काठमाडौंउपत्यकाका ३ जिल्लामा ट्राफिक प्रहरीले एक वर्षमा ५ लाख ४ हजार सवारी साधनलाई कारवाही गरेको छ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्ममा कारवाहीबापत ३३ करोड १३ लाख राजस्व संकलन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी मीरा चौधरीले सोमबार आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिएकी छिन्।
गत आर्थिक वर्षमा धेरै भाडा लिएको कसुरमा १० हजार २९५ सवारीसाधन कारवाहीमा परेका छन् । उपत्यकाबाट नियन्त्रणमा लिइएका कागजात जरिवाना तिरेर ३० ठाउँबाट लिन सकिनेगरी प्रविधि विस्तार गरिएको छ । गत आर्थिक वर्षमा १० ठाउँमा ‘किअस्क’ मेशिन जडान गरिएको छ ।काठमाडौं उपत्यकामा दैनिक १७ लाख सवारी साधन गुड्छन् । तर, उपत्यकामा जम्मा १६ सय ट्राफिक प्रहरी कार्यरत रहेको डीआईजी चौधरीले बताइन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्,‘१६ सय ट्राफिकले दैनिक १७ लाख सवारी व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।’ट्राफिक व्यवस्थापनका लागी उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका २२ ठाउँमा २४ घण्टा प्रहरी परिचालन गर्न थालेको छ । ३ सय २६ ठाउँमा अस्थायी ड्युटीमा प्रहरी परिचालन गरिएको छ । एकजना ट्राफिक प्रहरीले दैनिक १० घण्टा ड्युटी गर्ने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्राथमिकतामा पार्किङ व्यवस्थापन
केही दिनअघि मात्र उपत्यका ट्राफिक प्रहरीको कमाण्ड समालेकी चौधरीले आफ्नो प्राथमिकता पार्किङ व्यवस्थापन भएको बताइन् । उपत्यकामा भीड हुने ठाउँको भवनको अन्डरग्राउण्डमा पार्किङ पसल, डिस्को र गोदामघरमा परिणत भएको उल्लेख गर्दै उनले भनिन्,‘स्थानिय निकायसँग समन्वय गरेर पार्किङको स्पेश बढाउने योजनामा काम गरिरहेको छु ।’
दरबारमार्ग र जनसेवा जस्ता ठाउँमा पार्किङ स्पेश भएपनि व्यवस्थापन नभएको बताउँदै चौधरीले बाटोमा पार्किङ गर्दा समस्या बढेको उल्लेख गरिन् । उपत्यकामा ट्राफिक प्रहरीले पिक आवरमा ट्राफिक लाइट बन्द गरेर सवारी पास गराउँदै आएको छ । ट्राफिक लाइटको वैज्ञानिक व्यवस्थापन नहुँदा त्यसो गर्नुपरेको चौधरीको भनाइ छ ।
उपत्यकाको जाम नियन्त्रणका लागि कतिपय ठाउँका करिडोर सडक मर्मत गर्नुपर्ने डीआईजी चौधरीले बताइन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी चालकले ठग्ने गरेको गुनासो आएपछि सो ठगी नियन्त्रणका लागि अपरेशन शुरु गरेको पनि जनाएको छ ।