• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

दुई वडा जितेको सीके राउतको पार्टीले यसरी उछिट्यायो नगरपालिका प्रमुख


सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको प्रमुखमा जनमत पार्टीका उम्मेदवार विरेन्द्र माझी ६ हजार ४०७ मत सहित निर्वाचित भएका छन् । कतिपयले यो परिणामलाई मधेसमा जनमत पार्टीको लोकप्रियताको रुपमा पनि बुझेका छन् । नगरपालिकाका १० मध्ये २ वटा वडामात्र जितेको जनमत पार्टीले नगर प्रमुखमा जित हासिल गर्नु, सोही पार्टीबाट उपप्रमुखमा हार्नु भने आफैमा अनौठो हो ।

२०७४ सालको निर्वाचनमा यो पालिकाको प्रमुख र उपप्रमुख दुवै पद तत्कालीन राजपा नेपालले जितेको थियो । त्यतिबेला प्रमुखमा राजपा नेपालका शैलेशकुमार साह र उपप्रमुखमा पनि राजपाकै सरितादेवी यादव सिपालिया निर्वाचित भएकी थिइन् ।तत्कालीन संघीय समाजवादी र राजपा नेपालबीच एकता भइ जसपा नेपाल बनेपछि साह र यादव दुवै स्वाभाविक रुपमा जसपा नेपालमा आवद्ध भए । तर जसपा नेपाल विभाजन हुँदा तत्कालीन राजपाका कतिपय जनप्रतिनिधिहरु महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालमा गए पनि उनीहरु दुवै जसपामै रहे ।

स्थानीय तहको निर्वाचन २०७९ मा सो नगरपालिकाको प्रमुखमा जसपा नेपालले शैलेशकुमार साह र उपप्रमुखमा सरितादेवी यादव सिपालियालाई नै उम्मेदवार बनायो । तर प्रमुखमा उम्मेदवार बनेका साहलाई १६१ मतले पराजित गर्दै जनमत पार्टीका माझी निर्वाचित भए । उपप्रमुखमा भने जसपा नेपालकै सिपालिया निर्वाचित भएकी छन् । उनले ६ हजार ५१२ मतका साथ जित हासिल गरेकी हुन् ।नगरप्रमुखमा जसपा नेपालका शैलेशकुमार साहले ६ हजार २४६ मत पाए । यस्तै, नेकपा माओवादी केन्द्रका राहुलकुमार मण्डलले ३ हजार ८७३, नेपाली काँग्रेसका उमेशकुमार मिश्रले एक हजार ५९२ र नेकपा एमालेका शरिफ रहमानले एक हजार ७९ मत पाए ।उपप्रमुखमा भने सिपालियाकी निकटतम प्रतिस्पर्धी जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९८२ मत प्राप्त गरिन् ।

पार्टी सदस्यता र टिकट एकसाथ
नगरप्रमुखमा जनमत पार्टीबाट विजयी भएका विरेन्द्र माझी जनमत पार्टीका संगठित कार्यकर्ता भने होइनन् । उनी तत्कालीन संघीय समाजवादी पार्टी हुँदै जसपा नेपालमा आवद्ध रहेर लामो समय राजनीति गरेका र स्थानीयस्तरमा लोकप्रिय नेता हुन् ।मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहको गृह नगरसमेत रहेको यो नगरपालिकामा मन्त्री साहकै परिवारवाद हावी भएपछि विरेन्द्र माझी ओझेलमा पर्न थालेका थिए । मन्त्री साहकै जोडबलमा उनकै छोरा शैलेशकुमार साहलाई जसपाबाट नगरप्रमुख पदमा उम्मेदवार बनाइयो । निवर्तमान प्रमुखसमेत रहेका कारण उनलाई पार्टीले पनि सहजै उम्मेदवार बनायो ।

२०७४ को निर्वाचनमा तत्कालीन राजपा नेपालबाट शैलेशकुमार साह ५ हजार ७२० मत ल्याएर प्रमुख पदमा निर्वाचित भएका थिए । त्यतिबेला तत्कालीन संघीय समाजवादी फोरमबाट विरेन्द्र माझीले ४ हजार ३६५ मत पाएका थिए ।स्थानीय तहको निर्वाचन २०७९ मा भने जसपाबाट साह र माझी दुवै नगरप्रमुख पदको दाबेदार देखिएका थिए । प्रदेशमन्त्री साहकै जोडबलमा उनका छोरा शैलेशले टिकट पाएपछि माझी वैशाख ११ गते जनमत पार्टीमा प्रवेशमात्र गरेनन्, नगरप्रमुख पदको उम्मेदवारीका लागि टिकट पनि लिए ।

हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टीको खासै प्रभाव भने थिएन । अघिल्लो पटक पराजित भएको र फेरि पनि शैलेशकुमार साह नै जसपाबाट उम्मेदवार बनेको अवस्थामा माझीलाई जनमत पार्टीका नगरप्रमुखमा निर्वाचित हुन्छु भन्ने आत्मविश्वाससमेत थिएन ।

जसपामा अन्तरघात
प्रदेशमन्त्री साहले पार्टीमा परिवारवाद लाद्न खोजेकोमा जसपा नेपालका कतिपय स्थानीय कार्यकर्ता रुष्ट थिए । पार्टीको कार्यकारिणी समिति सदस्यसमेत रहेका मन्त्री साहले दुई छोरामध्ये एउटालाई नगरप्रमुख, अर्कोलाई प्रदेशसभा सदस्य र आफू प्रतिनिधिसभा सदस्य हुने योजना बनाएको स्रोत बताउँछ ।

परिवारवादको यही जालो तोड्नका लागि जसपाका केही स्थानीय कार्यकर्ताले अन्तरघात गरेरै जनमत पार्टीका माझीलाई नगरप्रमुखमा मत दिएको स्रोतको दाबी छ । ‘दुई वटा मात्र वडा जितेको पार्टीले नगरप्रमुख पदमा जित्नु कम अनौठो होइन, जनमत पार्टीबाट नगरप्रमुखमा उम्मेदवार भएका माझीलाई जसपा नेपालका कार्यकर्ताले पनि मत दिएका छन्,’ स्रोतले भन्यो, ‘अन्तरघात नभए नगरप्रमुख जितेको पार्टीले उपप्रमुख हार्ने र उपप्रमुख जितेको पार्टीले नगरप्रमुखमा हार्ने भन्ने नै हुँदैन ।’

१० वटा वडामा जनमत पार्टीलाई ३ हजार ८८८ मत
यो नगरपालिकामा जनमत पार्टीले १० वटै वडामा अध्यक्ष पदमा उम्मेदवारी दिएको थियो । १० वटै वडामा गरी जनमत पार्टीले वडाअध्यक्ष पदमा कुल ३ हजार ८८८ मतमात्र पाएको छ । जबकि जनमत पार्टीबाटै नगर प्रमुखमा माझीले ६ हजार ४०७ मत पाएका छन् ।जनमत पार्टीका वडाअध्यक्षका उम्मेदवारहरुले वडा नम्बर १ बाट एक हजार ६७० मत, २ बाट २१२ मत पाएका छन् । यस्तै, वडा नम्बर ३ बाट २५६, वडा नम्बर ४ बाट ७५७, वडा नम्बर ५ बाट १२९, वडा नम्बर ६ बाट २७१, वडा नम्बर ७ बाट १२४, वडा नम्बर ८ बाट ८३, वडा नम्बर ९ बाट ३०७ र वडा नम्बर १० बाट ७९ मत पाएका छन् ।

कुन वडामा को विजयी ?
हनुमाननगर कङ्कालिनी नगरपालिकाका १० वडामध्ये जनमत पार्टीले दुई वटा वडामात्र जितेको छ । नगरपालिकाको वडा नम्बर १ र ४ मा जनमत पार्टीका उम्मेदवारले वडा अध्यक्ष जितेका हुन् । वडा नम्बर १ मा सुरेन्द्र मण्डलले एक हजार ६७० मत ल्याएर वडा अध्यक्ष जितेका हुन् भने वडा नम्बर ४ मा मौलो कुमार मण्डलले ७५७ मत ल्याएर जित हासिल गरे ।
माओवादी केन्द्रले तीन वटा वडामा जितेको छ । वडा नम्बर ५ मा माओवादी केन्द्रका उम्मेदवार बुद्धिमान श्रेष्ठ, ६ मा राम नारायण मण्डल र ७ मा राजेश्वर ठाकुरले जित हासिल गरेका हुन् ।

यस्तै, जसपा नेपालले वडा नम्बर २, ३, ९ र १० मा वडा अध्यक्ष जितेको छ । जसपा नेपालका सन्तोषकुमार यादवले वडा नम्बर २ र विजयकुमार यादवले वडा नम्बर ३ को वडाअध्यक्ष जितेका हुन् । यस्तै वडा नम्बर ९ मा जसपा नेपालका हरिश्चन्द्र वर्मा र १० मा राम लखन मण्डलले वडा अध्यक्ष जितेका छन् ।

काँग्रेसले एउटा वडा जितेको छ । वडा नम्बर ८ को वडा अध्यक्षमा काँग्रेसका अजय यादव विजयी भएका हुन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार