• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

इवा जित्दा गठबन्धनमा केपी ओली हराएको खुसी !


तेह्रथुम । तेह्रथुममा सत्ता गठबन्धन र नेकपा एमालेले तीन/तीन वटा स्थानीय तह जितेको छ । एमालेविरुद्ध गठबन्धन गरेको सत्ता गठबन्धनका दलहरूले लालीगुराँस नगरपालिका, आठराई गाउँपालिका र फदाम गाउँपालिका जितेको हो । यी मध्ये आठराई र फेदाममा ०७४ को नतिजा उल्ट्याउँदै गठबन्धनले जित्यो ।फेदाममा एमाले हराउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारले एउटै चुनाव चिन्ह लिएका थिए । मत बदर रोक्न माओवादी केन्द्रका उम्मेदवारले पनि रुख चिन्हबाट चुनाव लडेका थिए ।

एउटै चिन्हबाट उम्मेदवारी दिएपछि भने अध्यक्षमा कांग्रेसका केवशप्रसाद भेटवाल र उपाध्यक्षमा माओवादी केन्द्रकी सुनिता पहीप निर्वाचित भइन् । भेटवालले ४,०४१ मत ल्याएर एमालेका हरिप्रसाद चोङवाङलाई पराजित गरे । ०७४ मा भेटवाललाई नै हराएर अध्यक्ष जितेका चोङवाङले भने ३,८७९ मत मात्रै ल्याए ।अघिल्लो चुनावमा चोङवाङले ३,४३९ मत ल्याउँदा भेटवालले ३,२२० मत ल्याएका थिए । उपाध्यक्षमा पनि त्यसबेला एमालेकै गीतादेवी थापा निर्वाचित भएकी थिइन् । ३,४३४ मत ल्याएर थापाले जित्दा माओवादी केन्द्रका गंगाप्रसाद लिम्बमुले १,७०१ मत पाएका थिए ।यसपटक रुख चिन्हबाट उम्मेदवार बनेका माओवादी केन्द्रकी सुनिताले ३,९८५ मत पाउँदा एमालेकी गीतादेवीले ३,७२५ मत पाइन् । ०७४ कै उम्मेदवार र तिनै गठबन्धनले यसपटक जित्नुमा एमाले विभाजनले असर गरेको नेताहरुको अनुमान छ ।

तेह्रथुमबाट लगातार चुनाव जित्दै आएका भुवानीप्रसाद खापुङले अहिले संघीय राज्यमन्त्री छन् । ०७४ को चुनाव जितेका खापुङ एमाले विभाजन हुँदा एकीकृत समाजवादीतिर गएका छन् । फेदाम गाउँपालिका भन्दा पनि आठराई गाउँपालिका जितेकोमा गठबन्धनका नेता–कार्यकर्ता बढी उत्साहित छन् ।‘केपी ओली सरकारले गरेको गलत कदम सच्याउन बनेको लोकतान्त्रिक गठबन्धनले आठराई सहित अधिकांश पालिका जित्नुले स्वभाविक रुपमा उत्साहित छौं’, माओवादी केन्द्रका नेता दीपक कट्टेल भन्छन् । आठराई गाउँपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्म पालिका हो ।

यसपटक आठराईमा कांग्रेसका दिलकुमार पाहीम निर्वाचित भए । ४,६९२ मत ल्याएर पाहीमले एमालेका रामचन्द्र थपलियालाई पराजित गरे । थपलियाले भने ४,००८ मत मात्रै ल्याए । आठराई जितेपछि तेह्रथुममा गठबन्धनका नेताहरुले ‘लाल किल्ला’ भत्काएको नारा लगाएका छन् ।अझ आठराई–४ इवाको जितलाई त गठबन्धनका दलहरुले उत्सवकै रुपमा लिए । ओलीले आफ्नो जन्म गाउँ भनेर प्रचार गर्नु र एमाले हराउनकै निम्ति गठबन्धन बनेकाले पनि इवाको जितलाई प्रतिष्ठाका रुपमा लिइएको देखिन्छ ।केपी ओली प्रधानमन्त्री हुँदा ११ फागुन ०७६ मा आफ्नो ६९औं जन्मदिवस मनाउन इवा पुगेका थिए । जन्म उत्सव मनाउने क्रममा ओलीले बृद्धाहरुलाई सारी र पछ्यौरी, पुरुषहरुलाई भादगाउँले टोपी र ज्याकेट, बालबालिकालाई डायरी बाँडेका थिए ।

तिनै इवामा यसपटक कांग्रेसका खगेन्द्र गुरुङले वडाध्यक्ष जिते । पहिलोपटक इवा जितेपछि गठबन्धनका कार्यकर्ताले ‘लाल किल्ला तोडियो, गठबन्धन जोडियो’ जस्ता नारा लगाए ।आठराइको उपाध्यक्षमा पनि गठबन्धनका उम्मेदवार बली राज ईङनाम निर्वाचित भए । ४,०८० मत ल्याएर उनी निर्वाचित हुँदा एमालेकी रुपादेवी कन्दङवाले ४,०७० मत ल्याइन् । ०७४ मा रुपादेवीले माओवादी केन्द्रका रमिला खनाललाई पराजित गरेकी थिइन् ।म्याङलुङ नगरपालिका, छथर गाउँपालिका र मेन्छयायेम गाउँपालिकामा भने एमालेले आफ्नो विरासत जोगाएको छ । छथरमा एमालेका सन्तवीर लिम्बुले ३,९१५ मत ल्याएर माओवादी केन्द्रका इन्द्रबहादुर इम्सङलाई पराजित गरे ।

अघिल्लोपटक पनि अध्यक्ष जितेका सन्तवीरविरुद्ध इन्द्रबहादुरले ३,३०६ मत मात्रै पाए । उपाध्यक्षमा एमालेकी तारा खरेल दोस्रोपटक उपाध्यक्ष जितिन् । उनले ३,७६२ मत ल्याएर उपाध्यक्ष जित्दा कांग्रेसका तेकराज लिम्बुले ३,६०२ मत मात्रै पाए ।मेन्छयायेममा पनि एमालेका यादवबहादुर खापुङ दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भए । उनले २,०५५ मत ल्याउँदा कांग्रेसका धन कुमार लिम्बूले २,०२१ मत पाएका थिए । उपाध्यक्षमा भने कांग्रेसकी गीतादेवी तिम्सिनाले जितिन् । ०७४ मा पनि उपाध्यक्ष जितेकी गीतादेवीले १,९८६ मत ल्याएर एमालेकी प्रेमलता घिमिरेलाई १२ मतको झिनो अन्तरले हराइन् ।

गठबन्धनले एमाले हराउन नसकेको अर्को नगरपालिका भने म्याङलुङ हो । यो नगरपालिकामा एमालेका सञ्जयकुमार तुम्बाहाङफेले ५,११७ मत ल्याएर दोस्रोपटक मेयर जिते । कांग्रेसका अर्जुनबहादुर तुम्बाहाङफे भने ४,४७८ मतमै सीमित भए । उपमेयरमा पनि एमालेकै जमूनादेवी सुवेदी निर्वाचित भइन् । उनले ५,२१० मत पाउँदा कांग्रेसकी पार्वती सानु डाँगीले ४,४१४ मत पाइन् ।

अर्को नगरपालिका लालीगुँरासमा भने यसपटक पनि कांग्रेसले नै जितेको छ । एमालेका गणेशकुमार लिम्बुसँग प्रतिपश्र्धा गरेका अर्जुन मावोहाङले ५,१३९ मत ल्याएर मेयर जिते ।लिम्बुले भने ३,३४४ मत मात्रै ल्याए । उपमेयरमा पनि कांग्रेसकै जमुना मगर कार्की निर्वाचित भइन् । उनले ४,८८७ मत ल्याउँदा एमालेकी छविमाया तिम्सिनाले ३,५९४ मत पाइन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार