• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

मतगणनामा लफडा : पोखरामा सुरु भयो, धरान र रौतहटमा रोकियो


स्थानीय तह निर्वाचनको मत परिणाम गन्ने क्रममा पोखरा, कास्की र रौतहटमा लफडा भएको छ । पोखरा महानगरपालिकाको मतगणनास्थलमा सत्ता गठबन्धनले तोकिएकोभन्दा धेरै प्रतिनिधि राखेको भन्दै नेकपा एमालेका प्रतिनिधिले विरोध गरेपछि लफडा भएको हो ।

अपरान्ह विवादपछि केहीबेर रोकिएको मतगणनामा सहमति जुटेसँगै पुनः सुरु भैसकेको छ । निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गर्दा त्रुटि देखिएपछि बिवाद बढ्दा रौतहटको ईशनाथ नगरपालिकामा मतगणना रोकिएको छ । विवाद बढेपछि नेकपा (एकीकृत समाजवादी), नेकपा एमाले र नेपाली काँग्रेसका प्रतिनिधिले मतगणना स्थलको कोठामा ताला लगाएको बताएका छन् । मतदान अधिकृतको कार्यालय इशनाथले मंगलबार राति वडा नं. ३ को मतगणना सकिएपछि मतपरिणाम सुनाउने क्रममा त्रुटि गरेको दलका कार्यकर्ताले बताएका छन् ।

धरान उपमहानगरपालिकाको मतगणनाका क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएका १८ वटा मतपत्र भेटिएपछि विवाद भएको छ । विवाद बढेपछि त्यहाँ मतगणना रोकिएको हो । १८ वटा मतपत्रमध्ये ११ वटामा माओवादीको उम्मेदवारलाई मत परेको थियो । उक्त वडामा काँग्रेसका पदम बहादुर लिम्बूले ४ मतान्तरले विजयी भएका थिए । विवाद भएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन । माओवादी केन्द्रका विजय तामाङ उनको निकटतम प्रतिस्पर्धामा छन् । दलको नेता तथा उम्मेदवारहरूलाई छलफलका लागि बोलाइएको निर्वाचन अधिकृत गणेश खतिवडाले बताए । बुधबार माओवादीका कार्यकर्ताहरूले मत सदर हुनु पर्ने भन्दै नाराबाजी गरेका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार