• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

नेपालमा अब कहिल्यै नाकाबन्दी हुँदैन : ओली


विराटनगरनेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक अरु दलले मुलुक बनाउन नसक्ने बताएका छन्। एमालेले विराटनगर महानगरपालिकामा शनिबार आयोजना गरेको चुनावी भेला लाई सम्बोधन गर्दै उनले एमाले बाहेक अरुबाट मुलुक बन्छ भन्ने कल्पना पनि गर्न नसकिने बताए। ‘वडामा समेत एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत छैन।

हिम्मत नभएकाले के देश बनाउँछन्? यिनीहरुबाट के आश गर्नु?’ ५ दलीय गठबन्धतप्रति लक्षित गर्दै ओलीले भने, ‘मुलुकको समस्या के हो भन्ने उनीहरुलाई थाहै छैन। मुलुक बनाउने मुद्दा आफूसँग नभएपछि एमालेलाई अनेक आरोप लगाउँछन्। तर एमाले नेतृत्वको सरकारले मुलुकमा नयाँ उत्साह ल्याएको, वृद्ध भत्ता बाँडेको र देशलाई समृद्धिको बाटोमा लगेको कुरा जनताले बुझेका छन्।’मुलुकको समृद्धिको यात्रालाई पूरा गर्ने आकांक्षा बोकेर अघि बढिरहेको एमालेले सरकारको नेतृत्व गर्न पाउँदा मुलुकमा विकासको लहर ल्याएको उनले बताए। ‘एमाले आउँदा मुलुकमा उत्साह छाउँछ। त्यही भएकाले विराटनगरको गौरवपूर्ण इतिहासलाई पुर्नस्थापित गर्ने संकल्प एमालेले गरेको छ। एमालेले मुलुकलाई समृद्ध बनाउँछ,’ उनले भने।

विराटनगर महानगरको नेतृत्वमा एमाले आउनेवित्तिकै इतिहासलाई पूर्नस्थापित गरेर विराटनगरलाई आधुनिकीकरण गरिने ओलीले बताए। द्वावपर युगदेखिको इतिहास बोकेको, कला, संस्कृति, साहित्य र विकासको ज्ञान भूमि एवं पुरातात्विक महत्वको शहर विराटनगरको ऐतिहासिकता झक्काउन र आधुनिकता टल्काउन एमालेको नेतृत्वबाट मात्रै सम्भव रहेको उनको भनाइ छ।
मुलुकमै पहिलो पटक संगठित राजनीतिक आन्दोलन सुरु गर्ने औद्योगिक राजधानी विराटनगरको शाख फर्काउन एमालेले महत्वपूर्ण भूमिका खेल्ने पनि उनले बताए। ‘विराटनगर आधुनिक नेपालको जग बसाउने जल्दोबल्दो ठाउँ हो। द्वावपर युगदेखिको इतिहास जोडिएको विराटनगरबाट आधुनिकताको जग बसेको हो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘पुरानो गौरवपूर्ण इतिहासलाई पुर्नस्थापित गरेर विराटनगरलाई विकास र समृद्धितर्फ अघि बढाउनु पर्ने छ। त्यसको नेतृत्व एमालेले गर्छ।’

अहिलेको सरकारमा रहेका मन्त्रीहरुलाई देखेर कुर्सीनै रुँदो हो भन्ने टिप्पणी उनले गरेका छन्। ‘अहिलेका मन्त्री कस्ता छन् भन्दा बोल्न पनि जान्दैनन्। उनीहरुलाई देखेर त्यो कुर्सी रुँदो हो। दिक्की लागिसक्यो होला। कुर्सी बोल्न जान्दैनन्। यदि बोल्न जान्ने थिए भने तिनीहरुलाई टिपेर मिल्काइदिसक्थे होला,’ उनको कटाक्ष छ। कांग्रेस नेतृ आरजु राणा देउवाले कांग्रेसलाई भोट हाल्नेलाई फ्रि भिसामा मलेसिया पठाउने भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले एमालेले रोजगारीको अवसर मुलुकमै सिर्जना गर्ने पनि बताए। ‘हामी ४–५ जनालाई मलेसिया पठाउँदैनौं। लाखौंलाई मुलुकमै रोजगारीको अवसर सिर्जना गर्न चाहन्छौं,’ ओलीले भने, ‘एमालेले सरकारको नेतृत्व गर्यो भने युवाहरुले बाहिर जानु पर्दैन। मुलुक युवाहरुलाई विदेश पठाउने कारखाना हैन।’

एमालेले ५ जनालाई मलेसिया पठाउने आश्वासन नदिने र पाँचौं लाखलाई मुलुकमै रोजगारी दिने उनको भनाइ छ। शेरबहादुर देउवाले कांग्रेसलाई कमजोर बनाएको उनको आरोप छ। ‘उहाँ (देउवा) सडेको ढोडको लौरो टेकेर हिँड्नु भएको छ। त्यस्ताले के चढ्छन् सगरमाथा ? मुलुकलाई विकास गरेर सगरमाथाजत्तिकै उचाईमा पुर्याउनु छ,’ उनले भने, ‘गठबन्धनको त के कुरा गर्नु ? एमालेसँग डराएर एक्लाएक्लै चुनाव लड्ने हिम्मत पनि छैन। उल्टै एमालेलाई देख्दैनौं भनेर भन्छन्। त्यहाँभित्र एमालेसँग कसैले आँट गर्न सक्छ ? भनेर चर्चा हुन्छ।’

प्रचण्डले छोरी (रेणु दाहाल)लाई भोट नहाले देश दुर्घटनामा जान्छ भनेर चितवनवासीलाई धम्क्याएको ओलीको भनाइ छ। ‘मैले गठबन्धनलाई १०–१५ वर्ष लैजाने योजना बनाएको छु। रेणुलाई जितायौ भने म खुसी हुन्छु भनेर प्रचण्डले चितवनवासीलाई के भन्ने खोजेको हो ?,’ ओलीले प्रश्न गरे। गठबन्धन कहिल्यै नटालिने गरी पन्चर हुन अब धेरै दिन बाँकी नरहेको उनको जिकिर छ। ‘वैशाख ३० गते गठबन्धनको ट्याइँट्याइँ सकिन्छ,’ ओलीले भने, ‘कहिल्यै नटालिने गरी पन्चर हुन्छ।’ उनले भने, ‘हामीले गठबन्धन तोड्न खोज्दा ५ वटा कचौरा चाहिन्छ। वैशाख ३० गते एउटै बट्टा वा पेरुङ्गामा हालेर मिल्काउने हो। अब गठबन्धनको आयु धेरै छैन। गठबन्धन धेरै जोखिममा परिसक्यो।’

माधव नेपालप्रति लक्षित गर्दै ओलीले भने, ‘१५ वर्ष पार्टीको टुप्पामा बसेर रस चुस्ने। २१ महिना त्यही पार्टीबाट प्रधानमन्त्री हुने। अहिले खान नपाएजस्तो गरेर अर्काको भान्सामा पुगेका छन्। मैले शेरबहादुर जीलाई भनिसकेको छु ‘हाम्रामा खान नपाएर बिराला तपाईंकामा आएका छन्। अलिकति खान दिनुस्। अहिले खाँदै होलान्।’ नेपालमा अब कहिल्यै नाकाबन्दी नहुने ठोकुवा उनले गरे। ‘एमालेले चीनतिरको बाटो पनि खुलाइसकेको छ। गुमेको भूभाग फिर्ता ल्याएको छ,’ ओलीले भने, ‘नेपालको गुमेको भूभाग फिर्ता ल्याउने आँट कसैले गरेको थियो ? कूटनीतिक तवरबाट एमालेले फिर्ता ल्याएको भूभाग अब कसैले फिर्ता लैजान सक्दैन, मुलुकमा अब नाकाबन्दी पनि हुँदैन।’ मुलुकमा लोडसेडिङको अन्त्य एमालेका पालामा भएको बताउँदै उनले अरुले भने मयुरको नक्कली प्वाँख लगाएको बताए।

‘हामीले बनाएको बाटोमा अरु हिँड्न सकेनन्। विकासका काम पनि अगाडि बढाउन सकेनन्। यीनिहरुबाट मुलुकको विकासको आश गर्नु बेकार हो,’ ओलीले भने, ‘दौडमा कसले जित्छभन्ने कुरा कुदेपछि थाहा हुन्छ। अहिलेको सरकारले एमालेका पालामा ल्याएका योजना कटौती गर्ने र मुलुकमा महँगी बढाउनेबाहेक केही गर्न सकेन।’ कांग्रेसले राजासँग घाँटी जोड्ने र जनतासँग लड्ने काम मात्रै गरेको उनको आरोप छ। आफ्ना सरकारका पालामा भएका कामलाई प्रचार गर्दै जनताका बीच जान ओलीले उम्मेदवारहरुलाई आग्रह गरेका छन्। ‘अहिले सरकारको नेतृत्वमा रहेकाको धेरै कुरा गर्न आवश्यक छैन। बम हान्ने र टाउकाको मूल्य तोक्ने पनि त्यहीँ छन्। एकले अर्कालाई चरम घृणा गर्छन्। तर प्रशंसा गर्नुपर्ने बाध्यता उनीहरुमा छ। एमाले बलियो बन्दै गएपछि दुनियामै नभएको परमादेश गठबन्धन मुटुमाथि ढुंगा राखेर हाँस्नुपर्ने अवस्थामा पुगेको छ,’ ओलीले भने।

हिजोजस्तै परिवर्तन, चेतना, जागरण, आन्दोलन र आधुनिकीकरणको नेतृत्व विराटनगरले गर्नुपर्ने उनको भनाइ छ। ‘राम्रो नेतृत्व चयन गर्नुस्। म विराटनगरको विकासको जिम्मा लिन्छु,’ ओलीले भने, ‘विकासको नेतृत्व विराटनगरले गर्छभन्ने विश्वास लिएको छु। राम्रो नेतृत्व आएन भने माथिबाट विकासका लागि भनेर पठाएको पैसा डोकामा पानी हालेजस्तो मात्रै हुन्छ।’
एमाले मुलुकको विकास र समृद्धिको अभियानमा अघि बढेको र कांग्रेस सडेका ढोडको लौराको सहारामा हिड्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ। कोभिडको समयमा पनि एमाले नेतृत्वको सरकारले मुलुकको आर्थिक अवस्था कमजोर हुन नदिएको ओलीको दाबी छ। ओलीले भने, ‘हामीले सरकार छाड्नेवित्तिकै मुलुकको अर्थतन्त्र डामाडोल भयो।

प्रकाशित मिति : २०७९ बैशाख २४ गते शनिवार