• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

प्रचण्ड कि अर्की बुहारी पोखरा महानगर बाट उठ्ने !


पोखरा — नेकपा (माओवादी) केन्द्रको पोखरा महानगर कमिटीले अध्यक्ष पुष्पकमल दाहालकी बुहारी सिर्जना त्रिपाठीलाई उपप्रमुखको उम्मेदवारमा सिफारिस गरेको छ । महानगर कमिटीको सोमबार सम्पन्न पूर्ण बैठकले पोखराको प्रमुख र उपप्रमुखमा ३–३ जनाको नाम सिफारिस गर्दा त्रिपाठीसमेत परेकी हुन् । माओवादीको जनवर्गीय संगठन अखिल नेपाल

महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य उनी पोखरामा बसेर पार्टी राजनीतिमा सक्रिय छिन् । पोखरा–२५ हेमजा माइती भएकी उनी प्रकाश दाहालको निधन भएयता कास्कीको राजनीतिमा सक्रिय भएकी हुन् ।पोखराको प्रमुखका लागि बखानसिंह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ । महानगर प्रमुखमा प्रस्तावित गुरुङ पार्टीको कास्की संयोजक हुन् । लामिछाने प्रदेश कमिटीका सदस्य तथा महानगरका निर्वतमान अध्यक्ष हुन् । ०७४ को चुनावमा माओवादी केन्द्रले पोखराको प्रमुखमा लामिछानेलाई अघि सारे पनि अन्तिममा भरतपुरमा रेणु दाहाललाई छाड्दा उनी पछि हटेका थिए ।

उपप्रमुखका लागि त्रिपाठीसहित गोमा ढकाल र सूर्यप्रकास तिवारीको नाम सिफारिस गरिएको महानगर कमिटीका उपाध्यक्ष भानुभक्त अधिकारीले बताए । उपप्रमुखकी उम्मेदवार ढकाल अघिल्लो निर्वाचनमा पनि माओवादीबाट उम्मेदवार थिइन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पोखरा महानगर इन्चार्ज दीपक कोइरालाले पार्टीले तय गरेको मापदण्डमा रहेर उम्मेदवार सिफारिस गरेको बताए ।

‘एक दर्जन साथीहरुले उम्मेदवारको इच्छा राखे पनि अन्तिममा सर्वसम्मत सिफारिस गरेका छौं,’ उनले भने, ‘तालमेलका लागि गठबन्धनसँग छलफल भइरहेको छ । माओवादीले एक्लै पनि चुनावको तयारी गरेर निर्वाचनमा होमिएको अवस्था हो ।’

माओवादी केन्द्रले वैशाख ५ भित्र देशका सबै स्थानीय तहका उम्मेदवार सिफारिसका लागि पार्टी कमिटीलाई निर्देशन दिएको थियो । सत्तारुढ गठबन्धनमा रहेको माओवादीले पाँच दलीय गठबन्धनमा जिल्लामा तालमेलको निर्णय गरिसकेको छ । कास्कीका गठबन्धनका दलबीच अझै तालमेलका लागि सिट बाँडफाँटमा कुरा मिलिसकेको छैन ।

प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार