• २०८१ भाद्र २६ गते बुधवार
  • Preeti To Unicode

चिनियाँ प्रमुख लिउ जियान्चाओ काठमाडौँ आइपुगेकै दिन देउवा पत्नी आरजु राणा नयाँदिल्ली प्रस्थान, के छ खास कारण ?


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा आइतबार नयाँदिल्ली पुगेकी छन्। नेपाल एयरलाइन्सको विमानबाट नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजु आज आइतबार दिउँसो भारत गएकी हुन्। स्वास्थ्य उपचारका लागि उनी त्यसतर्फ गएको बालुवाटार स्रोतले बताएको छ। आरजुको दिल्ली बसाइबारे दिल्लीस्थित नेपाली दूतावास जानकार रहे पनि उनका राजनीति भेटवार्ताबारे अनभिज्ञ छ।

चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडौँ आइपुगेकै दिन देउवा पत्नी आरजु राणा देउवा नयाँदिल्ली पुग्नु संयोग मात्रै होकी यसको कुनै खास कारण छ ? त्यसोत आरजु नियमित फलोअपका लागि आउनुभएको भन्ने सुनेका छौं। त्यसबाहेक उहाँका यहाँ अरु कार्यक्रम भए हामीलाई जानकारी छैन’ दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले भने। आरजु पछिल्लो पटक गत जेठ २८ गते नयाँ दिल्ली पुगेकी थिइन्। नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उनले स्वास्थ्य उपचार गराएपछि त्यसबेला उनले केही भाजपा नेतासंग भेटेकी थिइन्।

आरजुले आफू निजी भ्रमणमा दिल्ली गएको बताए पनि नेपालमा कतिपयले उनको भ्रमणलाई प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे भारतसँग जोडेर हेरेका थिए। त्यसबेला संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिमा केही सांसदले आरजुको भारत भ्रमणबारे प्रश्न उठाएका थिए। एमाले सांसद भीम रावलले आरजुको अमेरिका भ्रमणका बखत हुने भनिएको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्बन्धी सैन्य सम्झौताबारे भारतीय संस्थापनसँग पूर्वसल्लाह लिन भारत गएको हुनसक्ने अनुमान गरेका थिए। यद्यपि आरजुको दिल्ली भ्रमण स्वास्थ्य उपचारबाहेक अन्य केही प्रयोजनले भएको थियो वा थिएन भन्नेबारे सरकारी अधिकारी, नेपाली दूतावास र नयाँ दिल्ली जानकार थिएनन्।

त्यसअघि गत पुसमा पनि उनी भारत भ्रमणमा गएकी थिइन्। भाइको उपचारका लागि दिल्ली गएको भनिए पनि उनले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटेकी थिइन्। प्रधानमन्त्री देउवाको पुस अन्तिम साताका लागि हुने भनिएको भारत भ्रमणअघि उनले भाजपा नेतासँग भेट्नुलाई भ्रमण तयारीकै पाटोका रुपमा लिइएको थियो। परराष्ट्र संयन्त्र वा नियमित कुटनीतिक च्यानलभन्दा प्रधानमन्त्री पत्नी भ्रमणमा सक्रिय देखिनुलाई धेरैले अस्वाभाविक मानेका थिए। यद्यपि देउवाको भ्रमण त्यसबेला हुन सकेन।

प्रधानमन्त्री देउवा गतवर्ष असारमा पुनः सत्तामा फर्केपछि आरजु भारतको सत्तारुढ भारतीय जनतापार्टीसँग थप नजिकिएकी थिइन्। उनले भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेलाई नेपाल बोलाएर रक्षाबन्धन बाँधेको प्रसंग निकै चर्चामा आएको थियो। प्रधानमन्त्री देउवाको गत अप्रिलमा भएको भारत भ्रमणमा देउवाले भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गर्नुमा आरजुका समेत चाहना रहेको बताइएको थियो। आरजुकै चाहना बुझेर भारतीय संस्थापनले देउवा दम्पतीलाई काशी बनारसको भ्रमणसमेत गराएको थियो।

चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमण : राजनीतिक कि रणनीतिक ?
साताअघि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुसँग भर्चुअल सम्वाद गरे । उनको संवाद नेपाल भ्रमणको तयारीस्वरुप थियो । उनै जियानचाओ आइतबार चार दिने भ्रमणका सिलसिलामा आइतबार नेपाल आइपुगेका छन् ।

चिनियाँ उच्च अधिकारीको यो भम्रणलाई राजीतिकरुपमा अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि विश्लेषक र कूटनीतिज्ञले भ्रमणलाई फरक फरक दृष्टिले हेरेका छन् । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रमुख दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ ।

नेताहरुसँगको भेटवार्ताका क्रममा लिउले नेपालको पछिल्लो राजनीतिक अवस्था, दुई देशबीचको सम्बन्ध, नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको अवस्था र अमेरिकासँग भएको मिलेनियम च्यालेन्च कर्पोरेशन (एमसीसी) कार्यान्वयनका सवालमा चासो राख्ने बुझिएको छ ।

कूटनीतिक क्षेत्रका जानकारहरुका अनुसार नेपालले प्रतिनिधि सभाबाट एमसीसी व्याख्यात्मक घोषणा गरेसँगै बीआरआई परियोजनालाई लिएर चीन चिन्तित छ । नेपालले बीआरआई परियोजना अगाडि बढाउने प्रतिवद्धता जनाएपनि व्यवहारमा अघि बढाउन सकेको छैन ।

भारत र अमेरिकाकै बाटोमा चीनः बरालकतिपयले नेपालमा बीआरआई परियोजना लागू हुन नदिन एमसीसी भित्र्याएको विश्लेषण गरिरहेका बेला चिनियाँ पक्षको नेपालप्रति बढेको चासोले नेपाल शक्ति राष्ट्रको खेल मैदान हुन सक्नेतर्फ सचेत हुनुपर्ने बताएका छन् ।

राजनीतिक विश्लेषक प्राडा. लोकराज बराल चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेता नेपाल भ्रमणमा आउनु र सम्बन्ध विस्तार गर्न खोज्नुलाई स्वभाविक रुपमा लिनुपर्ने बताउँछन् । साथै उनी नेपालका पार्टीहरूको झगडा मिलाउने र अरु देशसँगको नेपाल सम्बन्धका सवालमा अनावश्यक चासो देखाउन नहुनेतर्फ स्वयम् नेपाल पक्ष सजग हुनुपर्ने बताउँछन् ।

‘पहिला पनि नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकता गराउन र विभाजनका बेला रोक्न पनि चीनले प्रयास गरेको हो, अहिले पनि उसको उदेश्य त्यो भन्दा फरक नहोला भन्न सकिन्न’, बराल भन्छन्, ‘यसले भारत र अमेरिकाजस्तै नेपालको आन्तरिक राजनीतिमा चीन पनि सामेल भएको त होइन भनेर प्रश्न गर्न सकिन्छ । यदि त्यो हो भने शोभनीय मानिँदैन ।’ उनले विदेशी शक्ति राष्ट्रहरुले त्यसरी आन्तरिक मामिलामा चासो देखाउँदै जाने हो भने नेपाल अन्तराष्ट्रिय राजनीतिको खेलमैदान बन्न सक्नेतर्फ नेपाल र नेपाली जनता सजग हुनुपर्ने बताए ।

‘हुन त हामीले नै उनीहरुलाई मौका दिएका हौ, उनीहरुलाई दोष दिनुभन्दा पनि हामी आफै सजग हुनुपर्छ’, बरालको भनाइ छ ।

आन्तरिक मामिलामा हस्तक्षेप हो कि होइन?: विजयकान्त कर्णत्यस्तै बेल्जियमका लागि नेपालका पूर्व राजदूत विजयकान्त कर्णले राजनीतिक एजेण्डा बोकेर उनी नेपाल आएको तर्क गरे । नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता वा मोर्चा बनाउने एजेण्डा लिएर उनी नेपाल आएको कर्णको तर्क छ । उनले तीन पार्टी एकता गर्न चिनियाँ नेता नेपाल आएको भन्ने कुरामा कुनैपनि नेताले खण्डन नगरेकोमा आपत्ति समेत जनाए ।

कर्णले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेता भीम रावल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसहित सवै कम्युनिस्ट पार्टीका नेताहरुलाई मेन्सन गर्दै चारवटा प्रश्न गरेका छन्–
१.यो नेपालको आन्तरिक मामलामा हस्तक्षेप हो कि होइन ?
२. यसले कम्युनिष्ट पार्टीहरू चीनबाट सञ्चालित भएको हो कि होइन?
३. यदि यस्तै एजेन्डा लिएर भारत र अमेरिका वा अन्य कुनै देशको नेता वा मन्त्री आयो भने तपाईँहरू सडकमा जुलुस प्रदर्शन र संसदमा उत्पात गर्नु हुन्थ्यौ कि नाई ?
४. यसले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप हो कि होइन ?

श्रेष्ठको प्रश्न : चिनियाँ आउँदा मात्रै हस्तक्षेप हुन्छ ?
तर चीनका लागि नेपालका पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ अमेरिकी र भारतीय नेताहरु लगातार नेपाल आउँदा हस्तक्षेप नठान्नेहरुले चिनियाँ नेता आउँदा हस्तक्षेप ठान्ने गरेको बताउँछन् ।
‘अमेरिकी र भारतीयहरु एकपछि अर्को आउँदा हस्तक्षेप नहुने ? चाइनिज आएपछि मात्रै हस्तक्षेप हुन्छ र ?’, पूर्वराजदूत श्रेष्ठको प्रश्न छ ।

उनले एउटा आएपछि अर्को आउने क्रम भइरहने पनि बताए । ‘एउटा आएपछि अर्को आउँछ, अर्को आएपछि अर्को आउँछ, त्यसैले सबैसँग सम्बन्ध बढाउने तर कसैको पक्षमा नलाग्ने’, श्रेष्ठले रातोपाटीसँग भने, ‘दुई पक्षीय सम्बन्ध विकास गर्ने, बहुपक्षीय गठबन्धनमा नजाने हाम्रो नीति यो हुनुपर्छ ।’

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार