• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

कांग्रेस र माओवादी विवादमा प्रहरी हस्तक्षेप, ११ राउन्ड हवाई फायर


निर्वाचन हुन एक दिन बाँकी रहँदा सोरु गाउँपालिका-३ भिइ गाउँमा कांग्रेस र माओवादी कार्यकर्ताबीच विवाद हुँदा प्रहरीले हस्तक्षेप गरेको छ।विवादपछि कांग्रेस कार्यकर्ताले माओवादीबाट वडाध्यक्षका उम्मेदवारको घर घेराउ गरेपछि दुई समूहबीच झडप हुने अवस्था आएपछि भिड नियन्त्रण गर्न प्रहरीले ११ राउन्ड हवाई फायर गरेको छ।

सोरु गाँउपालिका—३ मा बुधबार राति ११ बजे कांग्रेसका कार्यकर्ताले सोही वडाको माओवादीबाट उम्मेदवार मनकला रोकायाको घर घेराउ गरी दुई समूहबीच झडप हुने अवस्था सिर्जना भएपछि भिड नियन्त्रण लिन गरु माबि मतदान केन्द्रमा खटिएका प्रहरीले हवाई फायर गरेको स्थानीय प्रशासनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी सुभाष हमालले दिएको जानकारीअनुसार माओवादीबाट वडाध्यक्ष उम्मेदवार रोकायाको घरलाई कांग्रेस कार्यकर्ताले घेराउ गरी दुई समूहबीच झडप हुने अवस्था सिर्जना भएपछि प्रहरीले फायर गरेर भिड नियन्त्रणमा लिएको हो।

हवाई फायरपछि भिड तितरवितर भए पनि पुन: दुई समूहबीच झडप हुने सम्भावना देखिएपछि सुरक्षाका लागि सोरु गाँउपालिका सोरुकोटबाट नेपाली सेना, जनपद र शस्त्र प्रहरीको थप टोली घटनास्थलमा पठाइएको डीएसपी हमालले बताए।

बुधबार दिउँसोबाट दुई पक्षबीच भएका वादविवादले मतदान केन्द्रमा सर्वदलीय बैठकसम्म बस्न सकेको थिएन। राति ११ बजे दुई पक्षबीच भएको विवादले प्रहरीले हवाई फायर गरेपछि नियन्त्रणमा आएपछि आज सर्वपक्षीय बैठक सम्पन्न भएको गुरु माबि मतदान केन्द्रका मतदान अधिकृत यमबहादुर मल्लले बताए।

प्रकाशित मिति : २०७९ बैशाख २९ गते बिहिवार