• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमालेद्वारा विराटनगरको मेयर र उपमेयर पदको उम्मेदवार सिफारिस, छुटे चर्चामा रहेका लालबाबु


नेकपा एमालेले विराटनगर महानगरपालिकाको प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) पदको उम्मेदवार सिफारिस गरेको छ । एमालेले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि प्रमुखमा ५ जना र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको हो । एमालेको विराटनगर महानगर कमिटीको बैठक शनिबार पार्टी कार्यालय पाञ्चालीमा बसेको थियो ।

प्रमुखको उम्मेदवार सिफारिस गरिएकाहरुमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराई रहेका छन् । एमालेले उम्मेदवारको रुपमा चर्चामा आएका केन्द्रीयस्तरका नेताको नाम भने सिफारिस गरेन । यसअघि एमालेका केन्द्रीय नेता तथा पूर्वमन्त्रीहरू लालबाबु पण्डित, जीवन घिमिरेलगायतको नाम चर्चामा ल्याएको थियो ।
सिफारिस गरिएको नाममध्ये थापा एमाले विराटनगरका अध्यक्ष हुन् भने साह केन्द्रीय सदस्य, कार्की जिल्ला उपाध्यक्ष, बस्नेत र भट्टराई प्रदेश सदस्य हुन् ।

यस्तै एमालेले उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल, अन्जु उपाध्याय (शिला) को नाम सिफारिस गरेको छ । कार्की एमाले महानगरपालिकाकी उपाध्यक्ष हुन भने दाहाल प्रदेश सदस्य र उपाध्याय जिल्ला सदस्य हुन् । जिल्लाले प्रदेशमा पठाएपछि प्रमुख र उपप्रमुखको नाम टुंग्याउने बताइएको छ ।

यसैबीच एमालेले तीन वटा वडाको वडाअध्यक्षसहित सदस्यहरूको नाम टुंगो लगाएको छ । विराटनगर १०, ११ र १९ नम्बर वडाको उम्मेदवारी सर्वसम्मतिले टुङ्ग्याएको हो । विराटनगर १० को वडाअध्यक्षमा अर्जुन गिरी, ११ मा तिर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेलाई पार्टीले वडाअध्यक्षको उम्मेदवारी बनाउने सर्वसम्मतिले टुंगो लगाएको एमाले विराटनगरका अध्यक्ष सागर थापाले बताए ।

न्यौपाने विराटनगर ११ का हालका वडाअध्यक्ष हुन् । सिफारिसमा परेका अन्य भने नयाँ अनुहार हुन् । बाँकी रहेका १६ वटा वडाका उम्मेदवार पनि केही दिनभित्रमा टुंग्याउने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार