• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

प्रधानसेनापति प्रभुराम शर्मा अमेरिकाको इन्डो-प्यासिफिक सम्मेलनमा सहभागी भएको खुलासा


काठमाडौँ प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अमेरिकाको इन्डो-प्यासिफिक कमान्डले आयोजना गरेको वार्षिक सम्मेलन मा सहभागी भएको विषय मा जानकारी गराउन सरकार लाई निर्देशन दिएको छ । समिति को बुधबार बसेको बैठकले अस्ट्रेलियाको सिड्नी मा तीन दिन भएको वार्षिक सम्मेलन मा

प्रधानसेनापति शर्माको सहभागिताबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको हो ।अमेरिकाको इन्डो-प्यासिफक कमाण्ड र अस्ट्रेलियन डिफेन्स फोर्सको सहआयोजनामा २४ औं वार्षिक सम्मेलन आयोजना गरिएको हो । सम्मेलनको शीर्षक ‘२४ औं वार्षिक रक्षाप्रमुखहरुको सम्मेलन’ भन्ने छ । ‘प्रधानसेनापति आइपीएसको सम्मेलनमा सहभागी हुन अस्ट्रेलिया जानुभएको भन्ने छ तर हामीले आधिकारिकरुपमा जानकारी पाएका छैनौं । यस विषयमा जानकारी उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छौं,’ समिति सभापति पवित्रा निरौला खरेलले भनिन् ।सोमबारबाट सुरु भएको तीन दिने वार्षिक सम्मेलनमा नेपालसहित २६ देशका सैनिक अधिकारीहरुको सहभागिता रहेको छ । सम्मेलनमा इन्डो-प्यासिफिक, उत्तर अमेरिका र दक्षिण अमेरिका क्षेत्रका देशका सैनिक अधिकारीहरुलाई आमन्त्रण गरिएको इन्डो-प्यासिफिक कमान्डले जनाएको छ ।

इन्डो प्यासिफिक कमान्ड वेबपेजमा सम्मेलनको सहआयोजना अस्ट्रेलियन डिफेन्स फोर्सका जनरल एगनस जे क्याम्पबेल र अमेरिकी इन्डो-प्यासिफिक कमान्डर एडमिरल जोन सी एक्विलिनोले गरेको उल्लेख छ । यस वर्षको सम्मेलनको नारा ‘रुल्स बेस्ड अर्डर इन द इन्डो-प्यासिफिक’ रहेको छ । सम्मेलनमा जलवायु परिवर्तन र इन्डो प्यासिफिक क्षेत्रमा सुरक्षामा पार्ने प्रभाव, उन्नत प्रविधिहरु र त्यसको सुरक्षा प्रभाव र युक्रेन द्वन्द्वको प्रभावबारे केन्द्रित हुने जनाइएको छ । एडमिरल अक्विलिनोले इन्डो-प्यासिफिक रणनीतिक महत्त्वलाई सम्मेलनले प्रकाश पार्ने बताएका थिए ।

सुरक्षित र समृद्ध क्षेत्र निर्माण गर्न साझा मूल्य, मान्यता र प्रतिबद्धतासहितको यो निरन्तरको संवादका लागि सम्मेनलले सबै एकै ठाउँमा ल्याएर पारस्परिकता र सूचना तथा प्रविधिको आदानप्रदानलाई बढाउन थप बाटो पहिल्याउने छ,’ सम्मेलन उद्घाटनमा अक्विलिनोले भनेका थिए ।अस्ट्रेलियाका डिफेन्स फोर्सका प्रमुख जनरल एगनस क्याम्पबेलले सम्मेलनको सहआयोजना गर्न पाउनु ठूलो अवसर भएको बताएका थिए । ‘समुद्री सुरक्षा, स्वास्थ्य सुरक्षा, मानवीयता सहायकता र प्रकोप सहयोग र सूचना आदानप्रदान साथै खुला, समावेशी तथा गतिशील इन्डो-प्यासिफिक क्षेत्र सिर्जना गर्न थप प्रयत्न हामी गर्न छौं,’ क्याम्पबेलले भनेका थिए ।

प्रधानसेनापति शर्मा अस्ट्रेलिया प्रस्थान गरेपछि जारी गरेको विज्ञप्तिमा एसिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरुको उपस्थित हुने कार्यक्रममा २०५६ सालदेखि नै सहभागी हुँदै आएको जनाएको छ ।’०५६ सालदेखि नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको उक्त कन्फरेन्समा एसिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरुको उपस्थितिमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षहरुलाई समेटी विविध सुरक्षाका विषयहरुमा छलफल हुनुका साथै सहभागी राष्ट्रका सेना प्रमुखहरुबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोचलगायत समसामयिक विषयहरुमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुनेछन्,’ सेनाको विज्ञप्तिमा भनिएको छ ।

यो सम्मेलन यसअघि ‘प्यासिफिक कमान्ड’ले आयोजना गर्नेगर्‍थ्यो । त्यस्तो सम्मेलनमा नेपाली सेना सहभागी हुँदै आएको थियो । सन् २०१८ मा अमेरिकाले प्यासिफिक कमान्डलाई ‘इन्डो प्यासिफिक’ मा परिणत गरेको हो ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार