• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

प्रचण्ड र आरजुलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, २४ घण्टाभित्र जवाफ दिन निर्देशन


काठमाडौँः निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्टीकरण सोधेको छ। यस्तै आयोगले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवालाई पनि स्पष्टीकरण सोधेको छ। चुनावमा मतदातालाई प्रभावित पार्ने अभिव्यक्ति दिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रचण्ड र आरजु दुबैलाई २४ घण्टामा जवाफ दिन स्पष्टीकरण सोधिएको बताए।

आयोगले अध्यक्ष प्रचण्डलाई चितवनको भरतपुरको गठबन्धनको सभामा सम्बोधनका क्रममा आफ्ना उम्मेदवारलाई नजिताए देश दुर्घटनामा जान्छ भन्ने अभिव्यक्तिलाई स्पष्टीकरण सोधेको हो।

यस्तै डडेल्धुराको सभामा आरजुले कांग्रेसले नजितेका स्थानमा बजेट नपठाउने अभिव्यक्ति दिएकी थिइन्। साथै उनले कांग्रेसलाई जिताए वडाबासी ५-६ जनालाई मलेसिया पठाउने स्किम पनि मतदातालाई सुनाएकी थिइन्।

प्रचण्ड र आरजु दुबैका विवादास्पद अभिव्यक्तिको जनस्तरबाट पनि आलोचना भएका थिए।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार