• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य !


काठमाडौं । वैशाख पहिलो साता केही घटेको इन्धनको खरिद लागत मूल्य तेस्रो सातामा पुनः महँगो भएको नेपाल आयल निगमले जनाएको छ ।भारतीय आयल निगम (आईओसी)बाट ३ वैशाखमा प्राप्त मूल्य सूचीको तुलनामा १८ वैशाखमा प्राप्त नयाँ मूल्य सूचीले निगमलाई थप एक अर्ब ४५ करोड रुपैयाँ नोक्सान हुने देखिएको निगमका सह प्रवक्ता पुष्कर

कार्कीले जानकारी दिए ।१ वैशाखको मूल्यले ३ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने स्थिति थियो तर आजको मूल्य अनुसार १५ दिनको घाटा ५ अर्ब १९ करोड पुग्ने भयो’ निगमका सहप्रवक्ता कार्कीले भने ।आइतबार प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ५ रुपैयाँ र डिजेल लिटरमा १० रुपैयाँले महँगो भएको कार्कीले बताए । यस्तै मट्टितेल लिटरमा ४ रुपैयाँले महँगो भएको छ भने खाना पकाउने ग्याँस सिलिण्डरमा ९९ रुपैयाँले थप महँगो भएको कार्कीको भनाइ छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको लागत १८३ रुपैयाँ २ पैसा, डिजेलको १८३ रुपैयाँ १३ पैसा मट्टितेलको १४० रुपैयाँ १९ पैसा र खाना पकाउने ग्याँसको मूल्य २६ सय ५० रुपैयाँ १८ पैसा रहेको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा, मटितेलमा २ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्याँसमा एक हजार ५० रुपैयाँ १८ पैसा नोक्सान रहेको निगमको दाबी छ ।

निगमलाई हवाई इन्धन आन्तरिकतर्फ १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको छ ।स्थानीय तह निर्वाचनको मुखैमा रहेका कारण निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न सकेको छैन । प्रतिलिटर दुई रुपैयाँसम्म आफैं निर्णय गर्न सक्ने अधिकार भए पनि निगम नेतृत्वले निर्णय लिन नसक्दा निगमको वित्तीय अवस्था संकटतर्फ धकेलिएको छ ।

तेल खरिद बापत भारतीय आयल निगमलाई मे महिनामा बुझाउनु पर्ने १० अर्ब रुपैयाँ भन्दा बढी रकमको स्रोत अझै सुनिश्चित नभएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १९ गते सोमवार