• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

अन्ततः एमालेविरुद्ध बन्ने भयो महागठबन्धन ( भिडियो सहित )


काठमाडौंप्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध चुनावी महागठबन्धन बन्न पक्का भएको छ । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्नसक्ने’ निर्णय गरेसँगै सत्ता गठबन्धनका सबै दल चुनावी महागठबन्धनको पक्षमा उभिएकाहुन्।सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,

जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा यसअघि नै चुनावी तालमेलको पक्षमा उभिइसकेका छन् । गठबन्धनका अन्य दलले कांग्रेसकै औपचारिक निर्णय पर्खिरहेका थिए । कांग्रेस केन्द्रीय समितिको मंगलबार सम्पन्न बैठकले तालमेलको पक्षमा निर्णय लिएको छ ।‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्नसक्ने नीतिगत निर्णय यो बैठक गर्दछ’, कांग्रेसको निर्णयमा भनिएको छ ।कांग्रेसले आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णयमा पुग्नुअघि ३ दिनसम्म केन्द्रीय समितिमा छलफल गरेको थियो । छलफलमा अधिकांशले स्थानीय तहको निर्वाचन भएकाले आवश्यक स्थानमा तालमेल गर्नुपर्नेमा जोड दिएका थिए । सभापति शेरबहादुर देउवा स्वयंले ‘एमाले अझ बलियो भएकाले तालमेल गर्नैपर्ने’ बताएका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले त बैठकमा विशेष समय लिएर ‘केपी ओलीलाई साइजमा राख्न’ चुनावी तालमेल गर्नुपर्ने बताएका थिए । ‘एमालेविरुद्ध हाम्रो मुख्य प्रतिस्पर्धा हो । बरु माओवादी र समाजवादीलाई भोट हालेर भएपनि एमालेलाई साइजमा राख्नुपर्छ’, पौडेलले बैठकमा भनेका थिए । गठबन्धनको पक्षमा रहेका सबै जसो नेताहरुले ‘तालमेल नगरे स्थानीय निर्वाचनमा एमाले नै पहिलो हुने’ तर्क पेश गरेका थिए । सभापति देउवाले त सार्वजनिक कार्यक्रममै ‘एमालेको शक्ति नघटेको’ टिप्पणी गरेका थिए । यहीकारण कांग्रेसले स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

कांग्रेसका एक केन्द्रीय सदस्य ‘आवश्यकता’ भन्नु नै एमालेलाई जित्न नदिने रणनीति भएको बताउँछन् । ‘जहाँ जहाँ हामीले सहज ढंगले जित्छौ त्यहाँ ठिकै छ । जहाँ हामीभन्दा एमाले बलियो छ त्यहाँ तालमेल हुन्छ । तालमेल भनेको हामीले जित्न मात्रै होइन, एमाले हराउन पनि हो’, ती केन्द्रीय सदस्यको भनाई छ ।कांग्रेस केन्द्रीय समितिले निर्णय गर्नु अघि र पछि गरेर झण्डै १ दर्जन जिल्लामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी लगायतका दलले तालमेलको निर्णय गरिसकेका छन् । कैलाली, कास्की, अर्घाखाँची,धनकुटा, ते¥हथुम लगायतका जिल्लामा चुनावी तालमेल गर्ने निर्णय स्थानीय तहमा भइसकेको छ ।

आसन्न स्थानीय निर्वाचनमा एमालेविरुद्ध हुने महागठबन्धन संघीय निर्वाचनसम्म लैजाने प्रतिवद्धता शीर्ष तहमा व्यक्त भइकसकेको छ । त्यहीकारण नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बारम्बार तीनै तहको निर्वाचनमा तालमेल हुने र एमालेलाई परास्त गर्ने अभिव्यक्ति दिदै आएका थिए । कांग्रेसको निर्णयले गठबन्धनमा रहेका अन्य दलहरुपनि उत्साहित भएका छन् । ‘कांग्रेसले गरेको निर्णय स्वागतयोग्य छ । संविधान जोगाउन सहकार्य गरेका दलहरुबीचको तालमेलले प्रतिगामी शक्तिलाई धक्का दिनुपर्छ’, एक माओवादी नेताले भने ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल सत्ता गठबन्धनमा संकट नआओस् भन्ने चाहन्थे । यहीकारण गठबन्धनमा रहेका दलहरुलाई चुनावी तालमेल गरेर ‘राजनीतिक संरक्षण’ दिनुपर्ने बाध्यता देउवालाई थियो । पार्टीभित्रको विपक्षी समूहलाई पनि चित्त बुझ्ने गरी ‘स्थानीय अवस्था र आवश्यकता अनुसार गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्ने’ निर्णय गराउन देउवा सफल भएका छन् । कांग्रेसको नीतिगत निर्णयले स्थानीय आवश्यकताका नाममा गठबन्धनबाहेकका दलसँग तालमेल गर्न निषेध पनि गरेको छ । यहीकारण अब ७ सय ५३ वटै स्थानीय तहमा प्रमुख प्रतिपक्षी नेकपा एमालेविरुद्ध महागठबन्धन भिड्ने पक्का भएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार