• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

कस्तरी हेरेको ? माधवले ईश्वरलाई हेरे जसरी ! ( भिडियो सहित )


काठमाडौंराजनीतिको सम्बन्ध जस्तो हुन्छ,ठ्याक्कै त्यस्तै हुन्छ सम्बन्धको राजनीति । नपत्याए प्रचण्ड र बाबुराम भट्टराईलाई हेर्नुहोस्।नत्र केपी ओली र माधव नेपाललाई हेरे पनि हुन्छ ।तर आज मिनी संसदमा अचम्मै भयो । त्यहाँ माधवलाई घुरेर हेर्नेमा ईश्वर पोखरेल थिए । अनि ईश्वरलाई घुरीघुरी हेर्नेमा माधव नेपाल । अरु सांसदहरु ट्वाल्ल परेर उनीहरुको

भावभंगीमा नियाल्न थाले । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठक उनीहरुको आन्तरिक सम्बन्धको इतिहास–वर्तमानकै वरिपरि घुम्यो । तर, यो तिक्त सम्बन्धको राजनीति सुरु हुन्छ, मिठो राजनीतिको सम्बन्धबाट । एकै छिन हामी पाठकलाई चार दशकअघिको समयमा लैजान्छौं, जुन बेला यी दुवैजना नेता कोअर्डिनेसन केन्द्र (कोके) मा सँगै थिए । सँगै बस्थे, सँगै हिँड्थे । लगत्तै नेकपा माले बन्यो । ३० को दशक सुरु हुँदादेखि उनीहरु सँगै रहे अर्को ३० वर्षसम्म ।मदन भण्डारीको निधनसँगै माधव महासचिव भए । राजनीतिक सरसल्लाहसँगै घरायसी योजना पनि उनीहरु एक अर्कालाई सुनाउँथे ।त्यसैले माधव नेपाल र ईश्वर पोखरेलबीच राजनीतिक सम्बन्ध मात्रै छैन, पारिवारिक र आत्मीय सम्बन्ध पनि छ । एमालेमा लामो समय माधव नेपालको टीममा रहेर राजनीति गरेका पोखरेल र प्रदीप नेपाल माधव नेपालको दायाँ र बायाँ हात भनेर चिनिन्थे । दुबै नेताको राजनीतिक क्षेत्र मधेश हो । माधव र ईश्वर दुबै मैथिली र भोजपुरीमा भाषण गर्न सक्छन् ।

त्यसपछि माधवले ईश्वरलाई त्यसरी घुरेर हेरे, जसरी माधवले बोल्दा ईश्वरले हेरेका थिए । अब त्यो कोके कालीन सम्बन्धको न्यानोपन कहाँ ! राजनीतिले जोडेको सम्बन्ध थियो । अब त्यसमा पनि राजनीति घुसिसक्यो ।आत्मीय सम्बन्धमा रहेका यी दुई नेता पार्टीको नवौं महाधिवेशन वरिपरीबाट विस्तारै टाढिन थाले । नवौं महाधिवेशनमै पोखरेल केपी ओली गुटमा लागे । पोखरेलले गुट परिवर्तन गरे पनि माधव नेपालसँगको सम्बन्ध सौहाद्र्ध नै राखेको निकटका नेताहरु बताउँछन् ।तर, अहिले फरक दलकै रुपमा अगाडि बढ्दा भने दुबै नेतालाई एक अर्काको उछितो काढ्नुपर्ने बाध्यता छ । यसको प्रष्ट दृश्य बुधबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा देखा पर्‍यो । पाठकलाई थाहै छ, अहिले माधव नेकपा एमाले विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष छन्, अनि पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष ।

समितिमा माधव नेपाल भन्दा पहिले पुगेका ईश्वर समिति सभापति पवित्रा निरौला खरेलको बायाँ बसे । माधव पुगेपछि पोखरेलले सभापतिको छेवैको सिट छाड्न खोजे । ‘भैगो, यहीँ हुन्छ’ भन्दै पोखरेल बसिरहेको छेवैको कुर्सीमा बसे माधव नेपाल ।समितिमा अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) का सम्बन्धमा छलफल थियो । सरकारले गत असार ६ गते एसपीपी अगाडि नबढाउने निर्णय गरेको थियो । साथै यो निर्णयको जानकारी अमेरिकी सरकारलाई गराउने पनि मन्त्रिपरिषदको निर्णय थियो ।

तर, हालसम्म अमेरिकालाई पत्र नपठाएपछि समितिले चासो देखाएर बैठक राखेको हो । यो विषयमा माधव नेपालको पार्टी र ईश्वर पोखरेलको पार्टीको सार्वजनिक धारणा र बुझाइमा फरकपन छ । कुरो प्रष्टै छ, माधव सत्ता गठबन्धनमा छन् । पोखरेल प्रतिपक्षमा ।त्यसैले पोखरेलको पार्टी वर्तमान सरकारमाथि प्रश्न उठाउन चाहन्छ, विगतमा पनि अहिले सरकारमै रहेका पार्टीका नेताहरुले एसपीपी अगाडि बढाउन भूमिका खेलेको स्थापित गराउन चाहन्छ । माधव नेपालको पार्टी विगतमा एसपीपी एमाले नेतृत्वको सरकारले अगाडि बढाएको र वर्तमान सरकारले रोकेको भनी जस लिन खोज्छ । प्रदेश र संघीय चुनाव पनि आउन लागेका कारण दुबै पार्टी मतदातालाई राष्ट्रियताको मुद्दामा आफू अलिक माथि रहेको देखाउन खोज्छन् ।

समिति सभापति खरेलले बैठक सुरु गरिन् । सांसदहरु एक÷एक गरी बोल्न थाले । ईश्वर पोखरेल सांसदहरुले बोलेका महतवपुर्ण बुँदा टिप्न थाले । माधव नेपाल एकाग्र भएर सुन्न ।
छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु सरकारमा सामेल राजनीतिक दलका सांसदहरुलाई नै जिम्मेवार बनाउने ढंगबाट प्रस्तुत भए । सरकारका प्रतिनिधिहरु सहभागी नभएका कारण यसलाई स्वभाविक नै मानिन्छ ।सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका सांसदहरु पनि एमालेकै माग अनुसार एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई लेखिनुपर्ने बताइरहेका थिए । नेपाली कांग्रेसका सांसदहरु भने सरकारले निर्णय गरिसकेको भनी बचाउ गर्दै थिए ।

त्यही छलफलमा एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रका सांसदहरु एसपीपी कसको पालामा अगाडि बढेको ? जिम्मेवार सबै हुनुपर्छ भनी एक अर्कालाई छेड हानिरहेका थिए ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरु सन् २०१५ मा एसपीपी अगाडि बढेको र त्यसबेला एमाले नेतृत्वको सरकार रहेको भनी एमालेलाई घोचिरहेका थिए, एमालेका सांसदहरु एसपीपी अगाडि बढाउने सन्दर्भमा अमेरिकाबाट पत्र आउँदा नेपालमा कसको सरकार थियो ? कसले स्वीकृत दिएपछि अगाडि बढाउने प्रक्रिया अगाडि बढाएको थियो ? त्यो सरकारमा को को सहभागी थियो ? भनेर प्रश्न गर्दै थिए ।

सांसदहरुबीच घोचपेच चलिरहँदा माधव नेपाल र ईश्वर पोखरेल बेला बेला आपसमा गफिइरहेका थिए । ईश्वर पोखरेलले दुई पटक आफ्नो मोबाइलमा रहेको केही चिज माधव नेपाललाई देखाए । सांसदहरु पार्टीगत रुपमा घोचपेच गरिरहँदा पनि यी दुई नेता आपसमा गफिए, एकले अर्कोलाई मोबाइल देखाए ।सौहार्द्धता प्रकट गरिरहेका, आपसमा आत्मीयता देखाइरहेका यी दुबै नेता जब विषयवस्तुमाथि धारणा राख्न थाल्छन् तब एक अर्कोप्रति आक्रोशपूर्ण भावमा प्रस्तुत हुन्छन् । सांसदहरु जस्तै माधव र ईश्वर घोचपेचमा उत्रिए । अझ सांकेतिक रुपमा दुबै नेताले एक अर्कोलाई आरोप प्रत्यारोप गरे ।

पोखरेल भन्दा पहिले बोलेका माधव नेपालले एसपीपी सम्झौता हुँदा एमाले नेतृत्वको सरकार रहेको स्मरण गरे । ‘पहिले (२०१५ मा) नेपाली सेनाले पत्र पठायो भन्ने कुरा आएको छ । एउटा प्रश्न उठ्छ, अहिले त पाँच दलीय गठबन्धन छ, एक दलीय गठबन्धन भएको बेलामा यो स्टेट प्रोग्राम पार्टनरसिप प्रोग्राम (सम्झौता) को कागज पठाइएको थियो । के भएर हो त्यो थाहा छैन । जे भए पनि त्यो बेठीक भएको छ भन्ने ओपन छ ।’

बरु वर्तमान सरकारले एसपीपीमा संलग्न नहुने भनी निर्णय लिएको भन्दै अध्यक्ष नेपालले सरकारलाई धन्यवाद दिनुपर्ने बताए । अध्यक्ष नेपालले एसपीपी इन्डो प्यासेफिक स्ट्राटेजी (आईपीएस) अन्तर्गत रहेको जान्दाजान्दै तत्कालिन परराष्ट्रमन्त्रीले फोटो खिचेको, नेपाल आईपीएसको सदस्य भयो भनेर डकुमेण्ट लेखेको देखेको भनी पोखरेलप्रति कटाक्ष गरे ।यसैमा उनले थपे, ‘यो स्टेट प्रोग्राम पार्टनरसिपमा पहिले नै आईपीएसका कुराहरु आएका हुन । आईपीएसमा हाम्रो पूर्वपरराष्ट्रमन्त्री पनि गएर फोटो खिचेको, डकुमेण्ट लेखेको, पनि हामीले देखेकै हौं । नेपाल त्यसको सदस्य भयो भनेर लेखेकै छ । त्यो क्लियर हुनुपर्नेमा अझै क्लियर हुन सकेको छैन ।’

माधव नेपालले एमसीसीको प्रसंग पनि जोडे । एमसीसी अगाडि बढाउन एमालेले नै भूमिका खेलेको बताए । विगतमा नेपाल सरकारको तर्फबाट अनुचित शर्तहरु रहेका सम्झौताहरुमा हस्ताक्षर भएको भनी नाम नलिएर पूर्ववर्ती सरकारको आलोचना गरे ।घुमाउरो ढंगले अध्यक्ष नेपालले पोखरेललाई विगतमा कमी कमजोरी भएको स्वीकार गर्न आग्रह नै गरे । ‘देशको हितलाई केन्द्रबिन्दुमा राख्ने सन्दर्भमा कुनै किसिमको कमी कमजोरी भएको छ भने स्वीकार गरौं, सुधार गरौं, देशको रक्षाका निम्ति एकतावद्ध भएर अगाडि बढौं’ अध्यक्ष नेपालले भने ।

माधव नेपालको दायाँ हातका रुपमा चिनिएर राजनीतिमा उदाएका नेता ईश्वर पोखरेललाई उनको भाषा बुझ्न कुनै कठिनाइ भएन । माधव नेपालकै शैलीमा ईश्वरले पनि एक एक गरी जवाफ दिए । पटक–पटक एउटै शब्द प्रयोग गरे, ‘लख काटी काटी छेड हान्न पर्दैन । सिधै निशाना लाए हुन्छ ।’त्यसपछि माधवले ईश्वरलाई त्यसरी घुरेर हेरे, जसरी माधवले बोल्दा ईश्वरले हेरेका थिए । अब त्यो कोके कालीन सम्बन्धको न्यानोपन कहाँ ! राजनीतिले जोडेको सम्बन्ध थियो । अब त्यसमा पनि राजनीति घुसिसक्यो ।

सांसदहरुबीच पछि खासखुस चलिरहेको थियो, कस्तरी हेर्नुभएको थियो एक अर्कालाई । देख्दा पनि डरै लाग्ने किसिमको । ‘कस्तरी हेरेको, माधवले ईश्वरलाई, अनि ईश्वरले माधवलाई हेरेजसरी भन्नुपर्ने खालको,’ सांसदहरुको भाव यस्तै थियो ।एसपीपीको सन्दर्भमा कसको पालामा के भएको हो त्यसबारे खुला छलफल गर्न तयार रहेको माधव नेपाललाई पोखरेलको जवाफ छ । ‘तथ्य भन्दा बलशाली चिज अरु केही हुँदैन । हिजो हामीले जहाँ जहाँ लख काटेर बोलेर क्षेप्यास्त्र हानिरहेका छौं नि ती ती प्रतिनिधि पात्रहरुलाई जरुरत पर्‍यो भने बोलाए हुन्छ । समितिले ठान्दा यस्तो गर्न पनि सकिन्छ’ एसपीपीमा एमालेलाई जोडिएको प्रति पोखरेलको चुनौती छ ।

पोखरेलले त्यसपछि पनि भने, ‘यसकारण राजनीतिमा नक्कली कुरा केही समय चल्ला, सधैं चल्दैन । यो बाहिर एक ढंगले मान्छे उफार्ने व्यापार गर्ने, यता हेर्ने यतै आँखा झिम्क्याउने, उता हेर्ने उतै आँखा झिम्क्याउने ? यो ढंगको राजनीति चल्दैन ।’छलफल त्यसपछि पनि अघि बढ्यो ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार