• २०८१ साउन ११ गते शुक्रवार
  • Preeti To Unicode

कसरी हाल्ने मत ? कुन कुन अवस्थामा मत बदर हुन्छ ?


काठमाडौं : वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ। देशभरका स्थानीय तहमा एकसाथ हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

बुधवारबाट मौन अवधि लागू हुँदा मतदाता शिक्षालाई तीव्रता दिइएको छ। आज र भोलि निर्वाचन आयोगले मतदातालाई मत हाल्न सिकाउँदैछ।

ठुला मतपत्र, गठबन्धन भएपछि सबैको चुनाव चिह्न हुनु र मतदाता शिक्षा त्यति प्रभावकारी नहुँदा यसपटक धेरै मत बदर हुन सक्ने अनुमान गरिएको छ। त्यसैले पनि आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो।

कसरी हाल्ने मत ?

निर्वाचन आयोगले मत बदर हुने अवस्थाका बारेमा पनि स्पष्ट पारेको छ।

सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको, औँठाछाप वा आयोगबाट निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप मत संकेत गरिएको पाइए बदर हुनेछ।

मतदाताले स्वस्तिक छापबाट मतदान गर्दा मतपत्रमा सातवटा निर्वाचन चिह्नमा मत हाल्नुपर्नेछ। पहिलो ठाडो लहरमा पालिका प्रमुख वा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, दोस्रो ठाडो लहरमा उपप्रमुख वा उपाध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा स्वस्तिक छापले मत हाल्नुपर्छ।

तेस्रो ठाडो लहरमा वडा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, चौथो ठाडो लहरमा महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, पाँचौँ ठाडो लहरमा दलित महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, छैटौँ र सातौँ ठाडो लहरमा रहेका दुई सदस्य पदका उम्मेदवारको निर्वाचन चिह्नमध्ये कुनै दुई निर्वाचन चिह्नमा छुट्टाछुट्टै छाप लगाइ दुई उम्मेदवारलाई मतदान गनुपर्छ।

यस्तो अवस्थामा हुन्छ मत बदर ?

मत दिँदा स्वस्तिक चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको, उम्मेदवार निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको, उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत सङ्केत गरेको अवस्थामा बदर भएको मानिन्छ।

कुनै पनि उम्मेवदारको निर्वाचन चिह्नमा मत संकेत नगरेको, निर्वाचित गर्नुपर्नेभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत संकेत गरिएको, मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको, आयोगले निर्धारण गरेको मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको, मतपेटिकाभन्दा बाहिर राखिएको र जाली मतपत्र भएको अवस्थामा मत बदर हुन जान्छ।

मतपत्रमा स्वस्तिक छापबाहेक अन्य छाप लगाएमा वा अन्य चिह्नले मत संकेत गरेमा मत बदर हुन्छ। दुईवटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ। यस्तै, उम्मेदवारको चिह्न रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा पनि मत बदर हुन्छ।

मतदाताले हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको स्थानमा कोठाभित्र पर्ने गरी मत संकेत गर्नुपर्छ। सातभन्दा बढी चिह्नमा मत दिए मत बदर हुनेछ। स्वस्तिक छाप लिई आफूले रोजेको उम्मेदवारको चिह्नमा रहेको कोठाभित्र पर्ने गरी मत संकेत गरे पछि मत पत्रलाई राम्ररी पट्याई मत पेटिकामा खसाल्नुपर्छ। मत संकेत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी मसी अन्य चिह्नमा लत्पतिएमा पनि मत बदर हुन्छ।

प्रकाशित मिति : २०७९ बैशाख २८ गते बुधवार