• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

१७ पालिकामा एमाले एक्लैले हरायो सत्ता गठबन्धनलाई


मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भए। उनले नेकपा माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन्।स्याङतान सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन्। एमालेका लामाले ५ हजार ५९१ मत ल्याउँदा स्याङ्तानले ५ हजार २०९ मत मात्र ल्याए। लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसअघि पनि यो गाँउपालिकामा एमालेले माओवादी-कांग्रेस गठबन्धनलाई हराएको थियो। अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जितेको एमालेले यसपटक भने उपाध्यक्ष गुमाएको छ। उपाध्यक्षमा भने नेपाली कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भएका छन्। उनले एमालेकी पार्वती रानालाई १६ मतले पराजित गरेका छन्।

भीमफेदी मात्रै होइन एमालेले तेह्रथुमको छथर गाउँपालिकामा सत्ता गठबन्धन उम्मेदवारलाई हराएको छ। यो गाँउपालिकामा एमालेका सन्तविर लिम्बु अध्यक्ष र तारा खरेल उपाध्यक्ष निर्वाचित भएकी छन्। नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रबहादुर इम्सङ अध्यक्षमा र कांग्रेसका टेकराज लिम्बु पराजित भएका छन्। यसअघि पनि यो गाउँपालिकामा एमालेले जितेको थियो।
मकवानपुरको भीमफेदी र तेह्रथुमको छथर मात्र होइन, अरू बढी पालिकामा एमालेले गठबन्धनलाई हराएको छ।

यो समाचार तयार पार्दासम्म एमालेले ४६ स्थानीय तहमा प्रमुख जितेको छ। तीमध्ये १६ पालिकामा उसले गठबन्धनलाई हराएको छ। भोजपुरको हतुवागढीमा एमाले विजयी भएको छ। यसअघि पनि एमाले विजयी भएको थियो। अघिल्लो पटक पनि कांग्रेस र माओवादीबीच यो पालिकामा तालमेल भएको थियो।बैतडीको पञ्चेश्वर गाउँपालिकामा एमालेले कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनलाई हराएको छ। यसअघि पनि एमालेले नै यो पालिका जितेको थियो।

पाल्पाको पूर्वखोला गाउँपालिकामा नेकपा एमालेले सत्ता गठबन्धनलाई हराएको छ। यसअघि पनि एमालेले नै यो पालिका जितेको थियो।एमालेले विगतमा आफूले हारेको ठाउँमा समेत सत्ता गठबन्धनलाई हराएको छ। इलामको माङ्सेबुङ गाउँपालिकामा एमालेले कांग्रेस र जसपा गठबन्धनलाई हराएको छ। यसअघि यो गाँउपालिकाको अध्यक्ष कांग्रेसले जितेको थियो।

अर्घखाँचीको पाणिनी गाउँपालिकामा एमालेका टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल विजयी भए। कांग्रेसका अच्युत गौतम र उपाध्यक्षमा लक्ष्मी गौतम पराजित भएका छन्। जबकी २०७४ मा अच्युत गौतमले एक्लै निर्वाचन जितेका थिए। लक्ष्मी गौतमले भने एमालेबाट जितेकी थिइन्। उनी नेकपा एकीकृत समाजवादी हुँदै कांग्रेस प्रवेश गरेकी हुन्।

दार्चुलाको मालिकार्जुन गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। त्यहाँ कांग्रेस र माओवादी गठबन्धन थियो। अध्यक्षमा कांग्रेस पराजित भयो भने माओवादीले उपाध्यक्ष जितेको छ। जबकी २०७४ मा कांग्रेस एक्लैले अध्यक्ष जितेको थियो भने एमालेले उपाध्यक्ष जितेको थियो।

एमालेले सत्ता गठबन्धनलाई हराएका १६ पालिका

१. जोरायल गाँउपालिक, डोटी (२०७४मा आफूले जितेको यसपटक माओवादी र समाजवादीको गठबन्धनलाई हराएको।)

२. तिनाउ नगरपालिका, पाल्पा (२०७४मा आफूले जितेको यसपटक सत्ता गठबन्धनलाई हराएको।)

३.छथर गाउँपालिका,तेह्रथुम (२०७४ को निर्वाचनमा आफूले जितेको यसपटक सत्ता गठबन्धनलाई हराएको।)

४.ऐसेलुखर्क गाउँपालिका, खोटाङ (पहिला कांग्रेसले जितेको तर यसपटक गठबन्धन भएर पनि हराउन सफल भएको।)

५.चौबीसे गाउँपालिका,धनकुटा (पहिला आफूले जितेको यसपटक माओवादी र जसपा गठबन्धनलाई पराजित गरेको।)

६. चुरे गाउँपालिका कैलाली (पहिला आफूले जितेको यसपटक गठबन्धनलाई हराएको।)

७.छत्रकोट गाउँपालिका,गुल्मी (यसअघि आफूले जितेको यसपटक कांग्रेस र राजमो गठबन्धनलाई हराएको।)

८.सत्यवती गँउपालिका, गुल्मी (पहिला कांग्रेसले अध्यक्ष जितेको तर यसपटक गठबन्धन गर्दा समेत जित्न सफल।)

९.सरूमारानी गाँउपालिका, प्युठान (यसअघि पनि आफैंले जितेको यसपटक सत्ता गठबन्धनलाई हराउन सफल।)

१०.भीमफेदी गाँउपालिका,मकवानपुर (यसअघि पनि कांग्रेस माओवादी गठबन्धनलाई हराएको।)

११.हतुवागढी गाउँपालिका,भोजपुर(यसअघि पनि कांग्रेस-माओवादी गठबन्धनलाई हराएको र यसपटक पनि हराउन सफल।)

१२.पञ्चेश्वर, बैतडी(यसअघि आफूले जितेको यसपटक कांग्रेस र एकीकृत समाजवादी गठबन्धनलाई हराएको।)

१३. पूर्वखोला गाउँपालिका,पाल्पा (यसअघि आफैंले जितेको र यसपटक सत्ता गठबन्धनलाई हराएको।)

१४. माङ्सेबुङ गाउँपालिका,इलाम (यसअघि कांग्रेसले जितेको यसपटक गठबन्धनलाई हराउन सफल भएको।)

१५.पाणिनी गाउँपालिका,अर्घाखाँची (यसअघि कांग्रेसले जितेको तर यसपटक गठबन्धनलाई हराएको।)

१६. थलारा गाउँपालिका, बझाङ (यसअघि आफैंले जितेको यसपालि अध्यक्षमा सत्ता गठबन्धनलाई हराएको।)

१७. कोन्ज्योसोम गाउँपालिका, ललितपुर (यसअघि माओवादीले जितेको यसपालि सत्ता गठबन्धनलाई हराएको)

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार