• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

जम्बो टोलीसहित प्रधानमन्त्री देउवा दिल्ली जाँदै, यस्तो छ भ्रमण तालिका


प्रधानमन्त्रीशेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी भारत जान लागेका हुन् ।प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही

चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । देउवा स्थानीय समयानुसार शुक्रबार दिउँसो २ः५० बजे भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । शुक्रबार दिउँसो ४ः३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले होटल आइटीसीमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । शुक्रबारको कार्यक्रम यही अन्त हुनेछ । शनिबार स्थानीय समय अनुसार विहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयुक्त विज्ञप्ति जारी गरिनेछ ।

शनिबार नै दिउँसो ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्री देउवा आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुनः नयाँदिल्ली हुँदै उनी त्यहाँबाट ४ः१५ बजे स्वदेश फर्कनेछन् । भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहेका छन् । भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी छन् ।

जम्बो टोली
प्रधानमन्त्री शेरबहादुर देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै आज दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।
प्रधानमन्त्री देउवा आज अपराह्न नेपाली टोलीको नेतृत्व गर्दै तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनायो । भ्रमण टोलीमा परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री लगायत रहने छन् ।भारत बसाइको क्रममा प्रधानमन्त्री देउवाले द्विपक्षीय हित, सहयोग अभिवृद्धि लगायतका विषयमा भारतीय पक्षसँग छलफल गर्ने छन् ।

भारतसँग रासायनिक मलको सहज आपूर्ति, बिजुली आयात–निर्यात, सीमा विवाद लगायतका विषयमा छलफल गर्ने तयारी छ । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको एजेण्डा सार्वजनिक गरेको छैन ।प्रधानमन्त्री देउवाले १९ गते प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही अवसरमा दुवै देशका प्रधानमन्त्रीले जनकपुर जयनगर रेल सेवाको संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार