• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

प्रतियुनिट ३८ रुपैयाँमा पनि किन्न नपाएपछि उद्योगमा काट्न थालियो बिजुली


काठमाडौंनेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा बिजुली कटौती थालेको छ ।भारतको प्रतिस्पर्धी बजारबाट प्रतियुनिट ३८ रुपैयाँमा पनि बिजुली खरिद गर्ने गरी ‘बिड’ (बोलकबोल) गर्दा पनि अरुले नै महंगोमा किनेपछि उद्योगमा साँझ र रातिको समयमा बिजुली कटौती सुरु गरेको हो । यसले उद्योगहरुमा अघोषित ‘फोर्स लोडसेडिङ’को अवस्था आएको

छ ।बिजुली किन्दा बिड नपरेका दिनमा साँझ बजेदेखि विहान ६ बजेसम्म उद्योगहरूमा अवस्था हेरेर बिजुली कटौती हुनसक्ने प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले बताए । उनका अनुसार बिड नपरेका दिनमा साँझ र राति उद्योगहरूमा ३३० मेगावाटसम्मको बिजुली कटौती गर्न थालिएको छ । रूस-यक्रेन युद्धका कारण कोइलाको अभाव चर्किएपछि भारतमा बिजुलीको मूल्य उच्च दरमा पुगेको छ ।प्रतियुनिट भारु २० रुपैयाँसम्म पनि बिड नपरेपछि त्यसभन्दा माथि मूल्यमा गएर खरिद नगर्ने बताए । ३८ रुपैयाँमा किनेको बिजुली नेपालमा औसत ९ रुपैयाँमै बेच्नुपर्छ । यसले दैनिक २२ करोडसम्म घाटा हुन्छ भने यही अवस्था ३५ दिनसम्म रहे ८ अर्ब रुपैयाँ नोक्सानी हुने अवस्था रहेको प्राधिकरणको दावी छ।

भारतमा ऊर्जाको मूल्य एक्कासी बढेको र सस्तो मूल्यमा प्रस्ताव गर्दा बिजुली नै नपाएको हुनाले केही दिन नेपालमा बिजुली अभाव हुने अवस्था देखिएको प्रवक्ता भट्टराईले बताए ।भारतबाट महँगोमा बिजुली किनेर बेच्दा प्राधिकरणलाई घाटा त हुन्छ नै, वित्तीय संकटको जोखिम पनि बोक्नुपर्ने हुनसक्छ । यो संकटविरुद्ध मिलेर लड्नुपर्ने भन्दै विद्युत प्राधिरकणले मूल्यका कारण हुने नोक्सानी केही प्रतिशत हिस्सा लिएर सहयोग गर्न सरकार र उद्योगीहरुलाई आग्रह गरेको थियो ।

तर नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सिमेन्ट उद्योग संघ, स्टिल उत्पादक संघ लगायतका संघ संगठनले तोकिएको मूल्यमा नियमित विद्युत् आपूर्तिको दायित्व प्राधिकरणको हुने भएकाले दायित्व बोक्न नसक्ने जवाफ दिएका थिए ।अहिले करिब ३० प्रतिशत बिजुलीको माग आयातबाटै धान्नुपर्छ । अहिले दैनिक ३१ हजार मेगावाट आवर बिजुलीको माग रहेकोमा १२ हजार मेगावाट आवर विजुलीमा भारतको भर छ ।

यही बेलामा भारतीय बजारमा बिजुलीको मूल्य महँगिएको छ । विद्युत प्राधिकरणका अधिकारीहरुका अनुसार ‘बिड’ (बोलकबोल) नपर्दा गत मंगलबारबाटै पर्याप्त बिजुली आयात गर्न समस्या परिसकेको थियो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसलाई विद्युत आपूर्तिमा केही समय आएको संकट भन्दै आएका छन् । सुख्खा मौसममा आन्तरिक उत्पादनले माग थेग्न नसकेपछि भारतबाट विजुली आयात गरेको तर भारतमा मूल्य उच्च भएकाले खरिद नगर्दा समस्या देखिएको प्राधिकरणको दावी छ ।

यो केही दिनको मात्र समस्या भन्दै कुलमानले गत हप्ता गरेको पत्रकार सम्मेलनमा भनेका थिए, ‘यो केही दिनको क्राइसिस हो, १५-२० वर्षपछि आएको क्राइसिस हो, अहिले पनि हामी लोड बढाउने नै हो, लोडसेडिङ हुँदैन, कारणबस तामाकोशी आयोजना चल्न नसक्दा आउने संकटजस्तै हो ।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार