• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

स्थानीय तह निर्वाचन : विजयी जुलुसमा जाँदा सात जनाको मृत्यु


देशका विभिन्न ठाउँमा भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । आइतबार साँझ र सोमबार भएको दुर्घटनामा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय तहको निर्वाचनमा विजयी भएका उम्मेदवारलाई जितको खुसीयालीमा शुभकामना दिन गइरहेकाको मोटरसाइकल दुर्घटना हुँदा, विजयउत्सव मनाउन जाँदा गुडिरहेको गाडी बिजुलीको तारमा ठोक्किएर करेन्ट लाग्दा र विजयी जुलुसका लागि मान्छे लिन गइरहेको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो ।

आइतबार राति जितको खुसीयालीमा बधाई दिन हिँडेका दुईजनाको रसुवामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा उत्तरगया गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका–१० को ४३ वर्षीया पम्फा तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णुप्रदीप बस्यालले बताए । उनीहरु स्थानीय निर्वाचनमा उत्तरगया गाउँपालिका–४ का विजयी वडाध्यक्षको आफन्त भएकाले बधाई दिन जाने क्रममा दुर्घटनामा परी मृत्यु प्रहरीले जनाएको छ ।

यस्तै दार्चुलाको गोकुलेश्वरतर्फ विजय जुलुसमा सहभागी गराउन मान्छे लिन जानेक्रममा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालकसमेत रहेका शैल्यशिखर नगरपालिका(६ का प्रकाश धामी, सहचालक नवीन सिंह धामीको परिचय खुलेको र अर्का एक मृतकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

यस्तै विजयउत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर सल्यानमा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी सुमित खड्का अनुसार मृत्यु हुनेमा २६ वर्षका लोकेन्द्र राना र २२ वर्षका गोपाल बुढा रहेका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार