै भवनमा सन्चालन गर्नुपर्छ भनेर आफूले ९ कठ्ठा २ धुर जग्गा गाँउपालिकाको नाममा नि:शुल्क रजिष्ट्रेशन पास गरी दिएको उनले बताए।

गाँउपालिकामा तालाबन्दी
यसअघि आइतबार गाँउपालिकाको कार्यालयमा उपाध्यक्ष चौधरीको अगुवाइमा त्यहाँका राजनीतिक दलहरुले तालाबन्दी पनि गरेका छन्।अध्यक्ष जयसवालले पारदर्शीता नराखेको र व्यापक भ्रष्टाचार गरेको भन्दै विभिन्न आठ राजनीतिक दलले गाँउपालिका कार्यालयमा तालाबन्दी गरेका हुन्। चार आर्थिक वर्षको गाउँपालिकाको सम्पूर्ण आयव्यय, कर्मचारी नियुक्ति लगायतका विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै तालाबन्दी गरिएको हो।नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी, नेपाल सुशासन पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको नेकपा एमालेका नेता यसवन्त यादवले बताए।

गाउँपालिकाको सम्पूर्ण खर्च तथा आम्दानीको विवरण सार्वजनिक गर्नुपर्ने माग गरेपनि अध्यक्ष जयसवालले उपलब्ध गराउन आनाकानी गरेकोले तालाबन्दी गरिएको यादवको भनाई छ।
गाँउपालिका अध्यक्ष जयसवालले भने गाँउपालिका कार्यालयको भवन निर्माणका लागि सोमबार आयोजित शिलान्यास कार्यक्रमलाई प्रभावित गर्ने उद्देश्यले विपक्षीहरुले तालाबन्दी गरेको आरोप लगाए।यसअघि तीन हप्ता पहिले गाँउपालिका कार्यालयमै अध्यक्ष जयसवाल र उपाध्यक्ष चौधरीबीच गाउँपरिषदको विषयलाइ लिएर हात हालाहाल नै भएको थियो।अध्यक्ष जयसवालको कार्यकक्षमै पुगेर उपाध्यक्ष चौधरीले जयसवाल माथि पानीको बोत्तलले प्रहार गरेपछि त्यो घटनाको विषय प्रहरी कार्यालयसम्म पुगेको थियो।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार