• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

मेटमणिलाई गगनका तीन सुझाव


काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शहरी विकास मन्त्री मेटमणि चौधरीसँग भेट गरेका छन्।मन्त्रालयमा भएको भेटमा थापाले मन्त्री चौधरीलाई तीनवटा सुझाव दिएका छन्। आफूले लामो समय देखि उठाउँदै आएको फुटपात निर्माणदेखि डुबानको दीर्घकालीन समाधानलगायत विषयमा मन्त्रीको ध्यानाकर्षण गराएको थापाले जानकारी

दिएका छन्।थापाले काठमाडौँ उपत्यका भित्रका सडकलाई पैदलयात्री मैत्री बनाउनका लागि फुटपाथ निर्माण, विस्तार, पुनर्स्थापनाका लागि छुट्टै आयोजना संचालन गर्न सुझाव दिएका छन्। काठमाडौँ उपत्यका प्राधिकरणले स्थानीय सरकारसँग सहकार्य गरेर यो आयोजना संचालन गर्नुपर्ने उनको सुझाव छ।त्यसैगरी थापाले काठमाडौं उपत्यका विकास प्राधिकरणको ऐन संशोधन गरेर, यसको संचालक समितिमा काठमाडौं उपत्यकाका सम्पूर्ण महानगर-नगरपालिकाको प्रमुख, प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधि रहने व्यवस्था गर्न सुझाव दिएका छन्। यस्तो प्राधिकरणले काठमाडौं उपत्यकाको यातायात, फोहोर, नदी प्रणाली, खानेपानी, ढलजस्ता पूर्वाधारका विषयमा एकीकृत सोच र कार्यक्रम तय गर्ने उनले विश्वास लिएका छन्।

त्यसैगरी बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १०, ११, १२ र कामपाको वडा नं. ६ र ७ को केही भाग निरन्तर डुबानमा परिरहने समस्याको दीर्घकालीन समाधान खोज्न छुट्टै परियोजना बनाउन पनि थापाले सुझाव दिएका छन्। अहिले गरिरहेका कामहरूलाई पनि सोही दीर्घकालीन योजनासँग जोड्ने र यो वर्ष महत्वपूर्ण काम सक्नुपर्नेमा थापाले जोड दिएका थिए।
मन्त्री चौधरीले यी सुझावलाई सकारात्मक रुपमा लिई कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको थापाले बताए।

प्रकाशित मिति : २०७९ साउन ४ गते बुधवार